×

NMB BANK
NIC ASIA

यात्रा साहित्य

जुम्लामा पाइलो टेकेको दिन

फागुन २९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel
  • प्रतीक ढकाल

भित्तेपात्रोले मेरा आँखालाई ताकेरै भन्यो – कुरो बुझिस् तैंले, २०७४ सालको चैत्र १३ गते भनेको आजै हो ।

Muktinath Bank

हिजो बेलुका नै ठिक्क पारेर राखेको झोला टिपेर विमानस्थलतिर जाने सुर कसें । तर जाने पो कसरी ? अनि सम्झें – धेरै पाहुनाहरूलाई म आफैंले एयरपोर्ट लगेर छोडिदिन्थें । तर आफैं पो कसरी जाने ? गाडी वा मोटरसाइकल जे लिएर गए पनि त्यसलाई फर्काएर घरमा ल्याइदिन्छ कसले ? बसमै चढेर जाऊँ न त भन्दा पनि गोल्डेन गेटदेखि डोमेस्टिक (आन्तरिक) उडानको ‘चेक–इन’ हुने ठाउँसम्म त्यो ठूलो झोला कसरी लैजाने ?


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

समाधान निस्कियो । पालाको पैंचो तिरिने भयो । म्यान्मार सरकारका लागि विश्व बैंकका ऊर्जा सल्लाहकारका रूपमा कार्यरत कान्छा साढुभाइ मधुसूदन अधिकारी ठ्याक्कै घर आएको बेला परेको हुनाले मलाई उनैले विमानस्थलमा छोडी गाडी फर्काएर घर ल्याइदिने  भए । मन खुशी भयो । धैरै पटक मैले उनलाई विमानस्थलमा छोडेर घर फर्केको थिएँ, आज भाइले पनि मलाई छोडेर घर फर्कने भए । 


Advertisment
Nabil box
Kumari

झोला डिक्कीमा बस्यो र भूमिगत भयो । म गाडीमा बसें र दृष्टिगोचर भएँ । भाइ चालकको सिटमा बसेर पेटीको जनै लगाए – कपडा बाहिरै देखिने गरी । पितृलाई तर्पण दिने बेलाको जस्तो – अपसभ्य जनै । अर्थात् दाहिने काँधमा चढेर पेटको देब्रेतिर तल झर्ने मोडेलको जनै । जनैको स्थायी दरबन्दीको भन्दा ठीक उल्टो अवस्थितिमा ‘समायोजन’ भएको जनै । 

Vianet communication
Laxmi Bank

झोला भिरेर पसें डोमेस्टिकको प्रस्थान–कक्षमा । यात्रुको भीड खचाखच छ । कुनै पनि विमान समयमा उडेका छैनन् र प्रतीक्षारत यात्रुको संख्या क्रमशः थपिँदो छ ।

बल्लबल्ल मैले टिकट लिएको अग्नि एयरको विमान पनि उड्ने भयो आधा घण्टा ढिलो गरेर र मैले पनि बस चढेर विमानभित्र पसेर आसन ग्रहण गरें । क्याप्टेन रोशन केसीले उद्घोषण गरे – ‘हामी १८,५०० फिटको उचाइबाट उड्नेछाँं र ४० मिनेटमा नेपालगञ्ज पुग्नेछौं । मौसम प्रतिकूल भएका कारणले गर्दा उडान अवधिभर नै विमान हल्लिन सक्छ ।’

साँच्चै नै हल्लाउँदै–हल्लाउँदै ५० मिनेटमा पुर्‍यायो नेपालगञ्ज । नागरिक उड्डयनको भाषामा भन्नुपर्दा केईपी पुर्‍यायो हामीलाई । नेपालगञ्जलाई एनईपीको सट्टामा किन केईपी लेखिन्छ ? मैले आजसम्म पनि बुझेको छैन, न त कुनै जानिफकारलाई सोधेको नै छु ।

उड्नु त हो नि ! नबुझेरै पनि काम चलेकै छ क्यारे ! मैले नै सबै कुरा बुझ्नैपर्छ भन्ने पनि कहाँ लेखेको छ र ?

