२० असार २०८३, शनिबार
'युरेनियम' प्रकरण

प्रहरीले दाबी गरेजस्तै बरामद भएकै हो युरेनियम ? के हो वास्तविकता ?

चैत २, २०७७
प्रहरीले दाबी गरेजस्तै बरामद भएकै हो युरेनियम ? के हो वास्तविकता ?

महानगरीय प्रहरी कार्यालय रानीपोखरीले ४ जनालाई पक्राउ गरी शुक्रवार सार्वजनिक गर्‍यो । उनीहरूको साथबाट साढे २ केजी युरेनियम– २३८ बरामद भएको जानकारी  पनि प्रहरीले पत्रकार सम्मेलनमा गरायो ।

पर्नेमा रामेछापको लिखु तमाकोशी– ५ का ४० वर्षीय नारायणसिंह तामाङ र ४० वर्षीया जानुका तामाङ, रामेछापकै २० वर्षीय प्रकाश चौहान र सिन्धुलीको सुनकोशी गाउँपालिका– ४ का २० वर्षीय मनोज न्यौपाने छन् ।

युरेनियम निकै बहुमूल्य वस्तु हो । आजको मितिसम्म नेपालमा युरेनियम पाइएको छैन । मुस्ताङमा युरेनियम खानी रहेको बताइए पनि त्यसमा पर्याप्त खोज तथा अन्वेषण हुन सकेको छैन ।

प्रहरीले फेला पारेको धूलो युरेनियम नै होला त भनेर निकै आशंका भइरहेको छ । नेपालमा युरेनियमको खपत र प्रयोग नहुने अवस्थामा कसरी युरेनियम यहाँ आइपुग्यो भन्ने खालका प्रश्नहरू उठेका छन् ।

तर प्रहरीले फेला पारेको युरेनियम– २३८ युरेनियमको कच्चा पदार्थ नै भएको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)का प्रवक्ता डा. सुरेशकुमार ढुङ्गेलले बताए । 

‘संसारमा गरिएका परीक्षणमा युरेनियम पाइने सबैभन्दा धेरै मात्रा हुने युरेनियम– २३८ हो, यसलाई प्रशोधन गरेर पूर्णरूपमा युरेनियम– २३५ बनाइन्छ,’ डा. ढुङ्गेलले लोकान्तरसँग भने, ‘हामीले प्रहरीले दिएको धुलोबाट उत्सर्जित विकिरणलाई अध्ययन गरेर यो युरेनियम हो भनेर प्रमाणित गरेका हौं ।’ 

नास्टले अहिले यसलाई विकिरण पद्धतिबाट मात्रै परीक्षण गरेको र त्यसमा युरेनियमको मात्रा कति भन्नलाई यसलाई केमिकल माध्यमबाट पनि परीक्षण गर्नुपर्ने डा. ढुङ्गेलले बताए । 

प्रहरीले ल्याएको स्याम्पलमा ‘रेडियोधर्मी पदार्थ पाइएको’ र ‘युरेनियम–२३८ रहेको’ भनी नास्टले पत्र पठाएको प्रवक्ता ढुङ्गेलले लोकान्तरलाई बताए ।

‘डटर न्युक्लाइड’को प्रकृति हेरेर युरेनियम छुट्ट्याएका हौं, यसमा प्रकृतिमा रहेको युरेनियम ‘मदर न्यूक्लाइड’को ९९.३ प्रतिशत युरेनियम २३८ मा पाइने भएकाले युरेनियम हो भनी पुष्टि गरेका हौ,’ प्रवक्ता ढुङ्गेलले लोकान्तरसँग भने, ‘अब यसमा कति युरेनियम छ भन्ने कुरा केमिकल परीक्षण गर्नुपर्छ ।’

नभएको नगरपालिका उल्लेख गर्दा आलोचना

प्रहरीले बाँडेको प्रेस विज्ञप्तिमा एउटा यस्तो त्रुटि देखियो, जसका कारण चौतर्फी आलोचना भयो । पक्राउ परेका चारमध्ये एकजना प्रकाश चौहान रामेछापको बागजोर नगरपालिका– ४ बस्ने भनेर प्रहरीले विज्ञप्तिमा उल्लेख गरेको थियो ।

यद्यपि रामेछापमा बागजोर नाम गरेको कुनै नगरपालिका छैन । पुष्टिविनै ठेगाना लेख्दा प्रहरीले आलोचना खेप्नुपरेको छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरि पाल हतारमा ठेगाना लेख्दा मानवीय त्रुटि भएको बताउँछन् ।

‘हतारमा प्रेस रिलिज बनाउँदा केही मानवीय त्रुटि भएको हो,’ एआईजी पालले लोकान्तरसँग भने । रामेछापको मन्थली नगरपालिका– ४ हुनुपर्नेमा अन्यथा भएको एआईजी पालले स्वीकारे । 

कहिलेकाहीँ हतारमा काम गर्दा केही मानविय त्रुटि हुने भएकाले त्यसलाई अन्यथा लिन नहुने उनको भनाइ छ ।

यता पूर्व प्रहरी नायब महानिरीक्षक (डीआईजी) हेमन्त मल्ल ठकुरीले प्रहरी जस्तो संवेदनशील निकायले पुष्टि नगरिकन नै प्रेस रिलिज गर्न नहुने बताउँछन् । 

‘प्रहरी नेपालको अपराध अनुसन्धान गर्ने निकाय हो, यसलाई पुष्टि गरेर नै बाहिर ल्याउनुपर्छ,’ पूर्वडीआईजी मल्लले लोकान्तरसँग भने, ‘मौखिक सूचना दिँदा कहिलेकाहिँ मुखबाट फुस्किन सक्छ, तर प्रेस रिलिजमै गलत सूचना दिनु निकै गलत हो ।’

