
उपप्रधानमन्त्री ईश्वर पोखरेलले विद्यमान राजनीतिक अवस्थाको अन्त्य र संसद्मा देखिएका बेथितिको एकमात्र विकल्प निर्वाचन नै भएको बताएका छन् ।
उनले भने, ‘निर्वाचनका लागि तयार हुन म आममतदाता समक्ष आग्रह गर्दछु ।’
प्रेस सेन्टर पर्साद्वारा बिहीवार वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा उनले प्रतिनिधि सभामा दलहरूबीच समन्वय भई प्रक्रिया सामान्य ढंगले अगाडि नबढे ताजा जनादेशमै जानुपर्ने बताए ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) नेता पोखरेलले सर्वोच्च अदालतको फैसलाबाट उत्पन्न भएको वर्तमान राजनीतिक अवस्थाको सामना गर्दै एमाले र माओवादी केन्द्रका जिल्लादेखि केन्द्रसम्ममा नयाँ ढंगले पुनःएकता हुने धारणा व्यक्त गरे ।
उनले दलको नामबारे अदालतले दिएको फैसलाले दुवै पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थामा पुर्याए पनि दुवै पार्टीबीचको एकता र दुवै पार्टीका नेता कार्यकर्तालाई सम्मानजनक ढंगले व्यवस्थापन गर्ने सोचका साथ नेकपा एमाले अगाडि बढेको जानकारी दिए ।
उनले बारा र पर्सामा सडक निर्माण तथा पूर्वाधार विकासका काममा देखिएको बेथितिको चाँडै अन्त्य हुने प्रतिबद्धता व्यक्त गरे ।
उनले ठेक्का सरकार गर्ने र लामो समयसम्म काम नगरी सर्वसाधारणलाई दुःख दिने प्रवृत्तिको अन्त्यका लागि प्रधानमन्त्री ओलीसँग भेटेर आग्रह गर्ने जानकारी दिए ।