शेयर बजारका बादशाह वारेन बफे संसारका सर्वाधिक धनी व्यक्तिमध्ये एक हुन् । उनको नाम १०० अर्ब डलर सम्पत्ति भएका धनाढ्यको सूचीमा चढेको छ ।
बुधवार बफेको सम्पत्तिमा १.९ अर्ब डलर थपियो । बर्कशायर क्लास ए शेयर कीर्तिमान उचाइमा पुगेकाले उनलाई फाइदा भएको हो ।
ब्लूमबर्ग बिलेनियर इन्डेक्सका अनुसार, ९० वर्ष भएका बफेको सम्पत्ति बुधवार १००.४ अर्ब डलर पुगेको हो ।
संसारका सर्वाधिक धनाढ्यको सूचीमा उनी छैटौं स्थानमा छन् । अहिले सबभन्दा धनी जेफ बेजोस छन् । त्यसपछि इलोन मस्क, बिल गेट्स, बर्नार्ड अर्नोल्ट र मार्क जकरबर्ग छन् ।
बफे बर्कशायर ह्याथवेका अध्यक्ष हुन् । यस कम्पनीमा उनको सबभन्दा धेरै हिस्सेदारी छ । कम्पनीको शेयर यस वर्ष १५ प्रतिशत बढेको छ । उनले कम्पनीको शेयरको बाईब्याकमा ठूलो अमाउन्ट खर्च खर्च गरेकाले पनि भाउ बढेको हो ।
बफेले सन् २००६ देखि अहिलेसम्म ३७ अबए डलरभन्दा बढी बर्कशायर स्टक दान दिइसकेका छन् । उनले आफ्नो सम्पत्ति दान नगरेको भए अहिले १९२ अर्ब डलरको मालिक हुने थिए ।
परोपकारलाई प्रोत्साहन गर्ने अभियान गिभिङ प्लेजका उनी सहसंस्थापक पनि हुन् ।