गत शुक्रवार (मार्च १२) क्वाडको पहिलो शिखर सम्मेलनले विश्वका सञ्चारमाध्यममा हेडलाइन बनाएको भए पनि क्वाडका सदस्यहरू अस्थायी उद्देश्य र स्वार्थका साथ खुकुलो गरी जोडिएको स्पष्ट छ ।
भारतीय सञ्चारमाध्यमहरूले क्वाड र फ्रान्सको संयुक्त सैन्य अभ्यासलाई बढाइचढाइ प्रस्तुत गरिरहेको भए पनि यस तथ्यलाई परिवर्तन गर्न सकिँदैन । उक्त समूहको सैन्य सहकार्यलाई संसारसामु प्रदर्शन गर्नका लागि बंगालको खाडीमा अप्रिल ४ देखि ७ सम्म यो अभ्यास गरिँदैछ ।
अमेरिकाका रक्षामन्त्री लोयड अस्टिन शुक्रवारदेखि आइतवारसम्मका लागि भारतको भ्रमण गर्दैछन् । यस पृष्ठभूमिमा भारतीय सञ्चारमाध्यमहरू क्वाड र फ्रान्सको संयुक्त सैन्य अभ्यासको महत्त्वको हौवा पिटिरहेका छन् । यस्तो सैन्य सहकार्यमा भारतले प्रभुत्वशाली भूमिका निर्वाह गरिरहेको उनीहरू देखाउन खोज्दैछन् ।
अमेरिका, जापान, भारत र अस्ट्रेलियाबीचको संयुक्त सैन्य अभ्यासमा अमेरिका नै हावी रहन्छ किनकि ऊ नै सबभन्दा शक्तिशाली सैन्यशक्ति हो । हिन्द महासागरमा पनि भारतको भन्दा अमेरिकाको सैन्य उपस्थिति धेरै बलियो छ ।
तर नयाँ दिल्ली हिन्द महासागर भारतको अधीनमा हुनुपर्छ भन्ने विश्वास राख्छ । त्यसैले क्वाडको संरचनामा भारतको भूमिका महत्त्वपूर्ण छ भनी देखाउन चाहन्छ ।
अमेरिकाले हिन्द–प्रशान्त रणनीतिको प्रस्ताव राखेपछि भारतले आफ्नो रणनीतिक लक्ष्य हासिल गर्नका लागि अमेरिकी प्रभावबाट फाइदा उठाउने सपना देखिरहेको छ । वाशिङटन र नयाँ दिल्लीले सहकार्य गर्नैपर्ने आवश्यकता छ तर उनीहरू वास्तविक मित्र हैनन् । उनीहरू आआफ्नो स्वार्थ पूरा गर्नका लागि एकअर्कालाई उपयोग गरिरहेका छन् ।
क्वाडका सदस्य र फ्रान्सको संयुक्त जलसैन्य अभ्यास प्रचारबाजी मात्र हो ।
अहिले वाशिङटन नेटोका अन्य सदस्यलाई समेत हिन्द–प्रशान्त सैन्य संरचनामा तान्न चाहन्छ र यस क्षेत्रमा अमेरिकाको सैन्य कारवाहीमा सहकार्य गर्नका लागि उनीहरूलाई निम्त्याउन चाहन्छ । तर धेरैजसो युरोपेली मुलुकहरू यसमा उत्साहित छैनन् ।
अमेरिकाले नेटोमा प्रभुत्वशाली भूमिका खेल्ने भएकाले फ्रान्सले सहकार्य गरेको जस्तो देखाउने बाध्यता छ । तर फ्रान्सले पश्चिमी प्रशान्त क्षेत्रमा अन्य प्रमुख सैन्यशक्तिलाई सोझै तारो बनाएर कुनै पनि शत्रुतापूर्ण गतिविधि गर्ने छैन ।
फ्रान्सलाई यस क्षेत्रमा दीर्घकालीन रूपमा सैन्य उपस्थिति कायम राख्न असम्भव छ । त्यसैले क्वाड र फ्रान्सको संयुक्त सैन्य अभ्यासमा फ्रान्सको उपस्थिति अमेरिकालाई खुशी बनाउनका लागि मात्र हो ।
