२० असार २०८३, शनिबार
खाशोग्जी हत्या

मोहम्मद बिन सलमानलाई खुला छुट, मानवअधिकारमा साँच्चिकै प्रतिबद्ध बाइडन प्रशासन ?

फागुन २०, २०७७
मोहम्मद बिन सलमानलाई खुला छुट, मानवअधिकारमा साँच्चिकै प्रतिबद्ध बाइडन प्रशासन ?

साउदी अरबका युवराज मोहम्म्द बिन सलमानले वाशिङटन पोस्टका लेखक जमाल खाशोग्जीलाई हत्या गर्ने आदेश आफैंले दिएका थिए भनी आम मानिसले पहिल्यै थाहा पाइसकेको कुरालाई हालै प्रकाशित अमेरिकी सरकारको प्रतिवेदनले पुष्टि गरेको छ । 

सरकारले प्रतिवेदन सार्वजनिक गरे पनि राष्ट्रपति जो बाइडनले युवराजलाई भर्त्सना गरेनन् । दुई देशबीचको सम्बन्ध नबिग्रोस् भनी उनले यसो गरेका हुन् । साउदी अरब अमेरिकाका लागि महत्त्वपूर्ण भएकाले उसलाई टाढा पार्न बाइडनले नचाहेका हुन् । 

सन् २०१८ मा खाशोग्जीको हत्यासँग जोडिएका १७ व्यक्तिहरूमाथि अमेरिकाले सम्पत्ति रोक्का तथा यात्रा प्रतिबन्ध लगायतका प्रतिषेध लगाएको थियो । 

त्यही मापदण्ड बिन सलमानमाथि पनि लगाउने अपेक्षा मानिसहरूले गरेका थिए । तर अमेरिकाले मानवअधिकारका विषयमा लिएको अडान राजनीतिक स्वार्थमा सीमित छ भन्ने स्पष्ट सन्देश बाइडनले दिन खोजेका छन् । 

गैरकानूनी हत्याका विषयमा संयुक्त राष्ट्रसंघकी विशेष प्रतिवेदक एग्निस कालामार्डले खाशोग्जीको हत्याका विषयमा अनुसन्धानको नेतृत्व गरेकी थिइन् । मोहम्मद बिन सलमानलाई जवाफदेही नबनाउने अमेरिकी निर्णयलाई उनले भर्त्सना गरिन् । 

सोमवार जेनेभामा सञ्चारकर्मीहरूसँग कुराकानी गर्ने क्रममा उनले बताइन्, ‘मेरो दृष्टिकोणमा यो खतरनाक कुरा हो । कसैले अपराध गरेको भनी स्वीकार गर्ने तर अपराधको दण्ड नदिने काम गरेर अमेरिकाले खतरनाक खेल खेलेको छ ।’
 

खाशोग्जीलाई टर्कीको इस्नाबुलमा रहेको दूतावासमा अपहरण गरी घाँटी थिचेर हत्या गरिएको थियो अनि शरीर टुक्राटुक्रा पारेर फालिएको थियो । 

प्रतिवेदनमा उल्लेख गरिएअनुसार, मोहम्मद बिन सलमानले अमेरिकामा बस्ने पत्रकारलाई विदेशी मुलुकमा अपहरण गर्ने अनि हत्या गर्ने व्यवस्था मिलाएका थिए । शुरूमा त साउदी अरबले यसो भएको भन्ने नै अस्वीकार गरेको थियो तर पछि रियादको एक अदालतले यस घटनामा संलग्न आठजनालाई कारावास सजाय दियो । सजायमा पाउनेमा मोहम्मद बिन सलमान हुने कुरै भएन । 

मोहम्मद बिन सलमानको घमण्ड यसबाट स्पष्ट हुन्छ अनि बाइडनले उनलाई कारवाही नगरेको देख्दा उनले पछिपछि गएर के गर्ने हुन् भन्ने अनुमान मात्र गर्न सकिन्छ । 

त्यसो त बिन सलमानको इतिहास नै आपराधिक छ । 

उनले सन् २०१७ मा लेबननका प्रधानमन्त्रीलाई अपहरण गर्न लगाएका थिए र त्यसै वर्ष कतारविरुद्ध क्षेत्रीय नाकाबन्दी लगाएका थिए । यमनमा साउदीले गरेको बमवर्षाको योजना पनि उनैले बनाएको बताइन्छ । यमनमा अहिले संसारकै सबभन्दा भयावह मानवीय विपतको स्थिति छ । उनले अमेजनका मालिक तथा वाशिङटन पोस्टको स्वामित्व भएका जेफ बेजोसलाई फोन ह्याक गरेर तर्साउन खोजेको खबर पनि आएको थियो । 

