म्यान्मारमा लोकतन्त्रको समर्थन गर्दै भइरहेका विरोध प्रदर्शनलाई बन्दूकको बलमा दमन गर्ने काममा सेना लागेको छ ।
मान्डलेमा प्रदर्शन गरिरहेकी १९ वर्षीया एन्जललाई सुरक्षाकर्मीहरूले गोली हानी हत्या गरेकोमा उनको लाशलाई सेनाले चिहानबाट झिकेर चिहानमा सिमेन्ट भरिदिएको छ ।
एन्जलको वास्तविक नाम क्याल सिन थियो । मृत्युपछि उनलाई मान्डलेमै एक चिहानमा गाडिएको थियो । सेनाले उनको मृत्युको कारण पत्ता लगाउने भन्दै चिहानबाट लाश निकालेको हो ।
त्यसपछि सेनाले चिहानमा सिमेन्ट भरिदिएको थियो । चिहानमा राखिएको फूलमा सिमेन्टको मोटो स्ल्याब राखिएको थियो ।
त्यतिले मात्र नपुगेर गाउन र रक्तरञ्जित स्ल्याबलाई पनि चिहानमाथि नै फ्याँकिएको थियो ।
एन्जललाई ११ दिनअघि सुरक्षाकर्मीले हत्या गरेको हो । मार्च ४ मा उनको अन्तिम संस्कार गरिँदा हजारौं मानिस सहभागी भएका थिए ।
पछि एक दिन साँझपख लगभग २० जना मानिस आएको र बन्दूक देखाएर चिहान खोल्न लगाएको प्रत्यक्षदर्शीहरूले बताएका छन् । एन्जलको मृत शरीर निकालेर चिहान फोहर पारेर सेना त्यहाँबाट गएको थियो ।
एन्जलले माण्डले प्रदर्शनमा भाग लिँदा एउटा टीशर्ट लगाएकी थिइन् जसमा लेखिएको थियो– ‘सबैकुरा ठीक हुनेछ ।’