केही भारतीय सञ्चारमाध्यमले पश्चिमी मुलुकहरू ‘आक्रामक’ चीनको सामना गर्नका लागि क्वाडसँग सहकार्य गर्न उत्सुक रहेको दाबी गरेका छन् । तर ती देशले भारतको हतियार बजारमा बढी जोड दिन सक्छन् किनकि भारतले युद्धका उपकरण र हतियार आफैं उत्पादन गर्न सक्दैन र अन्य देशबाट आयात गर्नुपर्ने बाध्यता छ । त्यसैले केही भारतीय सञ्चारमाध्यमका समाचार र तर्कहरू घमण्डी र अतिआत्मविश्वासी छन् ।
धेरै भारतीय सञ्चारमाध्यमले चीनलाई ‘जोखिम’ का रूपमा प्रस्तुत गर्ने गरेका छन् । यसले वास्तवमा युरोपेली मुलुक र भारतबीचको रक्षा सहकार्य अघि बढाउन असम्भव बनाएको छ ।
अहिले हिन्द महासागरमा चीनको सैन्य उपस्थिति शान्तिपूर्ण उद्देश्यका लागि मात्र रहेको छ जसमा समुद्रीडाँका विरुद्धको लडाइँ र जहाजहरूलाई सुरक्षा प्रदान गर्ने काम पर्छन् । यी गतिविधिले भारतलाई तारो बनाउँदैनन् वा यस क्षेत्रका अन्य कुनै पनि मुलुकलाई जलक्षेत्रीय जोखिममा पार्दैनन् । उल्टो, हिन्द महासागरमा भारत नै सधैं आक्रामक छ ।
भारतको महाशक्ति बन्ने महत्त्वाकांक्षा बढ्दो छ । ऊ हिन्द महासागरमा प्रभुत्वशाली प्रणाली विकसित गर्न चाहन्छ । तर अमेरिका हिन्द महासागरमा आफ्नो प्रभुत्व कायम राख्न चाहन्छ । यसको परिणामस्वरूप यी दुई देशबीच चीनलाई तारो बनाउने विषयमा कुनै किसिमको सैन्य सहकार्य भए पनि हिन्द महासागर क्षेत्रमा नयाँ दिल्ली र वाशिङटनबीचको मतभिन्नता कायम रहनेछ । भारतको सैन्य शक्ति बढ्दै जाँदा नयाँ दिल्लीले यस क्षेत्रमा अमेरिकाले ढिलोचाँडो चुनौती दिनेछ ।
क्वाडको सुरक्षा आधारित संरचना बाहिर देखिएजस्तो ठोस छैन भन्ने यसबाट झल्किन्छ । हिन्द महासागरमा अमेरिका र भारतको सैन्य उपस्थितिमा ठूलो खाडल विद्यमान छ । तर भारतले त्यहाँ थप बढी विमानवाहक युद्धपोत, विकसित आणविक पनडुब्बी तथा लडाकू विमान तैनाथ गरेमा उक्त जलक्षेत्रमा अन्तिम वाक्य कसको हुन्छ भन्ने विषयमा भारतले पक्कै सोचविचार गर्नेछ ।
तर अमेरिकाले अन्य कुनै पनि मुलुकलाई हिन्द महासागरको रणनीतिक संरचनामा प्रभुत्व जमाउन दिने छैन । त्यतिखेरसम्म वाशिङटन र नयाँ दिल्ली एकअर्काविरुद्ध खनिनेछन् । आधारभूत रूपमा भन्नुपर्दा क्वाड आफ्ना सदस्यहरूको अस्थायी स्वार्थका लागि गठन गरिएको खुकुलो समूह हो ।
क्वाडका सैन्य गतिविधिहरू चीनप्रति लक्षित छन् । यस्तोमा चीनले आफ्नो सैन्य क्षमता बढाउनुपर्नेछ र विस्तृत जलक्षेत्रीय युद्ध क्षमतालाई थप मजबूत बनाउनुपर्नेछ । थप बलियो चिनियाँ जलसेनाले विश्व शान्ति र स्थिरताको सुरक्षा गर्नेछ भनी संसारसामु प्रमाणित गर्ने अवसर यही हो ।
ग्लोबल टाइम्समा प्रकाशित वे दोङ्सुको विश्लेषण