
महोत्तरी जिल्लाको जलेश्वर नगरपालिकाले फोहर नउठाएको स्थानीयले गुनासो गरेका छन् ।
फोहरको समेत कर उठाउने नगरपालिकाले फोहर उठाउन छाडेपछि बजार क्षेत्र दिनप्रतिदिन दुर्गन्धित हुँदै गएको छ ।
नगरपालिकाले सफाइमा चासो नदेखाएको राजनीतिकर्मी सुरेश साह सोनारले बताए ।
उनले नगरपालिकाले सरसफाइकै नाममा बर्सेनि लाखांै रकम छुट्याउने र जनताबाट समेत लाखौं रकम कर लिएर पनि नगरको उचित सरसफाइ नगरेरकोे आरोप लगाए ।
तराई–मधेशकै सबभन्दा पुरानो सदरमुकाममध्येका एक रहेको जलेश्वर अझै पनि चौतर्फी समुचित विकासको पर्खाइमा रहेको नागरिक समाजका अगुवा विजयकुमार गुप्ताको भनाइ छ । उनका अनुसार जलेश्वरकै विकासको नाममा बर्सेनि करोडौं रकम विनियोजन हुँदै आए पनि यहाँ विकासको अनुभूति हुनसकेको छैन ।
जिल्लामा १५ स्थानीय तह कायम भए पनि जिल्लास्तरीय प्रमुख सरकारी कार्यालय सदरमुकाममै छन् । ती सरकारी कार्यालयकै आसपासमा फोहरको डंगुर देखिएको स्थानीय लक्ष्मीकुमार साहले बताए ।
उनले जलेश्वरबासी २४ सै घण्टा फोहरमा बस्न बाध्य भएको र नाकमुख थुनेर हिँड्नु परेको गुनासो गरे ।
जिल्ला अदालत, कारागार, जिल्ला प्रहरी कार्यालय, सरकारी वकिल कार्यालय, हुलाक, जिल्ला प्रशासन, जिल्ला समन्वय लगायतका सरकारी कार्यालयका आसपासमै फोहरको डंगुर छ ।
विक्रम संवत् २०२९ सालमा नै स्थापना भएको नगरपालिकाले हालसम्म नगरको फोहरसमेत उचित व्यवस्थापन गर्न सकेको छैन । अन्य विकासको गति त झनै पछाडि रहेको स्थानीयको आरोप छ ।
नगरपालिकालाई पटक–पटक फोहर हटाउन आग्रह गर्दै आउँदा पनि सुनुवाइ नभएको स्थानीयको गुनासो छ ।
बजार क्षेत्रका ढल बजारबासीको फोहर फाल्ने डम्पिङ साइडजस्तै बनेका छ । ढलमा खानेपानीका बोतल, प्लास्टिक लगायतका फोहरका डंगुरले ढल पूर्णरूपमा बन्द भएका छन् । नगरपालिकाले दैनिक फोहर संकलन गरेर बजारलाई सफा बनाउने काम गर्दै आएको २ नम्बर वडाका वडाध्यक्ष वरुण दाहालले बताए ।