चीनका राष्ट्रपति सी चिनफिङले राजधानी बेइजिङमा बिहीवार ग्रामीण गरीबी निर्मूलको प्रयासमा पूर्ण विजय पाएको घोषणा गरेका छन् । उनले आठ वर्षको शासनकालको महत्त्वपूर्ण पहल गाउँको गरीबी निवारण थियो ।
सीको नेतृत्वमा लगभग १० करोड मानिसलाई गरीबीबाट उद्धार गरिएको छ । उनले यो उपलब्धि डिसेम्बर महिनामा घोषणा गरेका थिए र यसलाई चिनियाँ कम्युनिस्ट पार्टीको शतवार्षिकी समारोहमा जन्मदिनको उपहारका रूपमा चित्रित गरेका थिए ।
एक घन्टा लामो भाषण गर्दै सीले पार्टीको नेतृत्व तथा चीनको राजनीतिक प्रणालीका फाइदाहरू गरीबी निवारणबाट देखिएको बताए ।
‘चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्व र चीनको समाजवादी व्यवस्था जोखिम, चुनौती तथा अप्ठ्याराहरू विरुद्धका आधारभूत प्रत्याभूति हुन्,’ सीले बेइजिङको ग्रेट हल अफ द पिपुलमा बताए । त्यहाँ उनले गरीबी निवारणका लागि लड्ने महत्त्वपूर्ण व्यक्तित्वलाई पुरस्कृत गरे ।
केही विश्वव्यापी नीतिविद्हरू चीनले गरीबको परिभाषा नै कम रकमको राखेको अनि उसका अतिविपन्न क्षेत्रमा निरन्तर लगानी गरेर विकास गरिरहनुपर्ने बताएका छन् ।
चीनले ग्रामीण अतिविपन्न भनी दिनको १ डलर ६९ सेन्ट मात्र कमाउनेलाई परिभाषित गर्ने गरेको छ । विश्व बैंकले चाहिँ दिनको १ डलर ९० सेन्टको सीमा निर्धारण गरेको छ ।
विगत आठ वर्षमा गरीबीविरुद्ध लड्नका लागि १.६ खर्ब युआन लगानी गरिएको सीले बताए ।