बाइडनका पूर्ववर्ती राष्ट्रपति डोनल्ड ट्रम्पले साउदी राजपरिवारसँग निकट सम्बन्ध राखेको भनी आलोचना गर्ने गरिन्थ्यो । ट्रम्पले पहिलो विदेश भ्रमण नै साउदी अरबबाट गरेका थिए । सन् २०१७ को रियाद सम्मेलनमा भाग लिन जाँदा उनले इतिहासकै सबभन्दा ठूलो हतियार सम्झौतामा हस्ताक्षर गरेका थिए । ट्यांक, कम्ब्याट शिप, क्षेप्यास्त्र प्रतिरोधी प्रणाली, राडार, सञ्चार तथा साइबरसुरक्षा प्रविधिको बिक्रीमा ३५० अर्ब डलर बराबरको सम्झौता उनले गरेका थिए । 

पश्चिम एसियामा इरानबाट जोखिम बढिरहेकोमा साउदी अरबलाई हतियार बेचेर सन्तुलन ल्याउने अवसर यस सम्झौताले दिएको ट्रम्पको सोच थियो । यो रणनीतिक सम्बन्ध सुमधुर रहिरहोस् भनी ट्रम्पले अन्य कुराका अलावा मोहम्मद बिन सलमानलाई खाशोग्जीको हत्यामा नमुछ्न प्रयास गरेका थिए ।

उता बाइडनले निर्वाचन अभियानका क्रममा स्पष्ट बताएका थिए, ‘हामी उनीहरूलाई थप हतियार बेच्ने छैनौं र उनीहरूलाई मूल्य चुकाउन लगाउनेछौं अनि एक्ल्याउनेछौं भनी म स्पष्ट पार्न चाहन्छु ।’

पदभार ग्रहण गरेपछि बाइडनले साउदी अरबलाई यमनमाथि बमवर्षा गरेकोमा अर्बौं डलर पर्ने हतियार पठाउनमा प्रतिबन्ध लगाएका छन् र खाशोग्जीको हत्याका लागि जिम्मेवार थप साउदीहरूलाई दण्डित गरिरहेका छन् । 

बाइडनले आफूलाई ट्रम्पभन्दा फरक बनाउने बारम्बार भन्ने गरेका छन् । मोहम्मद बिन सलमानलाई त्यत्तिकै जान दिनु भनेको त ट्रम्प जस्तै हुनु हो ।

बिन सलमानले साउदी अरबलाई इरानविरुद्ध अमेरिकाको मजबूत साझेदार बनाएको, इजरायललाई अप्रत्यक्ष रूपमा समर्थन गरेको, अमेरिकाको मूल्यवान व्यापारिक साझेदार बनाएको अनि अन्तर्राष्ट्रिय तेल बजारमा महाशक्ति बनाएकोले गर्दा अमेरिकाबाट दण्ड नपाएका हुन् । 

यसलाई दृष्टिगत गर्दै साउदी अधिकारीहरूले आफूहरू माथि परेको अनि अमेरिका र साउदीबीचको सम्बन्धमा खलल परेमा वाशिङटनबाहेक अन्यसँग सम्बन्ध विस्तार गर्न पनि सक्ने संकेत दिइरहेका छन् । 

तर वास्तविकता के हो भने वाशिङटनले रियादलाई समर्थन गर्ने गरेकाले मोहम्मद बिन सलमान र साउदी अरबले जे मन लाग्यो त्यही गर्न पाइरहेका हुन् । साउदीको मुद्रा अमेरिकी डलरसँग पेग गरिएको छ, उसले अमेरिकामा बनेको सैन्य उपकरण प्राथमिकताका साथ उपयोग गरिरहेको छ, उसका धेरै अधिकारीहरूले अमेरिकामा तालिम पाएका छन् र उसका व्यापारिक सम्भ्रान्तहरू अमेरिकामा तालिम तथा शिक्षाप्राप्त छन् । 

अमेरिकाले स्वीकृति दिएका मुलुकलाई कूटनीतिक समर्थन गर्ने, अमेरिकी सैन्य अड्डा राख्ने, अर्बौं डलर बराबरको अमेरिकी हतियार किन्ने र अमेरिकी कम्पनीलाई आफ्नो बजारमा पहुँच दिने गरेकाले साउदी अरबको मानवअधिकार उल्लंघनलाई अमेरिकाले बेवास्ता गरिरहनेछ । केको साउदी अरबलाई एक्ल्याउनु नि ?
 

आरटीमा प्रकाशित ब्राडली ब्लान्केनशिपको विश्लेषणलाई लोकान्तरका लागि विन्देश दहालले अनुवाद गरेका हुन् । 

salt training

कमेन्ट गर्नुहोस्