०३ असार २०८३, बुधबार

माधव नेपाललाई ओलीको आह्वान : किन उफ्रिने ? बैठकमा आए भैगो नि ! छलफल गरौंला

फागुन २९, २०७७
माधव नेपाललाई ओलीको आह्वान : किन उफ्रिने ? बैठकमा आए भैगो नि ! छलफल गरौंला

नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले माधवकुमार नेपाल समूहलाई पार्टी बैठकमा आउन आह्वान गरेका छन् ।

आगामी चैत ७ गते पार्टी केन्द्रीय कमिटीको बैठक भएकाले सूचना पाएन नभन्न सुझाव दिएका छन् ।

अखिल नेपाल महिला संघले शनिवार काठमाडौंमा आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै ओलीले पेरिसडाँडाबाट बिदावारी भएर आएका नेताहरू अर्याल होटलमा बाँस बसेकाले पार्टी बैठकमा आइनपुगेका व्यंग्य गरे ।

उनले शुक्रवार भएको केन्द्रीय कमिटीको बैठकमा पार्टीका काम चलाउन केही नेतालाई जिम्मेवारी दिएकोले त्यसमा छलफल गर्न सकिने बताए । ‘किन उफ्रिने ? बैठकमा आए भैगो नि ! छलफल गरौंला,’ ओलीले भने, ‘मलाई त अध्यक्ष र साधारण सदस्यबाटै निकालेका थिए, हामीले कसैलाई निकालेका छैनौं ।’

कतिपय नेताको वक्तव्यबाजीमा केपी ओलीलाई ठेगान लगाउन एमालेमा फर्किएको सुनिएको बताउँदै ओलीले भने, ‘केपी ओलीलाई ठेगाना लगाउन आउनुभयो भने तपाईंका खुट्टामा बाटोमै ठेस लाग्छ, पार्टी बनाउन आउनुस् ।’

उनले ताजा जनादेशमा जाँदा लोकतन्त्र मासिन्छ र संविधान च्यातिन्छ भन्नेहरूले डेढ वर्ष पछिको चुनावमा धुलो चाट्ने टिप्पणी गरेका छन् । ताजा जनादेशमा जान हिम्मत नभएकाहरूले चुनावको विरोध गरेको उनले बताए ।

‘चुनाव भयो भने संविधान मासिन्छ, संविधान च्यातिन्छ रे, डेढ वर्षपछि त चुनाव हुन्छ । लोकतन्त्रको आयु डेढ–दुई वर्ष हो त ? चुनावमा जाँदा संविधान च्यातिन्छ ? नक्कली लोकतन्त्रवादीहरू । यो देश अगाडि बढ्यो चुनावमा जान्यो भने यिनीहरूले धुलो चाट्छन्, चुनावमा जाने आँट छैन,’ ओलीले भने । 

प्रधानमन्त्री ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालको नाम नलिई देशमा विकासको लहर चल्दा कतिपयलाई छटपटी भएको टिप्पणी गरे ।

ओलीले नेता माधवकुमार नेपालमाथि व्यंग्य गर्दै एक जना अध्यक्षका लागि हिरिक्कहिरिक्क गरिराखेका बताएका छन् । उनले भने, एक जना अध्यक्षका लागि हिरिक्कहिरिक्क गरिराख्या छन्, अध्यक्ष भए अरे !’

सर्वाेच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले लड्डु बाँडेकोप्रति व्यंग्य गर्दै ओलीले भने, ‘सानो कुरा केही भयो भने अबीर जात्रा, लड्डु ! केको जात्रा हो ? केका लागि लड्डु खाएका हुन् ? के पाउँछन् ? हेर्दै जाउँला ।’

यस्तो तरिकाले आन्दोलन र देशलाई बर्बाद गर्ने ओलीले बताए । ‘यो तरिका आन्दोलनलाई बर्बाद गर्ने तरिका हो, देशलाई बर्बाद गर्ने तरिका हो । यसलाई चिर्दै आएका छौं, चिरेर छाड्नै छौं,’ उनले भने, ‘हामी आफ्नो निम्ति होइन, देश र जनताका निम्ति काम गरिरहेका छौं । सुशासन र समृद्ध नेपाल सुखी नेपालीको आकांक्षाका लागि काम गरिरहेका छौं ।’

