फागुन १, २०८०
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
जनजीवनका सबै क्षेत्रलाई आक्रान्त पारेको कोभिड–१९ ले शिक्षा क्षेत्र सबैभन्दा बढी प्रभावित भयो । विश्वभर मानव गतिविधिलाई स्तब्ध पारी मानव सभ्यतामाथि धावा बोल्ने महामारीबाट शिक्षा किन पनि बढी प्रभावित भयो भने विद्यालय जस्ता सिकाइस्थलहरू स्वभावैले बढी जमघट र भीडभाड हुने स्थान हुन् ।
कमजोर शैक्षिक तथा प्राविधिक पूर्वाधार भएको नेपाल यसबाट अछुतो रहने कुरै भएन । २०७६ चैत्र ५ गतेको संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको निर्णयपछि सम्पूर्ण शैक्षिक अनुष्ठानहरू बन्द भए । सम्पूर्ण तयारी पूरा गरी सञ्चालनको क्रममा रहेको कक्षा दशको परीक्षा पनि हुन पाएन । सबै तहका गरी नब्बे लाख भन्दा बढी विद्यार्थीहरू विद्यालय/क्याम्पसबाहिर पुगे, घरभित्र बन्द भए तर जोखिममुक्त हुन सकेनन् । २ लाखभन्दा बढी शिक्षक शिक्षिका र कर्मचारीहरू, सयौं शैक्षिक परामर्श तथा तालिम केन्द्रहरू बन्द भए ।
उद्योग, कलकारखाना, उत्पादन तथा सेवा स्थल र आवतजावतका माध्यम बन्द हुनुभन्दा पनि शैक्षिक अनुष्ठान बन्द हुनुले दुई विशिष्ठ अर्थ उजागर गर्न पुग्यो । पहिलो, शिक्षालयहरू सबैभन्दा संवेदनशील मानिन्छन् । स–साना बालबालिकादेखि युवा विद्यार्थीहरू आ–आफनै स्तरमा भविष्य निर्माणका प्रक्रियामा आबद्ध रहन्छन् । उनीहरूको शिक्षा, सीप र सामर्थ्य विकासले नै आज समृद्ध बन्ने हो ।
दोस्रो, विद्यार्थीहरूमा रहने चुलबुलेपना, जान्ने कौतुहल, कुनै कुराको हुटहुटी बन्द हुँदा भविष्यको बाटो स्वतः छेकिन्छ तर कुण्ठा र निराशाको सम्भावना भने विस्तारित रूपमा खुल्न पुग्दछ । यी दुबै अर्थमा विद्यालयहरू बन्द हुँदा समाजको गति नै रोकिएको महशुस हुने नै भयो ।
तर जीवनभन्दा ठूलो कुरा केही नभएकोले जीवन पहिलो र त्यसपछि मात्र शिक्षा भन्ने सोचअनुरूप ३६ हजार प्रारम्भिक बाल विकास केन्द्र, ३५ हजार विद्यालय, ११ विश्वविद्यालय र चार मानित विश्वविद्यालयका १४३२ कलेजहरू, ११६७ प्राविधिक शिक्षालय लगायत सबै सिकाइस्थलहरू एकसाथ ठप्पपछि सयौं विद्यार्थी भाइबहिनीहरू घरभित्र नै कुलतमा फस्न पुगे, कतिपय डिप्रेसनमा पुगे भने घरायसी श्रम र हिंसाका पीडा सहन बाध्य भए । यस विषयमा स्वयं पीडितहरूको बोली त्यति उठाइएन, केबल विज्ञ भनेकाहरूकै आवाज र सुझावहरूले महत्त्व पाए, जुन सधैँझैँ वास्तविकताभन्दा उनीहरूकै जीविकाका कुरा थिए । जेहोस्, नेपालको शैक्षिक इतिहासमा अकल्पनीय कालो बादल देखियो । जुन हाम्रो पुस्ताले अब पनि फेरि देख्न भोग्न पक्कै परोइन ।
अभिभावकहरू दोहोरो चिन्तामा थिए । आफ्ना सन्ततिको शैक्षिक सत्र त्यत्तिकै हराउला भन्ने पहिलो चिन्ता थियो भने स्वास्थ्य जोखिम र कुलतबाट सन्ततिलाई कसरी सुरक्षित राख्ने भन्ने अर्को चिन्ता थियो । त्यसो त विद्यार्थी भाइबहिनीहरू पनि चिन्तामा नै थिए । आफ्नो जीवनको एक वर्ष बित्थामा त्यत्तिकै हराउने त होइन ? यदि त्यसो भयो भने जीवनमा त्यो एक वर्ष कहाँबाट पाउने ?
चैत्रदेखि नै शिक्षालयहरू बन्द भएकाले एक प्रकारको अन्यौल र सन्नाटा छँदै थियो । ४६ जति मुलुकहरूले शैक्षिक वर्ष व्यवस्थापन गर्न नसकी क्षति व्यहोरिसकेका थिए । विकसित मुलुकहरू झनै प्रभावित भएकाले त्यसको मनोत्रास पनि हामीमा थियो । सिकाइ स्थलहरू क्यारेन्टाइन र आइसोलेसन केन्द्रमा परिणत थिए ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय भने शैक्षिक सत्र व्यवस्थापन र जोखिम न्यूनीकरण कसरी गर्ने भन्नेमा अहोरात्र खटिरहेको थियो । शिक्षा मन्त्री र धेरै कर्मचारीहरू कोभिड संक्रमणमा पर्दा पनि भर्चुअल माध्यमबाट मन्त्री, सचिव, सहसचिव, महानिर्देशक, उपकुलपतिहरू लगायत कर्मचारीहरू स्थानीय तह, प्रदेश सरकार र शिक्षा सम्बद्ध पात्रहरूसँग निरन्तर छलफल र गृहकार्यमा अहोरात्र खटिरहेका थिए ।
कक्षा दशको परीक्षा जिम्मेवारी सम्बन्धित विद्यालयलाई नै सुम्पिएको थियो । यसले विद्यालयहरूमा एउटा आशाको सञ्चार त गर्यो तर विद्यालयहरूमा परीक्षा सदाचारिता नदेखिएको गुनासो पनि ठूलो थियो ।
पछिल्ला दिनहरूमा राजनैतिक घटनाक्रमहरू पनि तीव्र हुदै जाँदा शैक्षिक व्यवस्थापन ओझेलमा पर्ला कि भन्ने चिन्ता सर्वसाधारणमा बढ्दै गएको थियो ।
शैक्षिक क्रियाकलाप बन्द भएको पाँच महिना पछि सरोकारवालाहरूको सुझाव समेतका आधारमा नेपाल सरकारले शिक्षा मन्त्रालय तथा सम्बद्ध निकायलाई विद्यार्थी भर्ना र कक्षागत शैक्षिक तथ्याङ्क तयारी, पाठ्यक्रमको बन्दोबस्ती, विद्यालय पुनसंरचना कार्यखाका तर्जुमा, विद्यालयहरूलाई आइसोलेसन तथा क्यारेन्टाइनबाट मुक्त बनाउन, विद्यार्थी प्रतिकूल हुनेगरी कोभिड रोकथाम र नियन्त्रण कार्य नगर्न र शिक्षकहरूलाई विद्यालयनजिक पुग्न निर्देशन दिएको थियो । यसले पर्ख र तयारी गर भन्ने सन्देश सम्बद्ध सबैलाई दिएको थियो ।
विद्यालयहरू बन्द भएको ६ महिनापछि मन्त्रालयले विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका र विद्यालय शिक्षा सम्बन्धी आकस्मिक कार्ययोजना कार्यान्वयनमा ल्यायो । विद्यालय पहुँचबाट टाढा रहेपनि सिकाइ गतिविधि सञ्चालन गर्न सकिन्छ भन्ने सन्देश दिइयो ।
आकस्मिक कार्ययोजनाले घरलाई नै सिकाइ केन्द्रको रूपमा विकास गर्ने, शिक्षक–विद्यार्थी सिकाइ मञ्चका रूपमा सीयूजी (क्लोज्ड युजर्स ग्रुप) बनाउने, वेब पोर्टल विकास गरी शैक्षिक तथा कक्षा सामग्रीहरू निःशुल्क राख्ने, इन्टरनेट सुविधा विस्तार, डेडिकेटेड टीभी तथा रेडियो च्यानलबाट कक्षा सञ्चालन, स्वाध्ययन नमूना सिकाइ सामग्री केन्द्र स्थापना, श्रव्य दृश्य सामाग्री उत्पादन, शिक्षक घरदैलो कार्यक्रम सञ्चालन लगायतका कामहरू मार्फत विद्यार्थीहरूलाई सिकाइ कार्यमा जोड्ने काम भयो ।
विश्वविद्यालयहरू वैकल्पिक प्रविधिको उपयोग र भौतिक दूरी कायम गरेर हाइब्रिड मोडमा सञ्चालन हुँदै थिए । तर कक्षा १२ को परीक्षा हुन नसकेका कारण नयाँ सत्रको भर्ना हुनसक्ने अवस्था थिएन । १२ को परीक्षा सञ्चालनका सन्दर्भमा शिक्षा मन्त्रालयले गृहकार्य गरिरहेको त थियो तर समाज यसको पक्ष विपक्षमा विभक्त थियो ।
अधिकांश अभिभावक, स्थानीय प्रतिनिधि, प्रदेश सरकारका सम्वद्ध पदाधिकारी, विद्यार्थीहरू परीक्षा सञ्चालनका पक्षमा सुझाव दिइरहेका थिए । तर केही परीक्षा जस्तो गतिविधि सञ्चालन गर्दा जोखिम बढ्न सक्ने, परीक्षास्थल नै कोभिड हब बन्न सक्ला कि भन्ने आशंका थिए । परीक्षा लिनै हुँदैन, त्यो जघन्य अपराध हुनसक्ने भन्ने मसिनो स्वर पनि सुनिएको र यसका लागि दबाब पनि देखिएको थियो ।
यस अवस्थामा परीक्षा कसरी लिने, कुन विधि अवलम्बन गर्ने, जोखिम बढेमा के गर्ने भन्ने विभिन्न विकल्पमा गृहकार्य भैरहेको थियो । आसन्न दशैं, तिहार तथा छठ जस्ता चाडबाड पछिमात्र परीक्षा सञ्चालन गर्ने र त्यसबाट सकारात्मक अवस्था देखिएमा विद्यालय सञ्चालन गर्न स्थानीय सरकार र सम्बद्ध पक्षका लागि कार्यखाका पनि जारी गर्ने तयारी साथसाथै भैरहेको थियो ।
नेपालजस्तो मुलुकका लागि ४३३१८० विद्यार्थीहरूलाई ४१०५ स्थानमा जनस्वास्थ्य प्रोटोकल र अन्य सुरक्षा सावधानी अपनाएर परीक्षा सञ्चालन गर्ने काम निकै चुनौतीपूर्ण थियो । अन्ततः सुरक्षा निकाय, स्थानीय प्रशासन, स्थानीय सरकार र अग्रपंक्तिमा रहेर विद्यालयका शिक्षक साथीहरूले देखाएको साझा उत्साहले १२ को परीक्षा मंसिर ९–१६ गतेसम्म सम्पन्न भयो । त्यो पनि निकै सामान्य रूपमा ।
कक्षा १२ को परीक्षा सामान्य रूपमा सञ्चालन गरेपछि यसले अरू दुई कुराको सन्देश दियो । अब स्वास्थ्य सावधानी अवलम्बन गरेर विद्यालय सञ्चालन गर्न सकिन्छ, अर्को विश्वविद्यालय तथा सीटीईभीटीतर्फका रोकिएका परीक्षाहरू पनि कक्षा १२ कै ढाँचामा सञ्चालन गर्न सकिन्छ ।
कोभिड जोखिम नभएका सीमित स्थानमा विद्यालयहरू लुकिछिपी खुलेकोमा माघ १ बाट सबै विद्यालयहरू जनस्वास्थ्य सावधानी र स्वास्थ्य मन्त्रालयले जारी गरेको प्रोटोकलको आधारमा सञ्चालनमा आए । स्थानीय तहहरू यसअघि नै अल्टरनेट रूपमा, आलोपालो गरेर कक्षा सञ्चालन गर्ने पक्षमा थिए । साथै कोभिड महामारी लोकलाइज्ड गर्ने विषयले पनि महत्त्व पाउन थाल्यो ।