हाम्रो नेपालगञ्ज अर्थात् नागरिक उड्डयनको भाषाको केईपी त आइपुगियो तर जुम्लाको टिकट पो हात पार्ने कसरी ? दुर्गम जिल्लाको टिकट पाउन धेरै गाह्रो छ । सिमिकोट (हुम्ला), जुफाल (डोल्पा), चैनपुर (बझाङ), कोल्टी (बाजुरा), जुम्ला, ताल्चा (मुगु) जाने यात्रुको सधैं बिजोग देखिन्छ नेपालगञ्जका योे राँझा विमानस्थलमा । पटक–पटक उडान क्यान्सिल भएर बिखर्ची भएका, होटलमा उधारोमाथि उधारो थुपारेर रात थप गरिरहेका र खल्तीमा विमानको ‘कन्फम्र्ड’ टिकट बोकेर पनि बास दिने आफन्तको घर चहार्दै हिडिँरहेका यात्रुहरू भेटिनु त नेपालगञ्जको परम्परागत विशेषता नै बनिसकेको छ ।

मैले आजै जुम्ला पुग्नु छ, नेपालगञ्जमा कुनै फोकटिया रात बिताउनु छैन । त्यसैले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले दिएको नम्बरमा फोन गरें – नेपालगञ्ज नागरिक उड्डयन कार्यालयका प्रमुख दिलिप कार्कीलाई । उहाँले तुरून्तै सूर्यमणि नामका कुनै कर्मचारी खटाइदिनुभयो र उनी मलाई भेट्न काउन्टरमै आए । अब भने अलिकति आस पलायो – आजै जुम्ला उड्न पाउँछु कि भन्ने ! नत्र त उडान रद्द भएका उत्साहहीन यी मान्छेहरूको भीडमा त्यत्तिकै हराइने पो हो कि भन्ने डर थियो मनभरि ।

देख्दादेख्दै सिमिकोटको उडान फेरि रद्द भयो । बोर्डिङ पास लिइसकेका मानिसहरू निराश मुद्रामा फर्कन थाले भित्रबाट । भन्दै थिए – लगातार ३ दिनभयो उडान रद्द भएको । उड्न पाइन्छ कि भनेर आशा गरेर आउनेहरू र उडान रद्द भएपछि चमक हराएको अनुहारमा बाहिरिनेहरू – दुवै थरिलाई लगातार देख्न पाइन्छ यो ढोकामा उभिएपछि ।

‘तपाईंं खाना खान कतै गए हुन्छ । जुम्ला उडान भयो भने पनि १ः३० बजेतिर मात्र हुन्छ । यो रसिद लिएर जानुहोला । बाँकीको बिल पछि प्राप्त हुनेछ,’ सूर्यमणिजीले मलाई सुझाव दिए । 

यसो घडी हेरें – भर्खर ११ जस्तो भएको छ । उनले दिएको चिर्कटो हेरें – रू. २००/– प्राप्त गरेको निस्सा रहेछ । मैले ७ वटा हजार/हजारका नोट गनेर दिएको ठीक साँचो हो र उनले मलाई दिएको रसिदमा रू. २००/– लेखिएको पनि ठीक साँचो हो । तर मैले कुनै प्रश्न र जिज्ञासा उठाइनँ, किनकि आजै जुम्ला उड्नु मेरो यस घडीको खाँचो हो । 

बरु पैसा बुझाउन पाएकोमा उल्टै दङ्ग पर्दै म पनि यो भीडबाट बाहिरिएँ – पेट पूजा गर्न । 

‘हुम्लाको उडान रद्द भएपछि जुम्ला उडान स्योर हुन्छ, बुझिस् ?’
 
मेरो छेउकै टेबलमा बसेर सँगै खाना खाइरहेको एउटा मान्छेले आफ्नो साथीलाई भन्यो । मैले पनि ठाडा–ठाडा कान पारेर कुरा सुन्दै सोचें – हँऽऽऽ, यी पनि जुम्ला जाने मान्छे नै रहेछन् । अनि मैले यिनै वक्तालाई सोधें – जुम्ला जाने पक्का भयो त उसो भए ? म पनि जाने हुँ जुम्ला नै तर लान्छ पो कसरी नि ?

‘त्यो त रत्नपार्कमा मिनिबस चढेजस्तै हो । लाइन लागेर ७/७ हजार बुझाउँदै प्लेनभित्र छिर्ने । अटाए जति प्लेनमा चढ्ने नअटाएपछि अर्को उडानको पालो पर्खने । चार्टर भनेर लान्छन् – तर मनपरी छ ।’ त्यही क्यापवाला भाइले मलाई जवाफ दिए ।

कदाचित् हामी उड्यौं भने त चार्टर्ड सेवाबाट पो जाने रहेछौँ त ! लौ, विमान चार्टर गरेर उड्ने भइसकिछस् नि मोरा पर्तिके ! मैले आफैंले आफैंलाई एक थान बधाई पनि दिएँ । सानो कुरो हो त, विमान भाडामा लिएर घुम्नु भनेको ?

मनले के मान्थ्यो बाहिर बसिरहन ! कत्ति न प्लेनै छुट्न आँटेझैं गरेर फेरि पुगें उही टर्मिनल भवनमै । डेढ बज्न अझै डेढ घण्टाभन्दा पनि बढी नै समय बाँकी छ । गर्ने काम र हेर्ने कुरा केही बाँकी छैन । त्यसैले प्रतीक्षालयमा राखिएकै एउटा सिटमा थेचारें आफूलाई  र झोलाको सिरानी लगाएर आराम मुद्रामा पल्टेझैँ गरिरहें ।

धन्न मोबाइल छ अचेल र यस्तो बेलामा पनि ‘ट्यामपास’ गर्न त्यति गाह्रो पर्दैन । नत्र त मुस्किलै पथ्र्यो नि हौ !

कुर्दाकुर्दा बल्लबल्ल १ बज्यो । धेरै मुस्किलले बल्लबल्ल सवा १ बज्यो । थाहै छ नि तपार्इंलाई प्रतीक्षाको घडी कति लामो, कष्टकर र पीडादायी हुन्छ भन्ने कुरो त ! १ मिनेट पार गर्न पनि ६० पटक टिक्टिक् गर्नुपर्ने हुन्छ बाइ !  

‘एऽऽ सर, तपाईंं त यहाँ पो हुनुहुँदो रहेछ; मैले अघिदेखि नै खोजेको खोज्यै थिएँ ।” 

तिनै सूर्यमणिजी आए र मलाई २०० फिर्ता दिए अनि झोला तौलाउन लिएर गए । मेरो झोलाको तौल केही बढी नै देखिए पनि आँखा चिम्लिन भने काउन्टरमा रहेको ट्याग झुण्डाइदिने कर्मचारीलाई र मलाई चाहिँ बोर्डिङ पास थमाइदिए ।

पुलिसका अगाडि  हात फैलाएर ‘टी’ आकारमा उभिएर मैले पनि ‘सेक्युरिटी’को ढोका पार गरें र यो केईपीको ‘स्टेरलाइज्ड जोन’मा पुगें ।

यो त्यही ठाउँ हो जहाँ बोर्डिङ–पास लिएर पनि उडान रद्दको सूचना सुनेपछि कागती खाएजस्तो मुख पारेर मानिसहरू बाहिरिन्छन् । बेन्चभरि पल्टेका छन् मानिसहरू । आफ्नो तर्फबाट गर्नुपर्ने सबै कार्य सकेपछि ‘टिकटित’ (टिकट काटिएको जनाउने शब्द) जहाजको अवतरण र आफूलाई लिएर हुने उडानको प्रतीक्षा मात्र गरिरहेका हुन्छन् यी मानिसहरू । 

अब यहाँ पसिसकेपछि गर्नुपर्ने कुनै कर्म शेष रहेको हुन्न । ‘ब्रह्मकपाली’ गरेजस्तै हो यो । सबै सांसारिक कर्महरू बाहिरै सकिए – अब त प्लेन आए उड्ने, त्यत्ति मात्रै हो ।

‘प्रतीक्षा नै पूजा हो ।’ यो कक्षको मूल मन्त्र नै यही हो ।

यति भएर पनि उडिने कुराको कुनै ठेगान हुन्न । त्यसैले लाग्छ – उडान रद्दको अनिच्छित झट्का लागेर बाहिरिनुभन्दा त बरू प्रतीक्षारत रहेर यही बेन्चमा फालिनु धेरै वेश ! कम्तीमा पनि आशाको त्यान्द्रो छिन्न त पाउँदैन नि ! आशाको त्यान्द्रो नै छिने पछि त सक्किगो नि !

आहा ! तारा एयरको एउटा फुच्चे जहाज निकै पर ओर्लियो र मोटर भएर गुड्दै टर्मिनल भवनको छेउतिर आउन थालेको देखियो । सबै जर्‍याक्जुरूक्क उठे – मानौं कि जहाजलाई सलामी दिनुछ । सबैमा उमङ्ग भरियो । जीवन आयो । तर पनि आधाभन्दा बढी मान्छे उत्तिकै निराश मूडमा पल्टिरहे । स्पष्ट भयो – तिनीहरूको गन्तव्य जुम्ला होइन । नत्र दुर्गमतिर जाने यात्रुहरू यसरी ओर्लेको विमान समेत नहेरी कसरी पल्टिरहन सक्छन् र ?

हो रहेछ । हामीलाई नै बोक्ने तारा रहेछ यो । आज त यो फुच्चे विमानलाई पनि अति नै राम्रो देखें र गेटबाट बाहिर निस्केर विमानको लिस्नोमा टेक्न पुगें । बाहिर टिकटको त्यस्तो मारामार छ तर सिटमा बसेपछि देखें – पछाडिका ४/५ वटा सिट खाली नै राखेर विमान उड्यो । किन यस्तो हुन्छ ? दुइटा ‘द’ ले जानून् । उपनिषद्ले त ‘ददद’ भनेको छ – तर मैले ‘दद’ मात्र सोचें – दलाल र दुर्नियत ।

सानो जहाज । धेरै मेहनत नै नगरी फुत्त आकाशियो र उत्तरको बाटो पक्रियो । आकाशमा त कति सुविस्ताको बाटो ! न त धुलो र धुँवा, न त खाल्डाखुल्डी नै । शून्यमा बाटो बनाउँदै उड्दैछ हवाइजहाज । २ महिनासम्म टिक्ने दीर्घजीवी कालोपत्रे र ठूलै युद्धको तयारीसहित टेन्डर बुझाउन जानुपर्ने काम त जमिनको सडकमा मात्र हुने रहेछ । यहाँ त ठाउँठाउँमा विप्लवी बादलले गर्न चाहेको असफल ‘आकाशबन्द’ बाहेक अरू केहीको अवरोध देखिंँदैन ।

तल देखिँदैछन् – खेतीका ठूला ठूला फाँटहरू । ठाउँ ठाउँमा गुचुमुच्च परेका घरहरू । अनेकौं ठाउँमा जेलिएका नदीका मसिना त्यान्द्राहरू । पहाडै ढाकेर उम्रिएको हरियो वन । चुच्चे, फुस्रे र तछारिएका पहाडी पहिराका डोबहरू । अनि अनेकौं ठाउँमा जोडिएका र छुट्टिएका बाटोरूपी धर्साहरू ।

मन बहकिएको छ प्लेनभन्दा पनि चाँडो र स्मृतिमा आइरहेछ त्यही पुरानो कथा जस्को मर्म मेरै कृति ‘गण्डकीको मुहानतिर’को शुरूमै उल्लेख भएको छ । के त्यो मान्छेले १४ वर्षको उमेर नपुग्दै आफ्नो पूर्वजन्मकी त्यो छोरीलाई भेट्यो होला त ? विचरा, १ वर्षको मात्र समय थियो उसको हातमा र उसले भेट्नु थियो ‘जेड’ आकारको बाटोमाथि रहेको कुनै प्रसिद्ध गुम्बा जहाँ उसकी छोरी समेत बसेकी छे । १४ वर्ष पुगेको दिन उसको कपालको टुप्पो कुनै लामाद्वारा काटिने छ र ऊ सधैंका लागि आनी हुनेछे ।

आफ्नी स्वर्गीय आमाले सपनामा भनेको विवरण अनुसार आफ्नी छोरी खोज्दै हिँडेको त्यो विवश बुवाले ओलाङचुङ्गोलादेखि किमाथांकासम्म, तेङ्बोचेदेखि क्यान्जिनसम्म, कागबेनी, चराङदेखि याञ्जीर गुम्बासम्मको दौड पूरा गरिसकेको छ । के त्यो बुवाले फेला पार्न सक्यो होला त – त्यो सपनामा भनिएको कुनै गुम्बा ?

म विमानको झ्यालबाट हेर्दैछु – कतै ठ्याक्कै जेड आकारको बाटो पो भेटिइहाल्छ कि ! त्यसको टुप्पोमा वन र गुम्बा पनि भेटियो भने त एउटा सम्भावित ठाउँ भेटिन सक्छ नि ! त्यो कुरो जेम्स स्कूल गएर राजेश खड्का दाइलाई भनिदिन पाए त उहाँले त्यो बुवा चैंलाई खबर गरिदिनु हुन्थ्यो होला र पूर्वजन्मको  एउटा कथाको कडी पछिल्लो जन्ममा पनि जोडिन सक्थ्यो होला ।

आहा ! कति रमाइलो हुँदो हो यस्तो तिलस्मी कथाको एउटा जीवित साक्षी बन्न पाए ! मन कति हलुको हुन्थ्यो होला – यो कथालाई आफ्नै खोजबाट सुखान्त पारिदिन पाए !

