
रूपन्देहीको बुद्ध मावली देवदहमा लुम्बिनी बौद्ध विश्वविद्यालय डीन कार्यालय सञ्चालनमा आएको छ ।
नयाँ शैक्षिक सत्रदेखि तीन वटा विषयमा कक्षा सञ्चालन गर्ने योजनासहित डीन कार्यालय खोलिएको हो ।
सरकारले विश्वविद्यालयका लागि देवदहमा करिव ९० बिगाहा जमिन उपलब्ध गराउने निर्णय गरेको छ ।
सोही जग्गामा पूर्वाधार निर्माणको काम समेत थालनी प्रक्रियामा पुगेको छ ।
शुक्रवार स्कुल अफ डेभलपमेन्ट स्टडिज एण्ड एप्लाइड साइन्सको डीन कार्यालय देवदहमा खुलेको हो ।
देवदहमा विश्वविद्यालयले नयाँ पूर्वाधार निर्माण गर्ने योजना बनाएको छ । अर्थमन्त्री विष्णु पौडेलले शुक्रवार विहान एक कार्यक्रमका बीच डीन कार्यालयको उद्घाटन र नयाँ पूर्वाधार निर्माण स्थलको अवलोकन गरेका छन् ।
सो अवसरमा बोल्दै पौडेलले बौद्ध विश्वविद्यालयलाई विश्वस्तरमा चिनिने बनाउनुपर्ने बताए । ‘बौद्ध क्षेत्र, शिक्षामा अनुसन्धानसहित बहुविषयमा यसलाई विश्वस्तरमा चिनिने विश्वविद्यालय बनाउनुपर्छ, उनले भने । विश्वविद्यालको विकासका लागि सरकारले लगानी गर्ने उनले विश्वास दिलाए ।
देवदहमा करिव सय बिगाहा जमिन प्राप्तिले समग्र क्षेत्रको विकासमा उचाई पुगेको पौडेलको भनाइ छ ।
विश्वविद्यालयको पूर्वाधार र सडक पूर्वाधार एकैसाथ निर्माण गर्दै यसलाई पर्यटकीय क्षेत्रकै रुपमा विकास गर्नुपर्ने आवश्यकता रहेको पौडेलले बताए । देवदहको विकासका लागि सरकारका सकारात्मक रहेको भन्दै आवश्यक योजना बनाएर ल्याउन समेत उनले आग्रह गरे ।
सो अवसरमा बोल्दै प्रतिनिधिसभाका सांसद छबिलाल विश्वकर्माले निकै मेहनतले देवदहमा विश्वविद्यालयले जग्गा प्राप्ती गरेको भन्दै अव यसको पूर्वाधार विकासमा प्राथमिकता दिनुपर्ने बताए ।
विश्वविद्यालयले चालु शैक्षिक सत्रबाट देवदहमा तीन वटा विषयको पठनपाठन गरेको उपकुलपति डा. हृदयरत्न बज्राचार्यले जानकारी दिए ।
एग्रो फोरेष्ट्र, इन्भाइरन्मेन्ट र डेभलपमेन्ट स्टडिजका स्नातकोत्तर कक्षा देवदहमा शुरु भएका हुन् ।
बुटवल र लुम्बिनीमा पठनपाठन गराइरहेको विश्वविद्यालयले बुटवलमा पनि डीन कार्यालय खोल्ने निर्णय गरेको छ ।