
मेलम्ची खानेपानी विकास समितिले सुरुङ परीक्षणका क्रममा वाग्मती नदीमा पानीको सतह घटबढ हुनसक्ने जनाउँदै सजग रहन स्थानीयलाई अपिल गरेको छ ।
फागुन १० गतेदेखि सुरुङ परीक्षणका लागि पानी पठाइएकोमा छिट्टै सुन्दरीजल आइपुग्ने र पानीको केही परिमाण सिधैं वाग्मतीमा जाने समितिले जनाएको छ ।
पानीको परिमाण एकै पटक बढ्न सक्ने भएकाले सजग रहन भनिएको समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए ।
उनले भने, ‘१–२ दिनभित्रै सुन्दरीजलसम्म पानी आइपुग्ने भएकाले सजग रहन सुन्दरीजलदेखि बल्खुसम्म नै माइकिङ हुनेछ ।’
झण्डै २ दशक पहिले निर्माण शुरू भएको आयोजनाका मुख्य पूर्वाधारका रूपमा रहेको सुरुङको निर्माण गत वर्ष सकिएको थियो । निर्माण सकिएसँगै समितिले गत वर्ष असारमा सुरुङ परीक्षण गरेको थियो । सो परीक्षणका क्रममा ढोका खुल्दा दुर्घटना भएको थियो ।
मानवीय क्षतिसमेत भएको दुर्घटनापछि समितिले त्यहाँ रहेको त्रुटि सच्याएर पुनः परीक्षण गरेको हो । परीक्षण सकिएर सुरुङमा ठूला समस्या नभएको पाइएमा आगामी महिनाभित्रै काठमाडौं उपत्यकाको पानी वितरण गर्ने प्रणालीमा पानी पठाइने छ ।
राष्ट्रिय गौरवको सो आयोजना लामो प्रतिक्षापछि सम्पन्न भएकाले पनि यसले उपत्यकावासीमा आशा जगाएको छ । पानी नियमित वितरण शुरू भएपछि उपत्यकाको खानेपानीको समस्या समाधान हुने विश्वास गरिएको छ ।
सुरुङ, हेडवर्क र दुई पानी प्रशोधन केन्द्र निर्माण आयोजनाले गरेको हो । पानी वितरणका लागि आवश्यक संरचनाको निर्माण आयोजना कार्यन्वयन निर्देशनालयले गरेको छ भने वितरणको काम काठमाडौं उपत्यका खानेपानी लिमिटेडले गर्नेछ ।