सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले ताजा जनादेशले मात्रै मुलुकलाई निकास दिने बताएका छन् ।
प्रेस चौतारी नेपाल वाग्मती प्रदेश भेलालाई शनिवार काठमाडौंमा सम्बोधन गर्दै उनले अहिले राजनीतिक गठजोडले मुलुकलाई निकास दिन नसक्ने भन्दै ताजा जनादेश नै उपयुक्त हुने बताए ।
उनले २ वा २ भन्दा बढी राजनीतिक दलसँग मिलेर बनेको सरकारले स्थायित्व दिन नसक्ने भएकाले ताजा जनादेश नै एक मात्र विकल्प भएकामा जोड दिए ।
‘गठजोडबाट सरकार टिकाउनु मात्र ठूलो होइन,’ उनले भने, ‘मुलुकलाई राजनीतिक स्थायित्व सहितको समृद्ध नेपाल र सुखी नेपाली बनाउनु ठूलो कुरा हो ।’
उनले ताजा जनादेशले पार्टीको संगठनलाई पनि मजबुद बनाउने धारणा राखे । मन्त्री गुरुङले श्रमजीवी पत्रकारका हकका मुद्दा कार्यान्वयन गर्न सञ्चार गृहलाई आग्रह गरे । उनले पार्टीभित्र देखिएको विवाद समाधान गर्न नै आगामी चैत ७ गते केन्द्रीय कमिटीको बैठक बोलाइएको बताए ।
‘सरकार, पार्टी नेतृत्व र कम्युनिस्ट आन्दोलनलाई नै समाप्त पार्न खोजिएकाले बैठक बोलाइएको हो,’ उनले भने, ‘बैठकले पार्टीलाई एक ढिक्का बनाउने छ ।’
उनले पार्टीमा कसैलाई पनि कारवाही नगरिएको समेत स्पष्ट पारे । उनले पार्टी भित्रबाटै सरकारलाई असफल बनाउन लागेको समेत बताए ।
प्रेस चौतारीका इन्चार्ज एवं केन्द्रीय सदस्य राजेन्द्र गौतमले पत्रकारका मुद्दालाई सरकारले सम्बोधन गर्ने बताए । नेकपा एमाले वाग्मती प्रदेशका अध्यक्ष आनन्द पोखरेलले सर्वोच्च अदालतको निर्णयपछि एमाले एकताबद्ध भएको बताए ।
चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले श्रमजीवी पत्रकार पक्षमा चौतारीले सबैसँग हातेमालो गर्ने बताए । सामुदायिक रेडियो प्रसारक संघका नवनिर्वाचित अध्यक्ष अर्जुन गिरीले सामुदायिक रेडियोलाई दीगो बनाउन सरकारले पहल गर्नुपर्ने धारणा राखे ।