चारचौरास आँखा डुलाउँदा डुलाउँदै र मनमा त्यही बुवाको कुरो खेलाउँदा खेलाउँदै कति चाँडो बितेछ यात्राको झण्डै २० मिनेट । मौनधारण गरेर उभिंँदा १ मिनेट पनि कति लामो हुन्छ तर मैले केही नगरी नै बिताइसकेछु झण्डै २० मिनेट । मेरो बायाँ हाततिरको धर्तीमा देखिएका छन् डाँडाको टुप्पोमा अवस्थित गुचुमुच्च घरहरू । पातलो बस्ती देख्दै आएको म पहाड शुरू भएपछि देखिएको यो बाक्लो बस्तीलाई पनि कालिकोटको सदरमुकाम मान्म हुनुपर्छ भनेर सोच्दैछु । अहिलेको पुनर्संरचनाले यसलाई खाँडाचक्र नगरपालिका बनाएको छ क्यारे !

अब त सबै नगरपालिका । नगर भए पनि नगरपालिका, नगर नभए पनि नगरपालिका । केही गर्नु नपर्ने भएरै यस्ता निकायको नाम ‘नगरपालिका’ राखिन्छ होला शायद । ‘गरपालिका’ भए पो कसैले केही गर्ला कि भन्ने आशा हुन्थ्यो, नामै नगरपालिका भएपछि त कसैले केही गरिरहनै परेन । कस्तो हाइसञ्चो !

बाटाका किरिङमिरिङ धर्साहरू पनि बाक्लै देखिएका छन् । डाँडाको टाउको माथिबाट नै विमान उडिरहेको हुनाले तलको शहर मजाले देखिएको छ । हो, यो पक्कै पनि खाँडाचक्र नै हो, नत्र यो ठाउँमा यस्तो घनाबस्ती अरू कुन होला र ?

विमानको झ्यालले झन् ठूलो बस्ती देखायो । हरिया हरिया खेतहरू पनि देखिन थाले । हामी जुम्ला आइपुग्न लागेकै जस्तो छ । 

हो रहेछ, बस्ती त झन्झन् ठूलो पो देखियो । घडी हेरें – नेपालगञ्जबाट उडेको २८–२९ मिनेट भइसकेको रहेछ । जहाज होचिँदैछ र झनझन् ठूलो शहर दृष्टिगोचर हुँदैछ ।  

ऊ अब त विमानस्थल नै देखियो । तर जहाज त विमानस्थलतिर नगएर एउटा सानो पहाड ताकेर पूर्वतिर पो जाँदैछ त ! के गर्दैछ हँ यल्ले ?

उत्सुकता जाग्यो र म पनि तन्याकतुनुक मुण्टो बटारेर दुवै तर्फका झ्यालबाट हेर्न थालें । जहाजले त त्यो सानो पहाडलाई परिक्रमा गर्‍यो र एउटा नदीले बनाएको खोंचलाई आफ्ना पखेटाले ढाक्दै सिधैं बस्ने उपक्रम पो गर्न थाल्यो । मैले त अब प्रस्टै देखें – टावर पनि र ‘एप्रोचिङ मार्क’ पनि । विमानस्थल वरपर जम्मा भएका रमितेका हुल पनि, विमानस्थलको तारबार र त्यसैको सुरक्षार्थ खटिएका बर्दीमै रहेका केही प्रहरीहरू पनि ।

देख्दादेख्दै जहाजले भुइँ छोयो । ढोका खुल्यो । परिचारिकाले मुस्कान सहितको सेवा गर्दै हामीलाई बिदा गरिन् । म पनि बाहिर आएर झोलाको प्रतीक्षा गर्न थालें ।

जुम्ला विमानस्थल
झोला पनि आइपुग्यो । टिपें र गेटतिर सोझिएँ । तर कहाँ जाने ? म स्पष्ट थिइनँ । कसैसँग सम्पर्क गरेको पनि थिइनँ  । रूद्रप्रसाद पण्डित नै सीडीओ भएको बेला यसो कुरो भएको थियो तर उनी अहिले यहाँबाट सरूवा भइसकेका छन् ।

यसो सोचें – जिल्लाको नयाँ विभाजनका हिसाबले ७७ लाई नै पूर्णांक मान्ने हो भने पनि ७३ जिल्लाको भ्रमण गरिसकेको मान्छे पो त म त ! खल्तीमा अलिअलि दाम पनि छँदैछ । अनि यो ७४ औं जिल्ला जुम्लामा चाँहि हराइएला कि भन्ने के को पीर ! 