यो त्रुटिले प्रहरीले एक चरण परीक्षण गराएर दिएको युरेनियमको सूचनामा पनि आशंका जन्माएको छ । अहिले गरिएको आशंका प्रहरीले बेलाबेलामा दोहोर्‍याउने गल्तीका कारण पनि हो ।

बेला–बेलामा विनापुष्टि सूचना चुहाउँदा प्रहरी विवादमा तानिने गरेको छ । 

गत पुस १० गते काठमाडौंको नयाँ बसपार्कमा दोलखाका संयोग कार्की, सुवास तिमिल्सिनासहित ५ जनाको सुन ग्राहक बनेर आएका दीपक नेपालीको समूहले लुटेको सूचना प्रहरीलाई आयो । 

लगत्तै महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कका प्रहरी नायब निरीक्षक (सई) नवराज इटनीले सुन लुटेको आरोप लागेका सुर्खेतका दीपक नेपालीलाई पक्राउ गरेर महानगरीय प्रहरी वृत्त महाराजगञ्ज वृत्तपति डीएसपी रोशन खड्काको जिम्मा लगाए । 

सुन लुटेको प्रमाणित नभएको भन्दै डीएसपी खड्काले नेपालीलाई छाडिदिएपछि मात्र घटना बाहिरियो । घटना बाहिरिएपछि डीएसपी खड्का र सई इटनी विवादमा तानिए । 

पहिला ३० तोला सुन लुटिएको भनियो । तर पछि सुन नभएर मोबाइल लुटिएको भन्ने बयान लुटिएकामध्ये एकले दिएको भन्दै नेपालीलाई छाडेपछि छानविन समिति नै बनाउने गरि विवादमा तानिएको थियो ।  

गत साउन १३ गते काठमाडौंमा १५ किलो सुन बरामद भएको सूचना बाहिरियो । पछि जाँच गर्दा साढे १४ किलो सुनको जलप लगाएको चाँदी भएको प्रमाणित भयो । सुन आधा किलो मात्र थियो । 

महानगरीय प्रहरी वृत्त दरबारमार्गका प्रहरी जवान बहादुरसिंह कठायत र प्रसन्न श्रेष्ठले दरबारमार्गका तत्कालीन वृत्तपति रञ्जन दाहाललाई सुन आउँदै गरेको सूचना दिएका थिए । 

पछि त्यो सुन चाँदीमा परिणत भएपछि दाहाललाई वृत्तपतिको जिम्मेवारीबाट हटाइयो भने २ जना जवानलाई अनुसन्धानको दायरामा ल्याइयो । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका तत्कालीन एसएसपी सुशील यादवको नेतृत्वमा छानविन समिति गठन भयो ।

अनुसन्धानका क्रममा दोषी पाइएपछि जवानद्वय बहादुरसिंह र प्रसन्नलाई दुवैलाई जागिरबाट निष्काशन गरेको थियो । यो केशमा प्रहरीले विना पुष्टि सूचना बाहिर ल्याउँदा प्रहरी विवादमा तानिएको थियो ।  

अघिल्लो वर्ष पनि धादिङमा सुन भनेर बरामद गरेको ४ किलो धातु तामामा परिणत भएको थियो ।  

नेपालमा प्रायःजसो सुनको चोरी, तस्करी र बरामदका घटनाहरू बाहिरिरहन्छन् । कतिपय त वास्तविक सुन नै हुन्छ भने कतिपय सुन नभएको भनेर पछि अर्का सूचना दिइन्छ । यसले गर्दा प्रहरी समय समयमा विवादमा आइरहन्छ । 

कसरी सुन चाँदी हुन्छ ? किन प्रहरीले प्रमाणित नभइसकेका वस्तुलाई सूचना बाहिर ल्याउँछ ? किन पुष्टि नभइसकेका समाचार बाहिर ल्याउँछ बनेका  यी प्रश्नको जवाफ अझै अनुत्तरित छन् । 

किन यस्तो हुन्छ त ? यसमा प्रहरीको भूमिकालाई नै शंकाको नजरले हेर्नुपर्ने कतिपय बताउँछन् । मिलेमतोमा घटना सामसुम हुन्छ भन्ने आम धारण बनिसकेको छ । प्रहरीको तर्क भने छुट्टै छ ।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त कुँवरले तथ्य प्रमाणित नहुँदै सूचना बाहिर चुहिँदा यस्तो हुने गरेको बताए ।  

‘अहिले सामाजिक सञ्जालको जमाना छ । केही घटना हुँदा सबैभन्दा छिटो यसमै आउँछ, तर अनुसन्धानमा तथ्य प्रमाणित हुँदैन,’ एसएसपी कुवँरले लोकान्तरसँग भने, ‘यसलाई आधार मानेर समाचारहरू प्रकाशित हुँदा यस्तो भएको हो ।’ 

कतिपय अवस्थामा प्रहरी कर्मचारीको व्यक्तिगत स्वार्थले गर्दा पनि विना प्रमाण र तथ्यका सूचना बाहिर आएको र अनुसन्धानले प्रमाणित गरेपछिको तथ्य फरक पर्ने गरेको उनले बताए । 

‘हामीले अनुसन्धानपछिको तथ्यलाई प्रमाणित मान्ने हो । आखिर सत्य पनि त्यही नै हो,’ प्रवक्ता कुँवरले भने ।

salt training

कमेन्ट गर्नुहोस्