
मेलम्ची खानेपानी आयोजनाले राजधानीमा पानी वितरणसँगै ‘फायर हाइड्रेन्ट’ सञ्चालनमा ल्याउने तयारी गरेको छ ।
दमकलले पानी भर्न मिल्ने गरी प्रविधि जडान गरिनुलाई फायर हाइड्रेन्ट भनिन्छ । यो आधुनिक प्रविधिमा आधारित हुनेछ
राजधानीमा बढ्दै गएको आगलागीको जोखिमलाई दृष्टिगत गर्दै मेलम्ची खानेपानी आयोजनाले चक्रपथभित्र ३५० स्थानमा ‘फायर हाइड्रेन्ट’ को स्थापना गर्न लागेको हो ।
मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयका निर्देशक कमल श्रेष्ठले घना बस्ती र आवादीका कारण दिनका दिन आगलागीको जोखिम बढ्दै गएको राजधानीमा मेलम्चीको पानी वितरणसँगै आगलागी नियन्त्रण, दैवीप्रकोप तथा विपत् व्यवस्थापनका लागि सहज र उपयोगी हुने ‘फायर हाइड्रेन्ट’ सञ्चालनमा ल्याइने जानकारी दिए ।
मेलम्चीको पानी वितरणका लागि पाइप जडान भइसकेका क्षेत्रहरूमा अहिलेसम्म २३० वटा ‘फायर हाइड्रेन्ट’ जडान भइसकेका छन् । आयोजनाका अनुसार थप माग र आवश्यकताका आधारमा अरू करिब दुई दर्जन ठाउँमा ‘फायर हाइड्रेन्ट’ जडान गरिने निर्देशक श्रेष्ठले जानकारी दिए । उनका अनुसार, ‘फायर हाइड्रेन्ट’ चौबिसै घण्टा सञ्चालनमा आउने छन् । मेलम्ची खानेपानी आयोजनाले ‘फायर हाइड्रेन्ट’ सञ्चालनका लागि कार्यविधिसमेत निर्माण गरिरहेको छ ।
राजधानीमा बढ्दै गएको आगलागीको जोखिमलाई विचार गर्दै पानी वितरण सञ्जालको निर्माणसँगै ‘फायर हाइड्रेन्ट’ स्थापनाको कार्यलाई अगाडि बढाएको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ । सहरी क्षेत्रमा आगलागीको जोखिम नियन्त्रण तथा व्यवस्थापनका लागि ‘फायर हाइड्रेन्ट’ प्रविधि अन्तर्राष्ट्रिय रूपमा नै प्रभावकारी मानिन्छ ।
निर्देशक श्रेष्ठका अनुसार दमकलले पानी भर्न मिल्ने गरी आधुनिक प्रविधिमा आधारित ‘फायर हाइड्रेन्ट’ राख्ने कार्यलाई अगाडि बढाएको जानकारी दिएका छन् । यसको प्रयोग अरू काम र प्रयोजनका लागि नभई मात्र आगलागी नियन्त्रण, दैवीप्रकोप तथा विपत् व्यवस्थापनका लागि हुने उनले स्पष्ट पारे ।
उपत्यकाको चक्रपथभित्र मात्र विभिन्न ३५० वटा संवेदनशील ठाउँमा ‘फायर हाइड्रेन्ट’ स्थापना गरिने आयोजनाले जनाएको छ । गृह मन्त्रालयको अनुमति तथा सम्बन्धित स्थानीय तहको समन्वयमा ‘फायर हाइड्रेन्ट’ स्थापना कार्य भइरहेको उनले बताए । मेलम्चीको पाइपलाइन जडान हुने ठाउँको प्रत्येक पाँच/पाँच सय मिटरको दूरीमा ‘फायर हाइड्रेन्ट’ राख्ने लक्ष्य रहेको आयोजनाले जनाएको छ ।
अहिले आयोजनाले राजधानीको चक्रपथभित्र पानी वितरणको सञ्जाल निर्माण गर्दै गरेको ठाउँमा मात्र ‘फायर हाइड्रेन्ट’ को स्थापना गर्न लागिएको बताउँदै उनले राजधानीको अन्य ठाउँमा पानी वितरणको सञ्जाल विस्तारसँगै ‘फायर हाइड्रेन्ट’ को स्थापना गर्दै जाने जानकारी दिए । ‘फायर हाइड्रेन्ट’ को स्थापनासँगै राजधानीको आगलागी नियन्त्रण तथा विपत् व्यवस्थापन कार्यमा मद्दत पुग्ने विश्वास गरिएको उनले बताए । गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले खबर लेखेका छन् ।