
अदालतको अवहेलनासम्बन्धी मुद्दामा लिखित जवाफ पेश गर्न नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' सर्वोच्च अदालत पुगेका छन् ।
अवहेलनासम्बन्धी रिटमा सुनुवाइ गर्दै न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले माघ २१ गते प्रचण्डलाई लिखित जवाफसहित उपस्थित हुन आदेश दिएको थियो ।
'म्याद प्राप्त भएका मितिले बाटोको म्यादबाहेक सात दिनभित्र सबै बेहोरा खुलाई आफैँ लिखित जवाफ पेश गर्नुहोला', आदेशमा भनिएको थियो ।
प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दा विचाराधीन रहेको अवस्थामा दिएको अभिव्यक्तिलाई लिएर अधिवक्ता समीर हायु प्रचण्डविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए ।