१० साउन २०८३, आइतबार

माओवादी संसदीय दलको नेतामा प्रचण्ड कायम, ओलीलाई प्रधानमन्त्रीबाट राजीनामा दिन आग्रह

माओवादी संसदीय दलको नेतामा प्रचण्ड कायम, ओलीलाई प्रधानमन्त्रीबाट राजीनामा दिन आग्रह

नेकपा (माओवादी केन्द्र)को संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले निरन्तरता पाएका छन् ।

सर्वोच्च अदालतले नेकपा माओवादी केन्द्र ब्युँताइदिएपछि बसेको दलको पहिलो बैठकले एकता अघिकै पदाधिकारीलाई निरन्तरता दिने निर्णय गरेको हो ।

दलको प्रमुख सचेतकमा पनि देव गुरुङले निरन्तरता पाएका छन् ।

'सर्वोच्च अदालतको फैसला बमोजिम नेकपा (माओवादी केन्द्र) संसदीय दलको पहिलो बैठक बस्यो । बैठकले अध्यक्ष कमरेड प्रचण्डलाई दलको नेता र देव गुरुङलाई प्रमुख सचेतकमा कायम राख्ने निर्णय गरेको छ,' बैठकपछि नेता वर्षमान पुन अनन्तले जानकारी दिए ।

बैठकले राष्ट्रिय सभामा दलको नेताको प्रतिनिधिका रूपमा दिनानाथ शर्मालाई नै निरन्तरता दिने निर्णय गरेको पनि बताए ।

बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नैतिकताका आधारमा राजीनामा दिन पनि आग्रह गरेको छ ।

'प्रतिनिधि सभा विघटनको निर्णय गर्ने केपी शर्मा ओलीज्यूको कदम सर्वोच्च अदालतले असंवैधानिक ठहर गरिसकेको अवस्थामा उहाँले राजीनामा दिनुपर्छ भन्ने दलको निष्कर्ष रह्यो,' अनन्तले भने ।

उनले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भने नभएको बताए । आफूहरू हतारमा समर्थन फिर्ता लिने मनस्थितिमा नरहेको अनन्तको भनाइ थियो ।

salt training

कमेन्ट गर्नुहोस्