निस्की भाइ गेटबाट – क्यै परे म छु । परेको मै व्यहोर्छु ।

गेटबाहिर आएर एउटा पसलेलाई सोधें – यो बाटो कहाँ जान्छ ? उनले मलाई गैरजुम्ली भएको चिनिहाले मेरो लबजैबाट र मैले बुझ्ने गरी भनिदिए – ‘पूर्व लागे उर्थु, लाम्री, लुम, तल्फी, पेरे हुँदै पातारासी पुगिन्छ र पश्चिमतिर लागे बजार पुगिन्छ ।’

मेरो दिमागमा क्लिक् भयो – हामीले गल्तीले ‘पत्रासी’ भन्ने गरेको हिमालको सही नाम त ‘पातारासी’ पो रहेछ । ती पसलेले ठाउँको नाममा लिएको यो शब्दबाट मैले हिमाल बुझें । रेडियोमा स्थानीय तहको निर्वाचन परिणाम सुनिरहेका बेला यही हिमालको नाममा एउटा गाउँपालिकाको नामाकरण भएको थाहा पाएको थिएँ – जान मन गरे पुर्‍याउने बाटो पनि देखियो आज । अनि पश्चिम गए बजार भन्नुको अर्थ त प्रस्टै थियो – विमानस्थलभन्दा केही पर रहेछ मूल जुम्लाबजार अर्थात् उहिले हामीले ‘छिनासीम’ वा ‘खलङ्गा’ वा ‘चौघान’ भन्दै किताबमा पढेको ठाउँ । ऐतिहासिक अर्थमा ‘चौघान’, सेनाको १०० तोपको दल भएको आधारमा ‘खलङ्गा’ र प्रशासनिक एकाइको रूपमा ‘छिनासीम’ ।

‘अनि बास बस्नका लागि अलि राम्रो होटेल चाहिँ कतातिर पाइएला नि ?’

सहयोगी स्वभावका रहेछन् पसले भाइ । बाटोमा अलि वरसम्मै आएर औंलाले संकेत गर्दै भने, ‘यहाँबाट जानुहोस् र ऊ त्याँ’निर पुगेपछि देब्रेतिर लाग्नोस् । एउटा बाटो होटलभित्रै छिर्छ । काञ्जिरोवा होटल । जुम्लाको राम्रो होटल । अलि महङ्गै छ भन्ने सुनेको छु । पहिले नै कुरा मिलाएर बस्नुहोला ।’

आहा, ‘काञ्जिरोवा’ शृंखला ! मैले पर्यटन मन्त्रालयको पर्वतारोहण शाखा हेरिरहेका बखत स्थलरूप नापी महाशाखाका तत्कालीन वरिष्ठ नापी अधिकृत श्री डिल्लीप्रसाद त्रिपाठीजीको टोलीलाई म आफैंले विशेष अनुरोध गरेर यकिन नाप–नक्सा गर्न पठाएको हिमाल । कति राम्रो काम गरेर आएको थियो उहाँको टोलीले त्यो बेला । सबै कर्मचारी खराब नै कहाँ छन् र ? केही त गतिला पनि छन् र देश तिनैले बचाएका छन् ।

काञ्जिरोवा हिमाल (६८८३ मिटर) को शृंखला
ती भाइलाई धन्यवाद भनेर म छुट्टिएँ र उनैले संकेत गरेको बाटोमा हिँड्न थालें । एकैछिनमा आँखाअगाडि देखापर्‍यो ‘काञ्जिरोवा’ होटलको साइनबोर्ड । जे होस्, होटल पनि हिमालकै नामको पाइयो । फराकिलो कम्पाउन्ड रहेछ । होटेलको पनि केही भाग निर्माणाधीन नै रहेछ । काउन्टरमा भेटिनुपर्ने मान्छे किचनमा भेटिए र एउटा कोठाको प्रतिरात २००० रुपैयाँ लाग्ने कुरा सुनाए ।