नेताहरूले नयाँ प्रधानमन्त्री छान्न छलफल गरिरहेकोप्रति समेत ओलीले व्यंग्य गरे । ‘प्रधानमन्त्री तपाईंले खाइदिनुपर्‍यो भनेर निवेदन हाल्न जान्छन् । हामी निवेदन हाल्न जाँदैनौं । हामीबाहेक देशलाई सही नेतृत्व दिने न पार्टी छ, न कुनै नेता छ । कुनै नेताको भाषणमा विकासको कुरा सुन्नुभएको छ ? केपी ओलीलाई धारे हात मात्रै लाउँछन्,’ उनले भने, ‘झगडियाहरूको ताल कस्तो हुँदो रहेछ । दिनैपिच्छे सिग्नेचर अभियान चलेको छ । पार्टीका बैठकमा आउनु पर्दैन ? पार्टीमा बैठकमा नआउने, कार्की ब्याङ्केटमा भोज खान जो जो आयो, त्यसको हस्ताक्षर गरेर निर्वाचन आयोग जाने ।’

ओलीले विगत ३ वर्षमा सरकारले गरेका धेरै कामहरू एकछिनमा भन्न नसकिने बताए । ओलीले भने, सरकारले ३ वर्षमा गरेका काम, यतिधेरै कामहरू सरकारले गरेको छ, एकछिनमा भन्न सकिँदैन ।’

प्रधानमन्त्री ओलीले सरकार जनताप्रति बफादार रहेको बताए । ‘यस्तो जनताको सरकार, देशप्रति बफादार सरकार, देशभक्त सरकार, विकासको अभिभारा बोकेको सरकार । यसका निम्ति काम गरिरहेको सरकार,’ ओलीले भने, ‘शिक्षा, स्वास्थ्य, सामाजिक न्याय र समानताका क्षेत्रमा, ज्येष्ठ नागरिक, एकल महिला, बालबालिकाको सन्दर्भमा यसले गरेका कामहरू । अथवा समाजमा सरकारको तर्फबाट जनतालाई पुर्‍याउनुपर्ने सेवा र सुविधा पुर्‍याउने कामहरू । बाटाघाट, झोलुङ्गेपुल, राजमार्ग, पर्यटनलाई अगाडि बढाउने कुरा । यी सबै कुरा । कृषिको आधुनिकीकरणको सन्दर्भमा गरिएका कामहरू । युगान्तकारी कामहरू यस ३ वर्षमा भएका छन् ।’

पार्टी र सरकारमा बाधा हुँदा पनि सरकारले थुप्रै काम गरेको बताए । ‘पार्टीमा भोग्नुपरेका बाधा, सरकारमा भोग्नुपरेका बाधा । देशलाई अन्धकारतिर धकेल्ने कुचेष्टा । मैले त्यतातिर जानु पर्दैन । यहाँहरू जानकार हुनुहुन्छ । खुट्टा तान्ने, घेराबन्दी गर्नेले हाम्रो विकासको गतिलाई रोक्न सकेनन्,’ ओलीले भने ।
सरकारले सही उद्देश्य लिएर कार्यान्वयन गरिरहेको उनले बताए । ‘हामीले समृद्ध नेपाल सुखी नेपालीको आकांक्षा तोकेका छौं, त्यो उद्देश्य साकार पार्न सही नीति, सही कार्यक्रम, सही योजना र उपयुक्त कार्यान्वयन साथ अघि बढिरहेका छौं । नेपाल अगाडि बढ्ने नै भयो,’ उनले भने, ‘हाम्रो विकासको गतिलाई कोभिडले पनि रोक्न सकेन, खुट्टा तान्ने, घेराबन्दी गर्नेले हाम्रो विकासको गतिलाई रोक्न सकेनन् ।’

ओलीले केही दिनमा मेलम्चीको पानी काठमाडौंका धाराधारामा आउने बताए । ‘मेलम्चीको पानी काठमाडौं खसाल्यौं, बागमतीमा बगिरहेको छ, केही दिनमा धाराधारामा पानी बाँड्दैछौं,’ उनले भने, ‘नौबिसे २६ किलोमिटर थियो, अब ४ किलोमिटर हुँदैछ, सुरुङ मार्ग बन्दैछ ।’

salt training

कमेन्ट गर्नुहोस्