
प्रतिनिधि सभा पुन:स्थापना भएपछि सांसद र पिएले ३ महिनाको तलब एकैपटक पाउने भएका छन् । संघीय संसद् सचिवालयले प्रतिनिधि सभाका सदस्य र तिनका पिएलाई पुस, माघ र फागुन महिनाको तलब एकमुष्ट रूपमा पठाउने तयारी गरेको जनाएको छ ।
फागुन २५ गते अगावै तीन महिनाको तलब सांसदको खातामा पठाउने तयारी भइरहेको सचिवालयका प्रमुख लेखा अधिकृत वसन्त सिग्देलले लोकान्तरलाई जानकारी दिए । पुस ५ मा प्रतिनिधि सभा विघटन भएपछि सांसदहरूको तलब भत्ता रोकिएको थियो ।
सरकारी कर्मचारीसरह सांसदहरूको तलब २५ गते बैंक खातामा हाल्ने चलन छ । मंसिर महिनाको पूरै तलब बुझेपनि सांसदहरूले विघटनअघि पुसको ५ दिनको तलब समेत पाएका थिएनन् ।
प्रमुख लेखा नियन्त्रक सिग्देलका अनुसार मंसिर महिनामा प्रतिनिधि सभाका सांसदहरूका लागि १ करोड ९४ लाख २० हजार पठाइएको थियो । २७५ सांसद रहने प्रतिनिधि सभामा हाल २७४ सांसद बहाल छन् । ती मध्ये ४ जना निलम्बनमा छन् । मन्त्री रहेका प्रतिनिधि सभा सदस्यहरूले भने संसदबाट तलब बुझ्दैनन् ।
प्रतिनिधि सभाका सांसदका पिएका लागि मंसिर महिनामा १ करोड ५ लाख ६८ हजार रुपैयाँ भुक्तानी गरिएको थियो ।
सांसदका पिएले अधिकृत स्केलको तलब बुझ्ने गर्छन् । सर्वोच्च अदालतले फागुन ११ गते प्रतिनिधि सभा विघटन असंवैधानिक भनेपछि काम नभएपनि सांसदहरूले पूरै महिनाको तलब पाउने छन् ।
संसद्को माथिल्लो सदन राष्ट्रिय सभाका सदस्यका लागि सचिवालयले प्रत्येक महिना ४८ लाख ८ हजार रुपैयाँ पठाउँदै आएको छ । ५९ सदस्य रहेको राष्ट्रिय सभाका सदस्य रामबहादुर थापा मन्त्री छन् ।
राष्ट्रिय सभाका सांसदका पिएको लागि २८ लाख ४२ हजार प्रति महिना खर्च हुने गरेको छ ।
प्रतिनिधि सभा विघटन भएपनि राष्ट्रिय सभाका सांसद र पिएले भने पुस र माघ महिनाको तलब लिइसकेका छन् ।
वामदेव गौतमको खातामा पुगेन तलब !
राष्ट्रिय सभा सदस्य वामदेव गौतम सांसद बनेको ५ महिनासम्म खातामा पैसा गएको छैन । प्रमुख लेखा नियन्त्रक सिग्देलले गौतमको खातामा पैसा जान नसकेको जानकारी दिए ।
गौतम असोज १ गते राष्ट्रिय सभाको सदस्य मनोनित भएर सोही दिन शपथ लिएका थिए ।
खातासम्बन्धी प्राविधिक कारणले गौतमको खातामा पारिश्रमिकको रकम जान नसकेको सिग्देलले लोकान्तरलाई जानकारी दिए ।
नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधि सभा सदस्य बनेका मोहन पाण्डेको खातामा जम्मा २२ दिनको पारिश्रमिक ४९ हजार २० र भत्ता गरी कुल ५६ हजार ९ सय ८३ मात्र गएको थियो ।
सूर्यबहादुर केसीको निधन पछि मंसिर ८ गते पाण्डे सांसद बनेको १ महिना बित्न नपाउँदै प्रतिनिधि सभा विघटन भएको थियो ।
बैठक भत्ताबाहेक सांसदहरूले प्रतिमहिना ६४ हजार ७० रुपैयाँ पाउने गरेका छन् ।
संसदको बैठक बसेको दिनमा बैठक भत्ता र ट्याक्सी भाडा तथा संसदीय समितिको बैठक बसेको दिनमा भत्ता पाउने व्यवस्था सांसद तथा पदाधिकारीको सेवा सुविधासन्बन्धी ऐनमा गरिएको छ ।
प्रतिनिधि सभा पुन:स्थापना भएपछि संसदीय समितिका सभापति, प्रमुख दलका सचेतकहरूले गाडी र इन्धनको सुविधा पनि पाउने छन् । संसद् अधिवेशनमा आउँदा सांसदहरूले जहाजको टिकटको रकम पनि पाउँछन् ।