
प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मिलेर अघि बढ्न माधवकुमार नेपाल पक्षलाई आग्रह गरेका छन् ।
माधव नेपाल पक्षले भने फागुन २८ गते ओली पक्षले एकतर्फी ढंगले गरेको निर्णय बदर गर्नुपर्ने अडान राखेको छ ।
पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सोमवार भएको छलफलमा ओलीले मिलेर अघि बढ्न प्रस्ताव गरेका थिए । महाधिवेशनबाट निर्वाचित पदाधिकारीलाई जिम्मेवारीविहीन बनाउने तथा प्रदेश इन्चार्ज हेरफेर गर्ने निर्णय खारेज गर्न नेपाल पक्षले माग गरेको छ ।
बैठकपछि नेता रघुजी पन्तले कुराकानी सकारात्मक ढंगले भएको बताए । ‘दुवै पक्षले आफ्नो अडान राख्ने कुरा भयो, सकारात्मक ढंगले छलफल शुरू भयो,’ पन्तले भने ।
बैठकमा अध्यक्ष ओली पक्षबाट महासचिव ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, सुवास नेम्वाङ र प्रदीप ज्ञवाली लगायत नेताहरू सहभागी छन् । नेपाल पक्षबाट भीम रावल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, घनश्याम भुसाल, रघुजी पन्त लगायत नेताहरू सहभागी छन् ।
चैत्र ७ गतेका लागि बोलाइएको केन्द्रीय कमिटी बैठकको पूर्वसन्ध्यामा एमालेका शीर्ष नेताबीच छलफल भएको छ । प्रतिनिधिसभा विघटन भएपछि ओली र नेपालबीच यसरी औपचारिक छलफल भएको थिएन ।
फागुन २३ गते सर्वोच्च अदालतले नेकपा एकतालाई बदर गर्दै एमाले ब्युताइदिएपछि ओली र नेपाल पक्षबीच संवाद हुन सकेको थिएन ।
सोमवारको भेटवार्तापछि एमाले विवादमा ‘आइसब्रेक’ भएको ठानिएको छ ।