१९ असार २०८३, शुक्रबार

धोकेबाज पति, जसले इन्डोनेसियाकी तितिकलाई जनकपुरमा अलपत्र पारे

कात्तिक २०, २०७४
धोकेबाज पति, जसले इन्डोनेसियाकी तितिकलाई जनकपुरमा अलपत्र पारे

जनकपुरधाम, ९ जेठ– इन्डोनेसियाकी एक महिला जनकपुरमा अलपत्र परेकी छन् । जनकपुरमा घर भए पनि भाडाको कोठामा बस्न बाध्य भएकी छन् । तितिक इस्तीयानी नाम गरेकी इन्डोनेसियाकी ति महिलालाई जनकपुरका संजीव चौधरीले विहे गरेर नेपाल ल्याएर अलपत्र पारेका छन् ।

सप्तरी हरिहरपुर गाविस ३ बस्ने संजीव करिब १० बर्ष अघि इन्डोनेसियाकी नागरिक तितिकसँग विहे गरेर नेपाल ल्याएका थिए । अहिले घरबाट निकाला गरिदिएपछि तितिक न्यायका लागि भौतारिरहेकी छन् । नेपाली नागरिक भईसकेकी उनी जनकपुरमा एक्लै बस्न बाध्य भएपछि सम्बन्धित सरोकारबालाहरुसँग न्याय दिलाई दिन गरिरहेकी छन् ।

तितिकको कथा

तितिक इस्तियानी (नेपाली नामः संजना चौधरी)


तितिक इन्डोनेसियामा रहेका आफ्ना आमा बुवा तथा भाई बहिनीहरुको परिवार पाल्नका लागि बैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुगेकी थिईन । करिब १६ वर्षसम्म उनले मलेसियामा रोजगारी गरिन् ।

सप्तरी हरिहरपुर गाविस ३ तथा हाल जनकपुर ७ का बासिन्दा बस्ने नकुल चौधरीका छोरा संजीव पनि बैदेशिक रोजगारीका लागि मलेसिया पुगेका थिए । संजिव र तितिक मलेसियाको दुई अलग अलग कम्पनीमा काम गर्थे ।

त्यहाँ दुवै जनाको प्रेम भयो । संजिव हिन्दु धर्मावलम्बी र तितिक मुस्लिम धर्मावलम्बी थिए । दुई अलग अलग धर्म र देशका नागरिक रहेका ती दुवै जनाबीच प्रेम हुनु स्वाभाविक नै होला । तर, अर्को रोचक कुरा के भने तितिक संजिवभन्दा ९ बर्ष जेठी थिइन । तैपनि संजिवले विहे गर्ने तितिकसामु प्रस्ताव राखेका थिए ।

नेपाली हिन्दु नागरिक भएकोले आफ्नो बाबुआमासँग मागेमा मात्रै आफूले विहे गर्न सक्ने कुरा तितिकले संजीववलाई सुनाएकी थिइन् । त्यसपछि संजीव तितिकले भनेझैं तीन महिने भिसा लगाएर इन्डोनेसिया गए ।

तितिक मुस्लिम धर्म मान्ने महिला भएकोले मुस्लिम परम्परा अनुसार नै इन्डोनेसियामा विहेवारी भयो । रोचक कुरा के भने संजीवले विहे गर्दा धर्म पनि परिवर्तन गरे । प्रेममा परेको संजिवलाई धर्म, देश आदिको बन्धन तोड्न कुनै गाह्रो भएन । हिन्दुबाट मुस्लिम बनेका संजिवको नाम त्यहाँ सरिफ उमर अब्दुल्ला राखिएको तितिक सुनाउँछिन् ।

विवाहपछि संजिव मलेसियामा आफ्नो रोजगारमा फर्किए । केही दिन पछि तितिक गर्भवती भईन । छोरी जन्मिइन् । इन्डोनेसियामा जन्मिएका कारण छोरीको नाउ जहरा सयारिफा रामाधानी राखियो । त्यसपछि छोरी लिएर तितिक पनि आफ्नो पति संजीवलाई भेट्न मलेसिया पुगिन् । मलेसियाबाट संजीवले श्रीमती र छोरीलाई लिएर नेपाल आए ।

आफ्ना दुई छोरीहरुलाई स्कुलमा भेट्दै तितिक


छोराले लिएर आएकी बुहारी स्वीकार्नै पर्यो । संजिवका बुवा नकुल नापी कार्यालय धनुषामा अमिन छन् । संजिवको आमा सरस्वती चौधरी हिन्दु धर्मको प्रचारक हुन । त्यसकारण तितिकलाई पनि नेपालमा अलग्गै नाम दिइयो । तितिकको नाउँ संजना चौधरी राखियो । छोरीको नाउँ स्वस्तीका चौधरी राखियो ।

