०१ साउन २०८३, शुक्रबार

नेपालमा मिर्गौलासम्बन्धी विशेषज्ञ सेवा छिट्टै शुरू हुन्छ– प्रधानमन्त्री ओली

फागुन २७, २०७७
नेपालमा मिर्गौलासम्बन्धी विशेषज्ञ सेवा छिट्टै शुरू हुन्छ– प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा मिर्गौलासम्बन्धी विशेषज्ञ सेवा छिट्टै प्रारम्भ हुने बताएका छन् । 

विश्व मिर्गौला दिवसका अवसरमा राजधानीमा बिहीवार बिहान आयोजित चेतनामूलक प्रभातफेरी कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले छिट्टै त्यस्तो केन्द्र स्थापना गर्न मिर्गौलाविद् एवं चिकित्साशास्त्र अध्ययन संस्थानकी डिन प्राध्यापक डा. दिव्या सिंह शाहसहितका विज्ञहरू क्रियाशील रहेको जानकारी समेत दिए । 

‘मिर्गौलालाई रोगहरूबाट कसरी बचाउन सकिन्छ र रोग लागि हालेमा प्रत्यारोपणसहितको सम्पूर्ण उपचार सेवा स्वदेशमै कसरी उपलब्ध गराउने समेत गरी मुख्य दुई कुरामा ध्यान केन्द्रित गर्नुपर्छ,’ दुईपटक मिर्गौला प्रत्यारोपण गराइसकेका प्रधानमन्त्री ओलीको भनाइ थियो ।

‘मिर्गौला रोगको साथमा स्वस्थ्य जीवन’को नारासहित आज नेपालसहित विश्वभर मिर्गौला दिवस मनाइँदैछ । ‘हाम्रो खानपिन वा हाम्रो दैनिकमा मिर्गौलालाई असर पार्न खानपिन वा व्यवहार के हो ? र त्यसबाट कसरी जोगिने जस्ता कुराहरूलाई ध्यान दिन जरुरी छ’, प्रधानमन्त्रीको भनाइ थियो ।  

उपचार, प्राथमिक परीक्षण, प्रयोगशाला र विशेषज्ञ चिकित्सकका लागि धेरै टाढा जान नपरोस् भन्ने हाम्रो कुरा हो ।  यो रोग जसलाई पनि हुन सक्ने भएकोले सबै जना सजग हुनुपर्ने समेत प्रधानमन्त्रीले बताए ।

पहिलोपटक मिर्गौला प्रत्यारोपण गर्दा स्वदेशमा त्यससम्बन्धी विशेषज्ञ सेवा नभएका कारण आफू विदेश जानुपरेको कुरालाई पनि प्रधानमन्त्रीले स्मरण गराए ।

‘केही मानिसहरूले मलाई ‘बाहिर गएर उपचार गरायो’ भने, तर म रहरले वा बाहिर पैसा बुझाउनका लागि गएको थिइनँ, यहाँ सुविधा नहुँदा गएको थिएँ’, ओलीले भने ।

मिर्गौला रोग जस्तो जटिलताबाट बच्न स्वस्थ्य जीवनयापनका लागि आग्रह गर्दै प्रधानमन्त्रीले यसबारेका  प्रचारलाई अझ थप व्यापक बनाउनुपर्नेमा पनि जोड दिए ।

प्रधानमन्त्री ओली सम्बोधनपश्चातको प्रभातफेरीमा पनि सहभागी भएका थिए ।
 

salt training

कमेन्ट गर्नुहोस्