०३ असार २०८३, बुधबार
युरेनियम प्रकरण

अपरेसन ‘युरेनियम– २३८’ : डीएसपी नेतृत्वको ‘टास्क फोर्स’ जब ग्राहक बनेर पुग्यो

चैत ३, २०७७
अपरेसन ‘युरेनियम– २३८’ : डीएसपी नेतृत्वको ‘टास्क फोर्स’ जब ग्राहक बनेर पुग्यो
तस्वीरमा बायाँतर्फ एआईजी हरिबहादुर पाल

करीब एक महिना अगाडिदेखि प्रहरीमा एउटा सूचना आयो– नेपालमा युरेनियम बिक्री गर्नका लागि ग्राहकको खोजी भइरहेको छ । किन्ने मानिसहरू पनि सक्रिय भएका छन् । 

पहिला महानगरीय प्रहरी कार्यालय मातहतका परिसर, वृत्त, प्रभागहरूमा त्यो सूचना प्रवाह भएको थियो । सत्यता के हो ? प्रहरी त्यसको खोजीमा लाग्यो । 

नेपालमा युरेनियमको खपत हुने कुरै थिएन । र धेरै महंगो पर्ने भएकाले यसको खरिदकर्ता नेपाली पनि हुने कुरा भएन ।

महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरिबहादुर पालले एउटा टास्क फोर्स बनाए । 

प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीको अनुमतिमा एआईजी पालले प्रहरी नायब उपरीक्षक (डीएसपी) को नेतृत्वमा प्रहरी निरीक्षक (इन्स्पेक्टर), प्रहरी नायब निरीक्षक (सई) लगायत ७ जनाको टोली बनाए । 

त्यो टोली  नेपालमा बिक्री हुन लागेको युरेनियम– २३८ को ग्राहक भएर जाने प्लानसहित अपरेसनमा खटियो ।

टोलीले रामेछाप लिखु तामाकोशी गाउँपालिका– ५ का ४० वर्षीय नारायणसिंह तामाङ र सोही गाउँपालिका घर भई काठमाडौंको बौद्धमा बस्ने ४० वर्षीया जानुका तामाङलाई सम्पर्क गर्‍यो ।

एक महिनाको अवधिमा टोलीले ग्राहक बनेर समय–समयमा भेटघाट गरेको थियो । आफूहरू ग्राहक भएको र युरेनियम किन्न पैसा भएको भान बनाउन लागि पर्‍यो । 

धेरै समयको भेटघाटपछि ग्राहक बनेर गएको टोलीले युरेनियम किन्न सक्ने विश्वास दिलायो । 

नारायणसिंह र जानुकासँगको भेटघाटपछि उनीहरूबीच डेढ अर्बमा साढे २ केजी युरेनियम किन्ने डिल भयो ।

प्रहरी टोलीले परीक्षण गर्नका लागि ‘स्याम्पल’ माग्यो, उनीहरूले दिए । त्यसलाई नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)को प्रयोगशालामा पहिलो चरणको परीक्षण गरायो । 

परीक्षणमा युरेनियम– २३८ भएको पुष्टि भएपछि उनीहरूले पहिलो किस्ताको रकम माग गरे ।

प्रहरीलाई उनीहरू पैसा लिएर बौद्ध आउन भने । प्रहरी झोलामा ३० लाख रुपैयाँ लिएर उनीहरूलाई भेट्न गयो ।

नास्टले प्रमाणित गरिसकेकाले प्रहरीले फागुन २७ गते शुक्रवार बिहान उनीहरू ४ जनालाई पक्राउ गर्‍यो । 

पक्राउ परेपछि पनि फेरि स्याम्पल परीक्षण गरायो । त्यो परीक्षणमा पनि युरेनियम– २३८ पुष्टि भएको नास्टका प्रवक्ता डा. सुरेशकुमार ढुंगेलले बताए । 

मुख्य नाइके नारायणसिंह ल्याबका विद्यार्थी

युरेनियम– २३८ बिक्री गर्न खोज्ने मुख्य नाइके नारायणसिंह तामाङ हुन्, उनी ल्याब असिस्टेन्टका विद्यार्थी भएको खुलेको छ । 

‘नारायणसिंह ल्याब असिस्टेन्ट रहेछन्, उनलाई युरेनियमबारे जानकारी रहेछ,’ आयुक्त एआईजी पालले लोकान्तरसँग भने, ‘अन्य २ जना खासै जानकार देखिएनन् । उनीहरू खान पाइन्छ कि भनेर आएको देखियो ।’

रामेछापको मन्थली नगरपालिका– ४ का २० वर्षीय प्रकाश चौहान र सिन्धुलीको सुनकोशी– ४ का २० वर्षीय मनोज न्यौपाने साथ लागेर आएको प्रहरीको भनाइ छ । 

घरको छुट्टै कोठामा लुकाइ राखिएको थियो युरेनियम

​प्रहरीले बरामद गरेको युरेनियम–२३८ बौद्धमा रहेको अमरसिंह लामा तामाङको घरमा एउटा छुट्टै कोठामा लुकाएर राखिएको अवस्था फेला परेको एआईजी हरिबहादुर पालले बताए । 

‘उनीहरू युरेनियमको बारेमा जानकार देखिन्छन्, घरको छुट्टै कोठाको एउटा कुनाको माथिल्लो भागमा राखिएको थियो,’ एआईजी पालले लोकान्तरसँग भने, ‘अमरसिंहकी बुहारी समेत रहेकी जानुका तामाङ पनि यसमा जानकार देखिन्छिन् ।’

कहाँबाट ल्याएको भन्ने पुष्टि गर्ने प्रयास गर्दै प्रहरी

कुनै बेला भारतमा खनिज खानीमा काम गर्ने अमरसिंहले २० वर्षअगाडि ल्याएको भनिएको युरेनियम कहाँबाट आएको भन्ने बारेमा उनीहरूसँग पुष्टि गर्न प्रहरीले खोजी राखेको छ । 

आयुक्त पालका अनुसार अमरसिंह प्यारालाइसिस भएर बोल्न नसक्ने अवस्थामा रहेको अमेरिकामा रहेकी उनी छोरीले बताएकी छन् । 

‘साँच्चै नै प्यारालाइसिस हुन् कि उनीहरूले बहाना गरेका हुन्, हामीले अनुसन्धान गरिराखेका छौं,’ एआईजी पालले लोकान्तरसँग भने, ‘प्रहरीसँग बच्नका लागि नाटक गरेको हो कि भन्ने लागेको छ । हामीले राजदूतावासमार्फत बुझ्न खोजिरहेका छौं ।’

पक्राउ परेकी जानुकाका २ छोराछोरी नेपालमै छन् भने परिवारका अन्य सदस्य अमेरिकामा बस्दै आएका छन् । उनका श्रीमान् पनि अमेरिका बस्दै आएको प्रहरीले जनाएको छ । 
 
 

salt training

कमेन्ट गर्नुहोस्