जनकपुरमा उनले फेरी अर्को छोरी पाईन । विनिता चौधरी कान्छी छोरीको नामाकरण गरियो । घरपरिवारले उनको नेपाली नागरिकताको प्रमाण पत्र, विवाह दर्ताको प्रमाण पत्र र छोरीहरुको जन्मदर्ता समेत बनाइदियो । जिल्ला प्रशासन कार्यालय सप्तरीबाट २० जेष्ठ २०६६ मा बैवाहिक सम्बन्ध विवाह दर्ता ऐन २०२८ बमोजिम संजिव कुमार चौधरी र तितिक इस्तियानी (संजना चौधरी) बीचमा विवाह भएको भनि विवाह दर्ता प्रमाण पत्र प्रदान गरियो ।

जिल्ला प्रशासन कार्यालय सप्तरीले सोही दिन तितिक इस्तियानीको नाउँमा बैवाहिक अंगिकृत नागरिकता समेत प्रदान गर्यो । १६१०३०/३१० उनको नागरिकता नम्बर हो । सप्तरीको हरिहरपुर गाउँ विकास समितिको कार्यालयबाट ११ पुष २०६४ मा जेठी छोरी स्वस्तीका चौधरी र २० फागुन २०६६ मा कान्छी छोरी बिनिता चौधरीको जन्म भएको भनि जन्म दर्ताको प्रमाण पत्र समेत बनाइयो ।

तितिकको नेपाली नागरिकताको प्रमाणपत्र 


सुरुमा घर परिवारमा उनी खुशीका साथ घुलमिल भएकी थिइन् । बुवा बिरामी भएपछि संजिवले उनको ठाउँमा नापी कार्यालय धनुषामा काम गर्न थाले । संजिवले काठमाडांैमा अमिनको तालिम लिएका थिए । ३ बर्ष पछि उनको बुवा ठिक भएर काम गर्न थाले ।

त्यसपछि संजिव काम विहिन भए । कामको खोजीका लागि संजिव फेरी काठमाडांै गए । यता घरमा श्रीमान नभएपछि सासु सरस्वती चौधरीले तितिकलाई दुख दिन थालिन् । तितिकले मुस्लिम धर्म त्याग गर्न सकेकी थिइनन् । शिव चर्चाको प्रवचन गर्ने सरस्वती चौधरीको घरमा उनकै वुहारीले कुरान पढ्न थालेपछि उनलाई रिस उठ्यो ।

घरमा कुरान किन पढेको भन्दै सासुले कैची लिएर आफ्नो टाउकोमा हानेपछि आफु घरबाट भागेर काठमाडौं श्रीमान संजिवकहाँ पुगेको तितिकले बताइन् । काठमाडांै पुगेपछि संजिवले तितिकलाई फेरी काठमाडांैबाट सप्तरीको मलेठमा कान्छी आमाकहाँ पठाइदिए ।

त्यसपछि संजिव वेपत्ता भए । अनि मलेठबाट निस्केर तितिकले संजिवलाई खोज्न थालिन् । तर, पत्तो लागेन । त्यसैबीच संजिवले कुर्थाकी एक महिलालाई भगाएर सँगै बस्न थालेको थाहा भयो ।

श्रीमान बैदेशिक रोजगारीमा रहेको बेला संजिवले ती महिलालाई भगाएका थिए । ती महिला पनि आफ्ना छोराछोरीलाई छोडेर संजीवसँग जनकपुर आएकी थिइन् । श्रीमान् फर्किपछि उनी पुरानै घर फर्किइन् । उता तितिक भने घरबाट निकालिएपछि विभिन्न कामहरु गर्दै आफ्नो जीवन गुजारा गर्न लागिन् ।

विहे हुनु अघि तितिकको इन्डोनेसियाको नागरिकता


नेपाली कांग्रेसका नेता प्रदिप गिरीले सिरहाको लहानमा संचालन गरेको आश्रममा केही महिना काम गरिन् । त्यसपछि जनकपुर स्थित डा. केपी सिंहको घरमा भान्सा पकाउने काम गरिन । जनकपुर स्थित विद्यापति बोर्डिङ स्कुलमा समेत केही महिना काम गरिन । यसरी विभिन्न ठाउँमा काम गर्दै छोड्दै जनकपुरमा भाडाको कोठामा उनी बस्न बाध्य भएकी छन् ।

