नेकपाको प्रचण्ड-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रधानमन्त्री ओलीलाई नैतिकताका आधारमा तत्काल राजीनामा दिन सुझाएका छन् ।
चितवनमा रहेका अध्यक्षद्वय प्रचण्ड र माधवकुमार नेपालले कार्यकर्ता भेला गर्दै प्रधानमन्त्री ओलीलाई तत्काल कुर्ची छोड्न चेतावनी दिएका हुन् ।
'तपाईंले चालेका गलत कदमका कारणले जनतामा २ महिनासम्म ठूलो पीडा र आवेग उत्पन्न भयो,' प्रचण्डले ओलीतर्फ इंगित गर्दै भने, 'अलिकति पनि नैतिकता र लाज छ भने राजीनामा दिनुस् । होइन भने तपाईंलाई इतिहासको कुडाकर्कटमा मिल्क्याइने छ ।'
उनले चितवनमा बुधवार हुने भनिएको विरोध सभा विजय प्रदर्शनका रूपमा हुने बताए ।
देशभर रहेका आफ्ना नेता तथा कार्यकर्तालाई प्रचण्डले जो जहाँ छ त्यहीं विजय र्याली गर्न अनुरोधसमेत गरे ।
प्रचण्डले सदन विघटन गर्ने कदमलाई अलोकतान्त्रिक र असंवैधानिक भन्ने सबै दल र कार्यकर्तालाई समेत धन्यवाद दिए ।
'अब सहमति गरेर नै अगाडि जानेछौं,' प्रचण्डले भने, 'हामी कुर्चीको निम्ति लडेका होइनौं । संविधानका निम्ति लडेका हौँ ।'
उनले भ्रममा परेर ओलीको साथ दिएका सबै नेता तथा कार्यकर्तालाई भ्रममुक्त हुन आग्रहसमेत गरे ।