
जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको विधानको मस्यौदामाथि छलफल गर्न आज बिहीवार शीर्ष नेताहरूको बैठक बस्दैछ ।
जसपा सांसद उमाशंकर अरगरियाका अनुसार संसदीय दलको विधान तथा समसामयिक विषयवस्तुमा छलफल गर्न जसपा शीर्ष नेताहरूको बैठक ११ बजेदेखि पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्दैछ ।
बैठकमा जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्षद्वय महन्थ ठाकुर, उपेन्द्र यादव, वरिष्ठ नेताहरू अशोक राई र राजेन्द्र महतो सहभागी हुनेछन् ।
कुन दलसँग सत्ता सहकार्य गर्ने भन्ने विषयमा जसपाका नेताहरू विभाजित छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारसँग सहकार्य गर्न नसकिने भनेर उपेन्द्र यादवले बताएका छन् भने मुद्दा सम्बोधन गर्ने जोसुकैसँग पनि सहकार्य गर्न सकिने राजेन्द्र महतोले बताउँदै आएका छन् ।