सुरुमा धेरै अप्ठयारो भएपछि उनले इन्डोनेशियामा आफ्नो भाईलाई गुहार गरेर १ लाख ५७ हजार रुपैयाँ जनकपुरका एक जना स्वास्थ्यकर्मी मोहम्मद जाहिरको बैंक खातामा झिकाएकी थिईन । त्यो कुरा थाहा पाएपछि सासु ससुराले रकम माग्न थाले । तर नदिएपछि उनीहरु झन आक्रोशित भए ।

विहे हुनु अघि तितिकको इन्डोनेसियाको राहदानी (पासपोर्ट)


अहिले तितिक आफ्नै छोरीहरुसँग समेत बस्न पाएकी छैनन् । विद्यालय पुगेर मात्रै छोरी भेट्न पाउँछिन् । जनकपुरको प्यारागन स्कुलमा स्वस्तीका ५ कक्षामा र विनिता दुई कक्षामा पढिरहेकी छिन् । तितिकलाई न त श्रीमानको घरमा बस्ने अनुमति दिइएको छ, न त छोरीहरु नै आफ्नो साथम राख्न पाएकी छैनन् ।

तितिकलाई छोडेर अन्य महिलाहरुसँग अवैध सम्बन्ध बनाई हिँड्ने संजिव जनकपुरकै शिवचोकस्थित जानकी इलेक्ट्रोनिक्समा काम गर्छन् । संजिव पनि आफ्नो घर जाँदैनन् । छोरीहरुलाई हजुर आमा र हजुर बुवाले पालिरहेका छन् । तितिकका अनुसार एक पटक मोवाईलमा एसएमएस पठाएर तिमिलाई तलाक (सम्बन्ध विच्छेद) दिएको भनेर भनेपछि सम्पर्कविहिन भएका छन् ।

नापी कार्यालय धनुषामा अमिन पदमा कार्यरत रहेका तितिकको ससुरा नकुल चौधरी बुहारीलाई आफुले नराख्ने बताएका छन् । उनले आफ्नाु सम्पति छोराहरुलाई अंशबण्डा गरेर दिइसकेको बताए । यदि आफ्नो हक खोजेको भए श्रीमानबाट लिनुपर्छ भनेर नकुल तर्किएका छन् ।

अर्कोतर्फ तितिकका श्रीमान संजिवले आफुले कुनै हालतमा तितिकलाई नराख्ने बताउँदै सम्पत्ति र सम्बन्ध विच्छेदका लागि अदालत जानुपर्ने बताएका छन् । तर उनले आफ्नो सम्पत्तिको कुनैपनि हिस्सा तितिकलाई नदिने अड्डी कसेका छन् । तितिकका अनुसार उनका ससुराले अंश बण्डा गर्दा धेरै सम्पतिहरु लुकाएको र केही सम्पति मात्र आफ्नो छोराको नाउँमा भागबण्डा गरेकाले आफुले अंश पाउँदा पनि उचित अंश नपाउने गुनासो गरिन् ।

तितिकका अनुसार उनका सासु ससुरा तथा श्रीमान छोरीहरुलाई घरको जिम्मा छोडेर आफूलाई इन्डिोनेसिया फर्काउन चाहेका छन् । तर आफु अब नेपाली नागरिक भएकोले यही संघर्ष गरेर न्याय पाउने आशमा उनी नेपालमा बसिरहेकी छिन् ।

तितिकका श्रीमान संजिव चौधरी 


तितिकले आफुले न्याय पाउनु पर्ने भन्दै गुहार गरिरहेकी छिन् । तितिक भन्छिन, ‘मेरो पहिलो चाहना आफ्नो श्रीमान र बच्चाहरुसँग जीवन विताउने हो,’ उनले भनिन, ‘होइन भने मलाई सम्बन्ध विच्छेद गरेर अंशसहित विदा गर्नुपर्छ । छोरीहरु म आफै पाल्छु ।’ तर नेपालमा तितिकका कोही पनि नभएकोले उनले समस्या झेलिरहेकी छन् । अरुको घरमा भान्सा पकाई आफ्नो जीवन विताईरहेकी तितिक अदालतमा रुपैयाँको अभावमा मुद्दा समेत दर्ता गर्न पाईरहेकी छैनन् ।

चौधरी परिवारका छिमेकमा बस्ने स्थानीय पत्रकार ब्रम्हानन्द ठाकुर पनि तितिकमाथि चौधरी परिवारले कुटपिट गरेर घरबाट निकालिदिएको बताउँछन् । सबै जना मिलेर उनलाई घरबाट निकाली छोरीबाट समेत टाढा पारी अन्याय गरेको ठाकुर बताउँछन् । तितिक एक्लैलाई समस्या पर्ने भएकाले मानवअधिकारवादी संस्थाले उनलाई सहयोग गर्नुपर्ने ठाकुरको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्