०६ साउन २०८३, बुधबार

नयाँ बजेट : आर्थिक पुनरुत्थान, रोजगारी सिर्जना र कृषिको विकासलाई प्राथमिकता

नयाँ बजेट : आर्थिक पुनरुत्थान, रोजगारी सिर्जना र कृषिको विकासलाई प्राथमिकता

अर्थ मन्त्रालयले चैत्र १५ गतेभित्रमा आगामी आर्थिक वर्षको बजेट प्रस्ताव गरिसक्न मन्त्रालयहरूलाई आग्रह गरेको छ ।

अर्थ मन्त्रालयका प्रवक्ता सुमन दाहालका अनुसार मन्त्रालयहरूले चैत्र १५ गतेभित्रमा अर्थ मन्त्रालयमा बजेट प्रस्ताव गर्नुपर्ने कार्यतालिका रहेको छ ।

सरकारका मुख्यसचिव, सचिवहरू, राष्ट्रिय योजना आयोगका सदस्यसहित अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७८/७९ को बजेट निर्माणका आधार र मार्गदर्शनबारे जानकारी गराउँदै पूर्व निर्धारित समयमा सिलिङ्गभित्र रहेर बजेट प्रस्ताव गर्न आग्रह गरेको छ ।

कार्यक्रममा अर्थ मन्त्रालयले आर्थिक पुनरुत्थान र रोजगारी सिर्जना, ठूला पूर्वाधार आयोजना कार्यान्वयनमा निरन्तरता, कृषि क्षेत्रको विकास, सामाजिक विकासमा निरन्तर लगानी, क्षेत्रगत र प्रादेशिक सन्तुलन र दीगो विकास लक्ष्यलाई बजेट निर्माणका मुख्य आधारका रूपमा प्रस्तुत गरेको छ ।  

बजेट निर्माणका मार्गदर्शनहरूमा दीर्घकालीन नीति, आवधिक योजना, वार्षिक नीति तथा कार्यक्रम र बजेटबीच अन्तर आबद्धता कायम गर्ने, अनिवार्य दायित्वमा पुग्दो रकम प्रस्ताव गर्ने, पूर्व सहमति दिइएका विषयमा दायित्व अनुमान गरी सिलिङ्गभित्र विनियोजन प्रस्ताव गर्ने लगायत छन् । 

बजेट निर्माण सम्बन्धी मुख्य मार्गदर्शनहरूः
 
– अनिवार्य दायित्व र स्रोत सहमति दिइएका विषयहरू सिलिङ्ग समावेश गरेपछि मात्र अन्य आयोजना र कार्यक्रममा बजेट प्रस्ताव गर्ने ।
 
– मध्यकाीलन खर्च संरचना तयार गरी बजेट पेश गर्नुपर्ने । उपलब्धि सूचकहरू स्पष्ट रूपमा उल्लेख हुनुपर्ने । 

– आयोजना वर्गीकरण सम्बन्धी मापदण्डमा आधारित भएर मात्र आयोजना प्रस्ताव गर्ने । 

– बहुवर्षीय ठेक्का सम्बन्धी मापदण्ड बमोजिम बहुवर्षीय ठेक्का लगाउनुपर्ने आयोजनाको लागि मापदण्डबमोजिम पुग्दो बजेट विनियोजन हुनपर्ने । 

– खर्च सम्बन्धी क्रियाकलापमा नै तयारी साथ बजेट प्रस्ताव गर्ने ।

– बहुवर्षीय ठेक्का सम्बन्धी मापदण्ड बमोजिम बहुवर्षीय ठेक्का लगाउनुपर्ने आयोजनाको लागि मापदण्डबमोजिम पुग्दो बजेट विनियोजन हुनपर्ने । 


– खर्च सम्बन्धी क्रियाकलापमा नै तयारी साथ बजेट प्रस्ताव गर्ने ।
 
– नयाँ कार्यक्रम प्रस्ताव गर्दा मोडालिटीमा स्पष्टता भएर मात्र बजेट प्रस्ताव गर्ने । 