काञ्जिरोवा होटल

ए रात्तै ! जुम्लामा पनि यत्तिका महङ्गा होटेल खुलिसकेछन् ? पर्यटन क्षेत्रको मर्म बुझेको मान्छे भएर होला – खुशी नै लाग्यो । फेरि सोचें – ए बाबा, यो त त्यो ऐतिहासिक खस साम्राज्यको पनि राजधानी पो त ! विक्रम संवत् १८८८ मै राजा राजेन्द्रवीरविक्रम शाह र मुख्तियार भीमसेन थापाले यहाँको पहिलो प्रशासकका रूपमा भक्ति थापाका नाति नैनसिंह थापालाई नियुक्त गरी पठाएको ठाउँ ! विक्रम संवत् १९१० मा पनि यिनै श्री ५ राजेन्द्र र श्री ३ जंगबहादुर राणाले नेपाललाई ४ जिल्लामा बाँड्दा समेत एउटा पूर्ण जिल्लाको रूपमा रहन सफल रहेको ठाउँ हो – जुम्ला ! अहिले पो ४ वटा मात्रै ‘दरा’ (एक किसिमको भौगोेलिक विभाजन) बाँकी रहेका छन् त, नत्र उहिले त ‘१८ दरा २२ पाखा जुम्ला’ भनेर इतिहासमै प्रसिद्ध ठाउँ हो नि ! वीरशमशेरले सिङ्गो नेपाललाई गोश्वारा, गौंडा र गढी गरी जम्मा २० प्रशासनिक इकाइमा विभाजन गर्दा समेत ‘गौंडो’ कायम हुन सफल भएको एक प्रशासनिक केन्द्र । सुगौली सन्धि हुनुपूर्वको विशाल नेपालका ८० जना राजा–रजौटाहरूमध्ये एकजना टाकुरे राजा भएको ठाउँ । पृथ्वीनारायण शाहले काठमाडौं उपत्यका विजय गरेर समेत हात हाल्न नसकी पछि रणबहादुर शाहका पालो (विक्रम संवत् १८४६) मा मात्र नेपालको अहिलेको भूगोलमा मिसिएको भूमि ! गण्डकी क्षेत्रका चौबीसे राज्यहरूमा मणिमुकुन्द सेनको पाल्पा बलियो भएजस्तै कर्णाली क्षेत्रका बाइसे राज्यहरूमध्येको सबैभन्दा शक्तिशाली ठहरिएका शोभान शाहीको राज्य ! विक्रमको १९०१ मै बर्फानसिंह बस्नेत बडाहाकिम भएर आएको ठाउँ ! सांस्कृतिक रूपमै पनि मागल, देउडा, पडेली, न्याउल्ला, आरती, उचेणा, आशिका, धमारी, ढुस्को, आहाना, सगुन, फाग, भारतजस्ता मौलिक गीत–संगीतहरू र हुड्के नाचले सजिएको ‘पैकेलो’ को भूमि ! उत्तर कमाण्डिङ् जर्नेल (उकज) भएर यहाँ जागिर खान आएका भीमशमशेर र पद्मशमशेर त पछि नेपालका श्री ३ महाराज र प्रधानमन्त्री नै भए । २०१५ सालको आमनिर्वाचनमा नेपालका ३६ जिल्लालाई १०९ निर्वाचन क्षेत्रमा बाँडिदा पनि दुइटा निर्वाचन क्षेत्र भएको ठाउँ – फरक कति मात्र हो भने त्यो बेलाको जुम्ला ठूलो थियो । निर्वाचन क्षेत्र नम्बर ७३ लाई उत्तरी जुम्ला भनिन्थ्यो र त्यसमा अहिलेका हुम्ला, कालिकोट, मुगु र जुम्लाकै केही भाग राखिएका थिए । निर्वाचन क्षेत्र नम्बर ७४ लाई दक्षिणी जुम्ला भनिन्थ्यो र त्यसमा डोल्पा, जुम्ला, कालिकोटकै केही भागहरू उहिलेको तिब्रिकोट समेत राखिएका थिए । राजा महेन्द्रले दलीय भाँडभैलो सहन नसकी ल्याएको पञ्चायतीकालमा पनि अञ्चलाधीश बस्ने ठाउँ हो । सानो इज्जत छ त जुम्लाको ? अनि किन नहोस् त यत्तिको विकास ?

गोर्खाली फौजसँग २ वर्षसम्म चलेको लडाइँमा आफ्ना २२ हजार सैनिकले हारेपछि अन्तिममा शोभान शाहीले जुम्ला कसरी छोडे भनेर त यहाँको लोकगाथाले नै भन्छ नि –

‘भातु खाया शोभान साईले ताउली हाल्या कुम्ला
 जिती आयो गोरखय जनिमार जुम्ला ...’
अर्थात् 
भातै खाए शोभान शाहीले ताउलो हाले कुम्ला
जित्दै आयो गोर्खालीले निर्धो भयो जुम्ला ...

 
‘गोर्खा बडी आया भुनी (गोर्खालीले जित्दै आए भनी) साई बाइगया (शाही भागिहाले) भोट
नौला धजा हाल्न लाग्या चुन्नन्नाथ (चन्दननाथ) का कोट ...'

