
भारतीय आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएर पठाएलगत्तै नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।
आइओसीले आजदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको हो ।
भारतीय निगमले पठाएको नयाँ मूल्यसूचीअनुसार प्रतिलिटर पेट्रोलमा रु ४.२०, डिजेलमा रु ४.०७ रुपैयाँ, मट्टितेलमा रु ४.६५, हवाई इन्धनमा रु ४.०६ तथा ग्यासमा प्रतिसिलिन्डर रु ९१.९६ मूल्य बढेर आएको निगमले जनाएको छ ।
लगत्तै निगमले सोमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर रु २ बढाएको हो ।
जसअनुसार काठमाडौं उपत्यकामा अब एक लिटर पेट्रोल किन्न ११६ रुपैयाँ तथा डिजेल र मट्टितेल किन्न ९९ रुपैयाँ तिर्नुपर्ने भएको छ । यस्तै हवाइ इन्धन आन्तरिकतर्फ ५ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ अमेरिकी डलर २५ प्रतिकिलो लिटरका दरले वृद्धि गरिएको छ ।
यसअघि फेब्रुअरी १६ मा आइओसीबाट प्राप्त मूल्य सूचीअनुसार नेपालमा पेट्रोलको मूल्य प्रतिलिटर रु ११४, डिजेल र मट्टितेलको मूल्य रु ९७ तथा आन्तरिक हवाई इन्धनको मूल्य रु ६७ तथा बाह्य हवाई इन्धनको प्रति किलोलिटर ८६८ अमेरिकी डलर र एलपी ग्यासको मूल्य रु एक हजार ४०० तोकिएको थियो । अब बढेको मूल्य जोडेर मध्यरातिदेखि नयाँ मूल्य कायम भएको छ ।