![प्रधानमन्त्रीका लागि एमालेबाट थप २ नाम प्रस्ताव आएको छ – वर्षमान पुन [अन्तर्वार्ता]](https://lktcdn2.prixacdn.net/media/Barshaman_Pun_Ananta_op411h56p5.png)
पछिल्लो समय आफू अनुकूल सत्ता समीकरण बनाउन दलहरू दौडधूपमा व्यस्त छन् । अदालतले पूर्ववत् पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई ब्युँताउने फैसला गरेपछि प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा ओली अल्पमतमा परेका छन् । यद्यपि माओवादी केन्द्रले प्रधानमन्त्रीलाई दिएको समर्थन औपचारिक रूपमा फिर्ता गरेको छैन ।
संसदको अंकगणित हेर्दा ३ प्रकारका सत्ता समीकरण बन्न सक्ने अनुमान राजनीतिक वृत्तमा गर्न थालिएको छ । ती हुन् – पहिलो जसपाको समर्थनसहित ओली नै प्रधानमन्त्री बन्ने, दोस्रो एमालेलाई प्रतिपक्षमा राखेर कांग्रेस, माओवादी र जसपाको संयुक्त सरकार बनाउने र तेस्रो एमाले र माओवादीको गठबन्धन कायमै राखेर अर्को कुनै नयाँ प्रधानमन्त्रीको खोजी गर्ने ।
माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’सबै विकल्पमा कुराकानी भइरहेको स्वीकार्छन् । लोकान्तरकर्मीईश्वर अर्यालले नेता पुनलाई वाम गठबन्धन भित्रैबाट नयाँ प्रधानमन्त्री बन्ने सम्भावना कति छ भनेर सोधेका थिए ।
कुराकानीका क्रममा नेता पुनले एमालेको ओली पक्षबाट सुवासचन्द्र नेम्वाङ र विष्णु पौडेलको नामसहित प्रस्ताव आएको खुलासा गरेका छन् । प्रस्तुत छ नेता पुनसँग गरिएको कुराकानीको सम्पादित अंश –
संसदमा प्रधानमन्त्रीलाई दिएको समर्थन फिर्ता लिन नसकेको आरोप लागिरहेको छ तपाईंहरूलाई । जसका विरुद्ध आन्दोलन गर्नुभयो, उसैलाई अहिलेसम्म समर्थन दिइरहनुको कारण के हो ?
– कानूनी रूपले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) रहेन । माओवादी केन्द्र बनिसकेपछि हतारमा अलिकति प्रतिशोध देखिने गरी हामीले समर्थन फिर्ता लिन नचाहेको हो । यद्यपि हामीले माओवादीका तर्फबाट मन्त्रीमा गएका साथीहरूलाई फर्किन अनौपचारिक रूपले भनिसकेका छौं ।
उहाँहरू नफर्के आधिकारिक रूपले पहिलो चरणमा फिर्ता बोलाउँछौं । त्यसपछि सरकारलाई दिएको समर्थन फिर्ता लिने, नलिनेबारे छलफल गर्छौं ।
अदालतको फैसलाका कारण ब्युँतिएका २ पार्टीमध्ये नेकपा एमाले राजनीतिक हिसाबले २ धार भएको अवस्था छ । माधव नेपाल पक्ष त पेरिसडाँडाबाट ओलीविरुद्ध संघर्ष गर्ने प्रतिबद्धतासहित बिदा भएको पक्ष हो । तर पार्टीको एउटा गुटसँग अर्को पार्टी माओवादी केन्द्रको सहकार्य कसरी अघि बढ्ला ?
– एमालेको नवौं महाधिवेशनपछि नेकपा एमालेको नेतृत्व २ वटा प्यानलमा चुनाव लडिसकेपछि हाराहारी रूपमा उहाँहरू निर्वाचित हुनुभयो । एमालेमा २ प्यानलबीच छलफल बहस हुने गरेको छ । दुवै पक्षबीच समस्या देखिइराखेको थियो र अहिले पनि छ ।
अहिले अदालतको निर्णयपछि उहाँहरूसँग छलफल हुनु अस्वाभाविक मान्न सकिन्न । विचार र प्रवृत्तिका रूपले माधव नेपाल पक्षको लाइन हामीसँग मिल्छ । ढिलोचाँडो फेरि कम्युनिस्ट आन्दोलनलाई एक गरेर अघि बढ्नुपर्छ भन्नेमा मिल्ने हो । त्यसका लागि उहाँहरूले पनि प्रयत्न गर्नुहोला, हामी पनि त्यसै गरेर अघि बढ्छौं ।
एमाले र माओवादी केन्द्रको गठबन्धनलाई चुनावसम्म लैजान प्रधानमन्त्रीका रूपमा तेस्रो व्यक्तिको खोजी भइरहेको भन्ने सुनिन्छ नि ? को हो त्यो तेस्रो व्यक्ति ?
– त्यसमा पनि साथीहरूले मेहनत गरिरहनुभएको छ । वाम गठबन्धन नै कायम गरेर जसकोमा सहमति बन्छ, सबैलाई सहज हुने खालको नेतृत्वमा सरकार बनाएर अहिलेको गठबन्धनलाई कायमै राख्ने कि भन्नेमा पनि छलफल चलिरहेको छ ।
केही प्रस्तावहरू आएका छन् । छलफलहरू चलिरहेका छन् । तर त्यसले अहिलेसम्म कुनै आकार प्रकार ग्रहण गरिसकेको अवस्था छैन ।
कस्तो प्रस्ताव आएको छ ? प्रस्तावित व्यक्तिको नाम भनिदिनुस् न ?