यो झोला थन्क्याएर हिँड्न मन लागेको छ मलाई । त्यसैले तुरून्त नै कोठा देखाउनका लागि भनें । एउटा भाइले कोठामा पुर्‍याए । एट्याच्ड बाथरूम, ग्यास गिजर सहितको सावर, काठैकाठले बनाइएको कोठा । सकेसम्म सुन्दर बनाउन गरिएको सबै उपक्रम यो ठाउँको हिजोसम्मको दुर्गमताका आधारमा उत्कृष्ट नै लाग्यो ।

बाथरूम पसेर आफूलाई ताजा बनाएँ । किचनमा पसेर केही खाजा खाएँ र कुनै सूचना संकलन नै नगरी नितान्त एक्लो यात्रीको रूपमा परपरसम्म घुम्न गएँ । कच्ची बाटो भए पनि किनारामा सिमेण्टेड कुलो बगिरहेछ । कुलोमा बगेको पानी पनि कञ्चन छ । हामी त सफा पानी देख्ता पनि त्यसै–त्यसै मोहित हुने भइसकेका रहेछौं ।

कठै ! हामी अभिशप्त राजधानीबासी ! हामीले त नदीका नाममा वाग्मती देखेका छौं । विष्णुमती देखेका छौं र टुकुचा देखेका छौं । सडक किनारमा सिमेन्टको पक्की कुलोभित्र बगेको यो निर्मल पानीलाई पनि हेरिरहूँजस्तो लाग्यो । 

मेलम्चीको तिर्खा बोकेर बाँचेका काकाकुल हामी । आफैंप्रति टिठ लाग्यो । 

धेरै पर परसम्म घुमें । सानो बजार आयो । एउटा स्कूल आयो । झोलुङ्गे पुल आयो । बीचमा सुन्दर मन्दिर भएको ठाउँ र एउटा आधा बनेको पक्कीपुल पनि आयो । नदीको बीचैमा रहेको एउटा ‘जेसीभी’ पनि देखियो । 

यसपछि म पनि फर्किएँ र पुनः होटलमै आएँ । आफ्नै कोठामा गएर बसें । काम गरेर थाकेको होइन तर जुम्लाको उडान होला कि नहोला भनेर सोच्दासोच्दै र कुर्दाकुर्दै म नेपालगञ्जमै थाकिसकेको रहेछु । अहिले बल्ल पो थकाइ लागेको थाहा भयो । 

जे होस्, धेरै वर्षको अन्तरालपछि बल्ल म आज गणना गर्न मिल्ने गरी एउटा नयाँ जिल्लामा आइपुगेको छु । २०७४ सालको चैत्र १३ गतेको अपराह्न मैले आफूले भ्रमण गरेर कम्तीमा पनि १ रात बिताएको चौहत्तरौं जिल्लाका रूपमा जुम्लामा पाइलो टेकेको छु । रात त परेपछि बित्ने नै भयो – किनकि म होटलकै कोठामा बसेर यो लेखिरहेछु । नयाँ संरचना अनुसार थपिएका २ जिल्ला नवलपुर र पश्चिम रूकुममा पहिले नै पुगिसकेको हुनाले त्यसलाई गनिरहनु परेकै छैन । हिसाब आफैं मिलेको छ । 

‘खाना कस्तो चामलको खाने’ भनेर सोधे होटलका मान्छेहरूले । सेतो चामलको कि जुम्लीमार्सी अर्थात् रातो चामलको भात भनेर सोधेको रे ! मैले पनि दोस्रो विकल्प नै रोजिदिएको छु । नयाँ ठाउँमा आएपछि नयाँ कुरा नै अनुभव गर्नुपर्छ – जाबो सेतो चामल त अन्यत्र पनि खाइएकै हो नि ! जुम्ला आएर खाने भनेपछि किन संसारकै सर्वाधिक उचाइमा फल्ने धानखेती अर्थात् जुम्लीमार्सीकै चामल किन नखाने ?

मन प्रसन्न छ । मैले पाइलो टेकेको चौहत्तरौं जिल्ला जुम्ला, तिमीलाई मैले जुम्लाहात गरेर नै प्रणाम गरेको छु भन्ने कुराको जानकारी त छ नि तिमीलाई ? विमानबाट ओर्लनासाथ मैले तिम्रै माटोको टीका लगाएको कुरो कि बिर्सिसक्यौ तिमीले हँ ?

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १३, २०८०

वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...

कात्तिक ८, २०८०

पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...

असोज ६, २०८०

सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...

असोज १०, २०८०

गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...

मंसिर २, २०८०

गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...

कात्तिक २८, २०८०

गोपी मैनाली   कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् ।  ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x