
अमेरिकाका राष्ट्रपति जो बाइडनले उइगुर मुसलमान अल्पसंख्यकहरूलाई चीनले गरेको भनिएको दमनका विषयमा नरम दृष्टिकोण अपनाएका छन् । प्रत्येक देशमा सांस्कृतिक रूपमा भिन्नाभिन्नै चलन रहेको उनले बताए ।
बाइडनले मंगलवार सीएनएन टाउनहल मीटिङमा यो टिप्पणी गरेका हुन् । उनले चीनका राष्ट्रपति सी चिनफिङसँगको फोन कलको विषयमा एन्डरसन कूपरलाई बताएका थिए ।
कलका क्रममा बाइडनले सिन्ज्याङ प्रान्तमा मानवअधिकार उल्लंघनका विषयमा सीलाई खोर्याएको बताए ।
उइगुरहरूलाई राजनीतिक पुनः शिक्षा दिइएको र सिन्ज्याङ प्रान्त आफैं कठोर निगरानीमा रहेको विभिन्न समाचार आएका छन् ।
तर बाइडनले सी चिनफिङको नियन्त्रणमुखी शासनलाई सही साबित गर्न खोजे ।
‘तपाईंलाई चिनियाँ इतिहासको जानकारी छ भने ऊ घरमा एकताबद्ध नरहँदा बाहिरी विश्वले उसलाई दुःख दिएको छ,’ बाइडनले बताए ।
‘त्यसैले सी चिनफिङको केन्द्रीय सिद्धान्त नै के हो भने एकताबद्ध र कठोर रूपमा नियन्त्रित चीन आवश्यक छ । उनले त्यसैको आधारमा गतिविधिहरू गर्ने गरेका छन् ।’
‘तर कुरा यसभन्दा बढी जटिल छ । म चीन नीतिका विषयमा यहाँ टीभीमा १० मिनेट कुरा गर्न चाहन्नँ ।’
बाइडनको टिप्पणी परराष्ट्रमन्त्री एन्टोनी ब्लिन्केनको भन्दा विपरीत छ । ब्लिन्केनले उइगुरहरूमाथि चीन सरकारले गरेको व्यवहार नरसंहार हो भनी ट्रम्प प्रशासनले गरेको घोषणामा सहमति राख्ने बताएका छन् ।