
नेपाल कम्युनिस्ट पार्टी (विप्लव) समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवले आफ्ना सहयात्रीहरूसँग छिट्टै खुला आकाशमा भेट हुने भन्दै खुशी व्यक्त गरेका छन् ।
सरकार र विप्लव समूहबीच भएको ३ बुँदे सहमतिमा हस्ताक्षर गर्न राष्ट्रिय सभागृहमा शुक्रवार आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै विप्लवले छिट्टै मुक्त आकाशमा मिलन हुने विश्वास व्यक्त गरे ।
'अहिले पनि हाम्रा डेढ सयभन्दा बढी कमरेडहरू जेलमा हुनुहुन्छ । छुट्दै पनि हुनुहुन्छ । कमरेड कञ्चन छुटेर संयोगले यहाँ आउनुभएको छ । म उहाँलाई स्वागत पनि गर्न चाहन्छु,' विप्लवले भने, 'हाम्रा साथीहरू छुट्नुहुनेछ, अनि हामी मुक्त आकाशमा मिलन हुनेछौं । यसबाट सरकार र नेपाल कम्युनिस्ट पार्टी हामी दुवैले जिम्मेवारी पूरा गरेको महशुस भएको छ ।'
करीब ३ वर्षको भूमिगत राजनीतिपछि विप्लव शुक्रवारबाट शान्तिपूर्ण राजनीतिमा फर्किएका हुन् ।
समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सम्बोधन गर्नेछन् ।