०४ असार २०८३, बिहीबार

गहुँ फाँडेर खनेका सडक वर्षौदेखि अलपत्र

चैत १, २०७७
गहुँ फाँडेर खनेका सडक वर्षौदेखि अलपत्र
तस्वीर सौजन्य : राजधानी दैनिक

स्थानीय तहमा निर्वाचित भएपछि स्थानीय स्तरमा सडक निर्माण कार्यलाई प्राथमिकता दिइयो ।

कालिकोटका लागि सडक नै पहिलो आवश्यकता रहेको पनि थियो । नौओटा स्थानीय तह रहेको कालिकोटमा खाँडाचक्र नगरपालिका र तिलागुफा नगरपालिका मात्र कर्णाली राजमार्गसँग जोडिएका थिए । बाँकी सात वटा स्थानीय तह स्थानीय सरकार आउँदासम्म कतै पनि सडक सञ्जालले छोएका थिएनन् ।

सिंहदरबारको अधिकार गाउँमा आएको जनतालाई महसुस गर्न यहाँका सबै स्थानीय तहले सडक खन्नमै पहिलो प्राथमिकता राखेर धमाधम स्काभेटरमार्फत गाउँगाउँमा सडक निर्माण सुरु गरे ।

अहिले बजेट अभाव, राजनीतिक खिचातानी, स्थानीयको अवरोध र खनिएका सडकको स्तरोन्नति गर्न नसकेर यहाँका ग्रामीण क्षेत्रका सडक वर्षौंदेखि अलपत्र अवस्थामा रहेका छन् । रास्कोट नगरपालिका–६ रोहोटेदेखि वडा नम्बर–१ को पोद्मारा सडकसम्म जोड्ने तल्लो सडक जिल्लाकै एक उदाहरण हो ।

गत वर्षको वैशाख महिनामा नगरपालिकाले आफ्नै स्काभेटर (डोजर)मार्फत पाक्नै लागेको गहुँ र जौ बाली फाँडेर सडक खन्न सुरु गरेको थियो । रास्कोट नगरपालिका–२ का गौरी सिम्खाडाले भने, ‘घरको आँगनमै सडक पुग्यो भने पिठ्युमा भारी बोक्ने नपर्ला, गाडीबाटै घरको आगँनमै ओर्लौंला, गाडी चले सडकमै बसेर केही व्यापार व्यावसाय गरी जीविका चलाउने सोचले पाक्न लागेको बाली नाश गरेर सडक खन्न दिइयो । अहिले न बाली लगाउन पाइन्छ, न त सडक नै बनेको छ ।’
नगरपालिकाले जग्गाको मुआब्जा पनि दिएको छैन । ‘विकास देखाउने हतारोले गरिबको हरियो अन्नबालीसहितको जमिनमा डोजर चलाउन आवश्यक थिएन भन्ने अहिले बुझियो,’ उनले भने ।

आफ्नो जग्गामा डोजर चलाउन दिएका गौरी मात्र होइन, स्थानीय मणि सिम्खाडाले पनि नगरपालिकाले आफ्नो रोजीरोटी खोसेको आरोप लगाए । ‘खेतीयोग्य जमिन भनेकै यही यो । यही जमिनमा सडक खन्न दियौं । अहिले न गाडी आयो नत खेती नै । डोजरले सडक खनेपछि बाँकी रहेको जग्गा पनि पहिरोले लगिरहेको छ,’ उनले भने ।

खेतीयोग्य जमिनमा डोजरले सडक खन्दा, नगरपालिकाका, गौंतु, पुछडेबाडा, चुडीमुल, रावलबाडालगायतका क्षेत्रमा गत वर्ष साउनको अविरल वर्षाल पहिरोसमेत गयो । १५ किलो मिटर सडक खनिसकिएको तर एक किलो मिटर सडक निर्माण गर्न मात्र बाँकी रहेको नगरपालिकाले जनाएको छ ।

केही स्थानीयको अवरोधका कारण सडक अधुरै रहेको नगर प्रमुख काशीचन्द बरालले बताए । स्थनीय जग्गा धनीसँग सहमति गरेर सडक निर्माण सम्पन्न गरी छिटै गाडी सञ्चालनमा ल्याउने मेयर बरालको भनाइ छ । राजधानी दैनिकमा विश्वनाथ सिम्खाडाले खबर लेखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्