
आज मंगलवार देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने भएको छ ।
जल तथा मौसम विज्ञान विभागले चेतावनी तथा परामर्श जारी गर्दै पहाडी भूभागका १ वा २ स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।
हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा छ । पहाडी भूभागमा अपराह्न आंशिकदेखि सामान्य बदली भई केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको बताइएको छ ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार मंगलवार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १० दशमलव ५ डिग्री र अधिकतम तापक्रम २६ दशमलव ७ डिग्री सेल्सियस छ ।
मंगलवार सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम ३ दशमलव ० र सबैभन्दा धेरै भैरहवाको अधिकतम तापक्रम ३३ दशमलव २ डिग्री सेल्सियस छ ।