काठमाडौँ, जेठ ७ - वैशाख १६ गते राति दश बजे संसदमा कोरमको जनाउ घन्टी बज्यो । नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले संविधान संशोधन विधेयक संशोधन दर्ता अनुमोदन प्रस्ताव पारित गर्नुअघि कोरमको प्रश्न उठाए ।

प्रश्न उठेपछि सभामुखले जनाउ घन्टी बजाउन निर्देशन दिइन् । अचम्म त संसद्को कारबाही पारित गराउन महत्वपूर्ण भूमिका खेल्नुपर्ने सरकारका एक विभागीय मन्त्रीमात्र संसद््मा उपस्थित थिए । ४० जनाको हाराहारीमा मन्त्री रहेको मन्त्रिपरिषद्का सदस्यसमेत उपस्थित नहुँदा १४९ सदस्य सत्तारुढ दलले जुटाउन सकेन, सभामुखले मध्यरातमा दोस्रो बैठक बोलाउनुप-यो । हाजिर गरेर घर पुगेका सांसदहरू मध्यरातमा पुनः संसद् फर्कनुप-यो ।
संसद््को बैठकका हाजिर गरेर अनुपस्थित मात्र होइन, बिना सूचना दस बैठकभन्दा बढी अनुपस्थित हुने सांसदको सङ्ख्या पनि लामो पाइएको छ । जेठ ४ गते संसद््को चालु अधिवेशन अन्त्यका क्रममा सभामुख ओनसरी घर्तीले बिना सूचना लगातार दशभन्दा बढी बैठकमा अनुपस्थित हुने सांसदको नाम पढेर सुनाइन् । गयलको नामावलीमा संसदीय गतिविधिमा निष्क्रिय रहेका सांसदमात्र होइन निकै सक्रिय मन्त्री, राजनीतिक दलका शीर्ष नेतासमेत रहेका छन् छ ।
यसरी अनुपस्थित हुनेमा स्वास्थ्यमन्त्री समेत रहेका काँग्रेस सांसद गगन थापा समेत छन् । थापा बिना सूचना दुई चरण गरी ३६ बैठक अनुपस्थित भएका हुन् । सरकारकै अर्का मन्त्री समेत रहेका रमेश लेखक पनि बिना सूचना दश बैठक अनुपस्थित रहेको रेकर्ड सभामुखले सुनाइन् । यस्तै तत्कालीन मन्त्री दीपक बोहोरा २१ बैठक बिना सूचना अनुपस्थित भए ।
मन्त्रीमात्र होइन शीर्ष नेताहरू पनि बिना सूचना अनुपस्थित हुने सूचीमा छन् । काँग्रेस सभापति शेरबहादुर देउवा ११, शेखर कोइराला १३, सशाङ्क कोइराला ३० बैठक अनुपस्थित भएका छन् । सशाङ्क भने केही समय बिरामी समेत द ।
यस्तै बिना सूचना सांसद विश्वेन्द्र पासवान ४८ बैठकसम्म अनुपस्थित भएको रेकर्ड संसद्् सचिवालयको छ । यस्तै, एकनाथ ढकाल २८, उपेन्द्र यादव ४६ बैठकसम्म बिना सूचना अनुपस्थित भए । काँग्रेस सांसद आरजु राणा ३५, डा. रामशरण महत १० र रामचन्द्र पौडेल ११ बैठक बिना सूचना अनुपस्थित भने रेकर्ड सभामुखले सदनको जानकारीका लागि सुनाएकी छन् ।
यस्तै, बिरामी परेर लामो समय संसद््मा अनुपस्थित हुनेमा काँग्रेस सांसद नरहरि आचार्य छन् । आचार्य ८७ बैठक बिना सूचना अनुपस्थित भने । यस्तै एमाले सांसद गौरा प्रसाई पनि अस्वस्थ भएका कारण ५२ बैठक सूचनाबिना अनुस्थित रहे । मेघराज नेपाली निषाध २६ बैठक अनुपस्थित भएको रेकर्ड सचिवालयको छ ।
संसद््को नियमावलीअनुसार बिनासूचना दश बैठकभन्दा बढी अनुपस्थित हुने सांसदको सदस्यता खारेज हुनेसम्मको व्यवस्था छ । तर, उक्त व्यवस्था न त सांसद मान्छन् न त व्यवस्था कार्यान्वयन नै हुन्छ ।