२१ असार २०८३, आइतबार

'केमेस्ट्री' मिल्ने बादलले पाए विप्लवलाई मूलधारमा ल्याउने जिम्मेवारी

फागुन १८, २०७७
'केमेस्ट्री' मिल्ने बादलले पाए विप्लवलाई मूलधारमा ल्याउने जिम्मेवारी

गृहमन्त्रीसमेत रहेका पूर्वमाओवादी पृष्ठभूमिका रामबहादुर थापा 'बादल'ले आफ्नै पुराना सहकर्मी नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपालाई राजनीतिको मूलधारमा ल्याउने जिम्मेवारी पाएका छन् । पूर्वमाओवादी पृष्ठभूमिका नेतालाई वार्ताको जिम्मा दिएर विप्लवलाई फकाउने रणनीति ओली सरकारले लिएको छ ।

मंगलवार सरकारले 'विप्लव' नेतृत्वको नेकपासँग वार्ताका लागि गृहमन्त्री बादलको नेतृत्वमा वार्ता टोली गठन गरेको हो । प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई वार्ता टोलीका सदस्य छन् ।

२०६९ सालमा तत्कालीन नेकपा माओवादी विभाजन भएर मोहन वैद्यको नेतृत्वमा नयाँ पार्टी गठन हुँदा बादल र विप्लव एक ठाउँमा थिए । ‘बूढा’हरुले क्रान्ति गर्न नसक्ने भन्दै विप्लवले वैद्यलाई छाडेर नयाँ पार्टी गठन गरेका थिए ।

बादल लगायतको टीम भने प्रचण्ड नेतृत्वको माओवादी केन्द्रमा फर्किएको थियो । माओवादी जनयुद्धको समयमा बादल र विप्लवको केमेष्ट्री मिल्ने गरेको पूर्वमाओवादी नेताहरु बताउँछन् ।

गृहमन्त्री थापाले सूत्रहरु मार्फत विप्लव समूहसँग अनौपचारिक कुराकानी गरेका थिए । सूत्रहरुसँगको कुराकानीपछि फागुन ८ गते विप्लव समूहले सरकारसँग वार्ता गर्न तयार रहेको विज्ञप्ति प्रकाशित गरेको थियो ।

सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले मंगलवार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरी सरकारी वार्ता टोलीको घोषणा गरेका हुन् । विप्लव समूहबाट पनि छिट्टै वार्ता टोली गठन हुने र वार्ता प्रक्रिया शुरु हुने उनले विश्वास व्यक्त गरे ।

उता विप्लव समूहले प्रभावशाली नेता एवं प्रवक्ता खडगबहादुर विश्वकर्मा प्रकाण्डको नेतृत्वमा वार्ता टोली गठनको गृहकार्य गरेको छ । ‘दोस्रो वरियताको नेताको संयोजकत्वमा उच्चस्तरीय वार्ता टोली गठनको तयारी भएको छ,’ विप्लव निकट स्रोतले लोकान्तरसँग भन्यो ।

एक दुई दिनमै वार्ता गर्नेगरी विप्लव समूहको वार्ता टोली सार्वजनिक हुने स्रोतको दाबी छ । हिंसात्मक तथा विष्फोटक क्रियाकलापमा संलग्न भएको आरोप लगाउँदै सरकारले विप्लव समूहमाथि २०७५ फागुन २८ गतेदेखि प्रतिबन्ध लगाएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्