
पुनःस्थापित प्रतिनिधि सभाको तेस्रो बैठक पनि कर्मकाण्डमै सीमित हुने भएको छ । मंगलवारका लागि बोलाइएको बैठकलाई औपचारिकता दिन दुईवटा कार्यसूची तय भएका छन् ।
सभामुख अग्नि सापकोटाले बैठकको अध्यक्षता गर्ने सदस्यको मनोनयन गर्ने तथा संविधान सभाका पूर्व सदस्य दिनेशचन्द्र यादवको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची छ ।
अधिवेशन शुरू भएको अवसरमा संसदीय दलका नेताले मन्तव्य राखेर मात्र अन्य सांसदहरूलाई बोल्न दिने भन्दै मंगलवारका लागि शून्य र विशेष समयको व्यवस्था गरिएको छैन ।
सोमवार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा माओवादी केन्द्र र जसपाका प्रतिनिधिले बोल्नका लागि समय मिलाउन माग गरेका थिए ।
संसदीय दलको नेताको हैसियतमा बोल्दा नेकपा एमालेका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीले बोल्नुपर्ने भएकाले मंगलवारको बैठकमा बोल्ने कार्यक्रम नराखिएको हो ।
८ महिनासम्म सांसदहरूले जनताका समस्या राख्न नपाएको भन्दै उनीहरूले संसद्मा बोल्न पाउने व्यवस्था गर्न सभामुखको ध्यानाकर्षण गराएका थिए ।
नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराई र पूर्व प्रमुख सचेतक खगराज अधिकारीले प्रधानमन्त्रीको समय मिलाउनु पर्ने बताएपछि नेताहरूले बोल्ने कार्यक्रम बन्न नसकेको हो ।
पुनःस्थापित प्रतिनिधि सभाको पहिलो बैठकमा संवैधानिक निकायसम्बन्धी अध्यादेश पेश गरिएको थियो ।
दोस्रो बैठकमा प्रतिनिधि सभाका दुई र १२ पूर्व सांसदको निधनमा शोक प्रस्ताव पारित गरेर बैठक टुंगिएको थियो ।
सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनलाई असंवैधानिक भन्ने फैसला गरेपछि फागुन २३ गते अधिवेशन आरम्भ भएको थियो ।
दोस्रो बैठक २६ गते बसेर आजसम्मका लागि स्थगित गरिएको थियो ।
शोक प्रस्ताव पारित गरेर बैठक शुक्रवारसम्मका लागि सार्ने तयारी भएको सचिवालय स्रोतले बतायो ।