तर शैक्षिक सत्र कसरी व्यवस्थापन गर्ने, पाठ्यभार समायोजन कसरी गर्ने र कक्षा १० मा विद्यार्थी स्थानान्तरण कसरी गर्ने भन्ने विषयमा भन्ने विषयमा भएको गृहकार्यले अन्तिम रूप पाएको थिएन । सम्वद्ध पक्षहरूसँगको व्यापक छलफलपछि दुई वर्षलाई पहिलो शैक्षिक सत्र (चालु बर्ष) १४ महिना र दोस्रो (आगामी वर्ष) लाई दश महिनाको शैक्षिक सत्र कायम गर्ने, परीक्षा व्यवस्थापन राष्ट्रिय स्तरबाटै परीक्षा बोर्डले प्रदेशसँगको सहकार्यमा गर्ने र विद्यार्थी स्थानान्तरण पनि गर्ने विषयलाई मूर्तरूप दिन शिक्षा नियमावली समेत संशोधन गर्नुपर्ने बाध्यता थियो । सो काम पनि सम्पन्न गर्न सकियो ।
कतिपय मुलुकहरूले शैक्षिक सत्र व्यवस्थापन गर्न नसकिरहेको अवस्थामा र नेपालमै पनि यस विषयमा समवेत स्वर नभएको अवस्थामा पनि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यसलाई सफलतापूर्वक व्यवस्थापन गर्न सक्यो । यस सन्दर्भमा निष्कर्षमा पुग्नुअघि सार्क मन्त्रीस्तरीय भर्चुअल सम्मेलन, डिजिटल ह्याङआउट लगायत अन्तर्राष्ट्रिय अनुभव आदान–प्रदान गरिएको थियो ।
शैक्षिक पूर्वाधार र कमजोर प्रविधिस्तरका बावजुद पनि यस अवधिमा गरिएका कामहरू निश्चय नै उल्लेख्य छन् । बारम्बार सबैतिरबाट आलोचना खेप्दै आएकोमा शिक्षक साथीहरू र कमजोर मनोबलको शिक्षा प्रशासन सेवाका कर्मचारी साथीहरूले महामारी विपद् व्यवस्थापनमा देखाएको साहस अतुलनीय छ भने शैक्षिक पत्रकार सञ्जालले पनि निरन्तर पृष्ठपोषण गरी सही निष्कर्षमा पुग्न सघाउ पुग्यो ।
विपदको यस महामारीले अर्को शिक्षा पनि दिएको छ । त्यो के हो भने वैकल्पिक प्रविधिको उपयोग गरी सामान्यीकरणमा पनि सिकाइ गुणस्तर सुधार गर्न आवश्यक छ । यदि कोभिड–१९ को महाविपद आउँदैनथ्यो त वैकल्पिक प्रविधिको तयारीले तीव्रता पाउँदैनथ्यो । अब यो अमूल्य सम्पत्ति र सीपका रूपमा स्थापित भयो ।
अब शैक्षिक गतिविधि पुरानै लयमा फर्किएको छ, जुन पाँच महिनाअघि अनुमानसम्म गरिएको थिएन । शैक्षिक गतिविधिले लय पक्डिएकोमा विद्यार्थी, अभिभावक र शिक्षक एवं शिक्षा प्रशासक/व्यवस्थापक खुशी छन् । तर आम जनमानसले भन्न थालेको छ विपदको साहसिक व्यवस्थापन गर्ने काम जसरी नै समग्र शिक्षा सुधारले पनि यसैगरी गति लिए हुने नि !
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...