– ठूला र रणनीतिक महत्त्वका आयोजनालाई उच्च प्राथमिकतामा राख्ने । 

– वित्तीय हस्तान्तरणमार्फत सञ्चालन हुने कार्यक्रममा प्रदेश र स्थानीय तहलाई शुरू विनियोजनबाटै हस्तान्तरण प्रस्ताव गर्ने । 

– तयारी सम्पन्न नभएका आयोजनामा बजेट प्रस्ताव नगर्ने । नयाँ आयोजनाको अध्ययनका लागि बजेट प्रस्ताव गर्ने । 

– दीगो विकास, लैंगिक र जलवायू परिवर्तनका सूचकहरूमा क्रियाकलापमा नै कोडिङ गर्ने । 

– सशर्त अनुदानतर्फका प्रदेशबाट कार्यान्वयन गरिने आयोजना र कार्यक्रममा सम्बन्धित क्षेत्रगत मन्त्रालयसँग छलफल गरिने ।
 
– ५० करोडभन्दा बढी लागतका आयोजना परियोजना बैंकमा समावेश भएको हुनुपर्ने । 

– चालू आर्थिक वर्षको कार्यसम्पादनलाई बजेट छलफलको आधार बनाइने ।
 
– चालू वर्षमा सिर्जित दायित्व सकेसम्म अर्को वर्ष नसार्ने ।
 
– आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन र नियमावलीका विषयमा लेखा उत्तरदायी अधिकारीले जिम्मेवारी लिनुपर्ने ।
 
– सार्वजनिक खर्चमा मितव्ययिता सम्बन्धी मापदण्डको पालना गर्ने । 

– कार्य सञ्चालन खर्चमा सकभर बजेट वृद्धि प्रस्ताव नगर्ने । 

– भौतिक प्रगतिको अनुमान गरेर मात्र बजेट छलफलमा पठाउने । 

– बजेट वक्तव्यमा समावेश गर्ने विषयको मस्यौदा तयार गरी पठाउने । आर्थिक सर्भेक्षण र वार्षिक प्रतिवेदनका लागि आवश्यक तथ्यांकहरू समयमा नै पठाउने । 

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा. कृष्णप्रसाद ओलीले बजेट निकासामा अर्थ मन्त्रालय थप सरलीकृत गर्न जरुरी रहेको बताए ।

मुख्यसचिव शंकरदास बैरागीले बजेटमा रचनात्मक छलफलबाट कार्यान्वयनमुखी बजेट आउने बताए । उनले बजेट कार्यान्वयन म्याट्रिक्स बनाउन पनि जरुरी रहेको धारणा व्यक्त गरे ।

अर्थ सचिव शिशिरकुमार ढुंगानाले कार्यक्रमको राम्रोसँग विश्लेषण गरी बजेट प्रस्ताव गर्न जरुरी रहेको उल्लेख गर्दै सिलिङलाई प्रभावकारी बनाउन आग्रह गरे ।

राजस्व सचिव रामशरण पुडासैनीले आवश्यकताका आधारमा बजेट बनाउनु पर्ने भन्दै राजस्व बढाउने कार्यक्रमलाई पनि ध्यान दिन जरुरी रहेको बताए ।

अर्थमन्त्रीका आर्थिक सल्लाहकार डा. प्रकाशकुमार श्रेष्ठले एकातिर बजेट खर्च भएन भन्ने र अर्काेतिर स्रोत पुगेन भन्ने जस्ता विरोधाभाष हटाउने गरी काम गर्नुपर्ने बताए ।

बजेट तथा कार्यक्रम महाशाखा प्रमुख धनीराम शर्माले चालू आर्थिक वर्षको कार्यसम्पादनलाई पनि आधार बनाउनुपर्नेमा जोड दिँदै मितव्ययिता सम्बन्धी मापदण्ड पालना गर्न आवश्यक रहेको बताए ।

कार्यक्रममा सचिवहरूले संघ, प्रदेश र स्थानीय तहको बजेटमा समन्वय हुनुपर्ने, नीति तथा कार्यक्रम र बजेटबीच तालमेल हुनुपर्ने, दोहोरोपन हटाउनुपर्ने, प्राथमिकता निर्धारण गर्नुपर्ने लगायतका सुझाव दिएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्