
अर्थमन्त्री एवं नेकपा (ओली समूह)का महासचिव विष्णु पौडेलले वर्तमान सरकारले बाँकी २ वर्षको कार्यकाल पनि पूरा गर्ने दाबी गरेका छन् ।
बिहीवार बुटवलमा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै महासचिव पौडेलले ओली सरकारलाई हटाउन खोज्ने सबै शक्तिहरू पराजित हुने दाबी गरे ।
‘प्रचण्ड–नेपालले अँध्यारो कोठामा बसेर कांग्रेस र जनता समाजवादी पार्टीलाई प्रधानमन्त्रीको अफर गर्दैछन्, त्यो सम्भव छैन । नेकपाका अधिकांश सांसद पार्टी विभाजनको पक्षमा छैनन् । नेकपामा सरकारलाई गिराएर अन्य पार्टीको मतियार बन्न नेकपाका सांसद लाग्छन् जस्तो मलाई लाग्दैन । कम्युनिस्टइतरको सरकार बनाउन साथ देलान् जस्तो लाग्दैन ।’
पौडेलले थपे, ‘जनताले केपी ओली नेतृत्वको पार्टीलाई नै नेकपाको बागडोर सम्हाल्न दिनेछन् । राजनीतिक दलकै अन्तिम अधिकार जनता हुन् ।’
महासचिव पौडेलले माधवकुमार नेपाल कम्युनिष्ट आन्दोलनलाई बिसर्जन गराउने दिशामा अगाडि बढेको आरोप लगाए ।
‘तत्कालीन एमाले नेता मदन भण्डारीको मृत्युपछि माधव नेपालले देशको शक्तिशाली पार्टी एमालेको नेतृत्व गरे पनि पार्टीलाई तेस्रो बनाए । तेस्रो शक्तिमा खुम्चिएको एमालेलाई ओलीले पहिलो शक्ति बनाएको नेपाललाई पचेन, त्यही भएर उहाँ प्रचण्डभन्दा पनि हिम्मतिलो देखिएर नेकपालाई चौथो/पाँचौं पार्टी बनाई कम्युनिस्ट आन्दोलन सिध्याउने बाटोमा लाग्नुभएको छ,’ महासचिव पौडेलले भने ।
माधव नेपालको ध्यान हारेकाले नै देशको नेतृत्व गरोस् भन्ने रहेको पौडेलले बताए ।
‘माधव कमरेडको ध्यान चुनाव हारेका नेताहरूले देशको नेतृत्व गरून् भन्नेमा छ, जुन मान्यता लोकतन्त्रसँग मेल खाँदैन,’ उनले भने ।
नेता पौडेलले ओली नेतृत्वको पार्टी नै नेकपाको आधिकारिक पार्टी हुने पनि बताए ।