
प्रतिनिधि सभाको तेस्रो ठूलो दल जनता समाजवादी पार्टी (जसपा) ले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहसँग नेकपाको आधिकारिक पार्टी कुन भनेर प्रश्न गरेको छ ।
नेकपा पार्टी कार्यालय पेरिसडाँडामा प्रचण्ड–नेपाल समूहले जसपालाई सहकार्य गरेर अगाडि बढ्न प्रस्ताव गरेपछि जसपाले नेकपाको आधिकारिक समूह खोजेको हो ।
‘तपाईंहरूको कुन पार्टी हो ? बडो अलमल पर्यो, पहिला कुन पार्टी आधिकारिक हो टुंगो लगाउनुस् भनेर भन्यौं,’ बैठकपछि जसपा नेता राजेन्द्र महतोले भने, ‘सहकार्यका लागि तपाईंहरूले राखेका कुरा बैठकमा राखौंला ।’
नेपाली कांग्रेससँग सहकार्यको प्रस्ताव राखेको भोलिपल्ट प्रचण्ड–नेपाल समूहले जसपाका नेताहरूसँग छलफल गरेको छ ।
जसपाले विगतमा भएका सम्झौताबाट आफूहरू ठगिएको र जुनसुकै सरकार बने पनि मधेशका मुद्दामा आफूहरूले संघर्ष गरिरहने नेता राजेन्द्र महतोले बताए । ‘हामीले विगतमा पटक–पटक धोका खाएका छौं । जति पनि सम्झौता भएका छन्, कांग्रेस, एमाले, माओवादीले गरेका ती सम्झौताबाट पछि हटेर संविधान बनाइएको थियो । अन्तरिम संविधानबाट पछि हटेर एक खालको प्रतिगमन भएको थियो, संविधानमा रहेका त्रुटिहरू कमीकमजोरी हटाउनको लागि संघर्ष गर्ने हो,’ महतोले भने ।
प्रचण्ड–नेपालसँगको छलफलका लागि जसपा अध्यक्ष महन्थ ठाकुर, नेता महतो र राजेन्द्र श्रेष्ठ नेकपा कार्यालय पुगेका थिए । प्रतिनिधिसभा पुनःस्थापना भएलगत्तै प्रचण्ड–नेपाल समूहले दलहरूसँगको छलफललाई तीब्र बनाएको छ ।