– सुवास नेम्वाङजीको बारेमा, विष्णु पौडेलजीको बारेमा केही प्रस्तावहरू आएका थिए । तर पहिले प्रधानमन्त्रीको राजीनामा दिएपछि विकल्प सोच्नु उपयुक्त हुन्छ भनेर हामीले भनेका छौं ।
सम्भावित सत्ता समीकरणमा जनता समाजवादी पार्टी निर्णायक बनिरहेको अवस्था छ । तपाईंहरूसँग पनि छलफल चलिरहेकै छ । के कुराकानी भएको छ तपाईंहरूबीच ?
– अहिले ३ पार्टीमध्ये जनता समाजवादी पार्टीको प्रधानमन्त्री ओलीसँग निकटता पनि देखिएको छ । संख्या पनि कम्फर्टेबल छ । अब अर्को अप्सन भनेको प्रधानमन्त्रीको असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध संघर्ष गर्ने माओवादी, कांग्रेस र जसपा लगायतका दलहरू मिलेर सरकार बनाउने हो ।
यी ३ पार्टीको गठबन्धनको सम्भावना पनि छ । त्यो प्राकृतिक पनि हुन्छ । किनभने प्रधानमन्त्रीका लागि संसद त रहेन । अहिलेको उहाँको विचार र राजनीति भनेको संसद विघटन गर्ने र नयाँ चुनावमा जाने हो । यसलाई अदालतले संवैधानिक रूपले त्रुटिपूर्ण भनिसकेपछि उहाँले चाहिँ नैतिक रूपमा छाडेर अन्य विकल्पमा जाऔं भन्न सक्नुपर्थ्यो ।
अब कानूनी रूपले म सत्तामै रहन कोशिस गर्छु भनेर प्रधानमन्त्रीले भन्न नपाउने त होइन । नैतिक र राजनीतिक हिसाबले ३ पार्टीको गठबन्धन उपयुक्त हो ।
अदालतले माओवादी केन्द्र ब्युँताएपछि नेता तथा कार्यकर्ताहरू उत्साहित जस्ता देखिन्छन् । तर कम्युनिस्ट आन्दोलन खण्डित भएको अवस्थामा तपाईंहरूलाई किन खुशी लागेको होला ?
– कम्युनिस्ट आन्दोलन एक हुनुपर्छ भनेर प्रयत्न गरेको हो । तर ओलीजीको व्यक्तिवादी, अहंकारवादी र अलि नोकरशाही खालको एकाधिकारवादी सोचका कारण त्यो सफल भएन । उहाँमा पर्याप्त कम्युनिस्ट सोच देखिएन ।
तर व्यक्तिभन्दा पनि वस्तुगत हिसाबले कम्युनिस्ट आन्दोलन एक हुन्छ । वस्तुगत आधार छ । माओवादी केन्द्रका साथीहरू अहिले खुशीभन्दा अलग भएपछि जति पनि एजेण्डा छन्, ती माओवादीकै एजेण्डा हुन् । एजेण्डामा सबैलाई गोलबन्द गर्ने र वाम आन्दोलनका लागि पनि प्रयत्न गर्ने काम गर्नुपर्छ ।
हिजो लोकतन्त्र र संविधानका लागि लडेका सबै शक्तिलाई गोलबन्द गर्ने र संविधानलाई बचाउने त्यसै गरी विकास र समृद्धिको जुन जनताको चाहना छ, त्यसमा काम गर्ने हाम्रो उत्साहमा कुनै कमी छैन ।
तपाईंहरूलाई दुःखी हुन छुट छैन त्यसो भए ?
– दुःखी हुनुभन्दा पनि राजनीतिमा उतारचढाव हुन्छ, आरोहअवरोहकै बीचबाट अघि जाने हो । राजनीति सरल रेखामा चल्दैन ।
अन्तिममा ‘एमालेमै बस्छौं’ भनेर उता गएका रामबहादुर थापा, टोपबहादुर रायमाझी लगायतका नेताहरूलाई कारवाही गर्ने तयारी छ तपाईंहरूको ?
– हामीले कानूनी रूपले फिर्ता आउनुस्, हामी सम्मानका साथ स्वागत गर्छौं भनेका छौं । त्यसो नहुँदा हामीले उहाँहरूलाई छिट्टै मन्त्रीबाट पनि फिर्ता गराउँछौं र नआउने भएपछि उहाँहरूलाई संसदबाट बिदा गरेर सजिलो बनाइदिन्छौं ।
तपाईंहरूले उता गएका नेताहरूसँग कुराकानी त गरिरहनुभएको होला नि ! को–को फर्किनेवाला छन्, को–को उतै बस्छन् ?
– कुरा भइरहेको छ । केही साथीहरू फर्किन्छौं भन्नुभएको छ । केही साथीहरू हामी राजनीतिक रूपले यतै बस्छौं भन्नुभएको छ । केही साथीहरूले वाम आन्दोलन कमजोर भएपछि तटस्थ बस्छौं भनेर भन्नुभएको छ ।