नेपाल कम्युनिस्ट पार्टी (एमाले) माधव समूहको राष्ट्रिय भेलामा उपस्थित नेताहरूले अध्यक्ष केपी शर्मा ओलीले कार्यशैली सुधार गरी पार्टीलाई एकताबद्ध बनाउनुपर्नेमा जोड दिएका छन् ।
नेकपा (एमाले) माधव समूहले ललितपुरको सानेपामा राष्ट्रिय भेला गरिरहेको छ । राष्ट्रिय भेलामा देशभरबाट नेता, कार्यकर्ताको उपस्थिति रहेको छ ।
भेलामा उपस्थित नेताहरूले अध्यक्ष केपी शर्मा ओलीले गुटगत मानसिकता त्यागेर पार्टीलाई एकताबद्ध बनाउनुपर्नेमा जोड दिएका छन् ।
नेकपा(एमाले)का नेता भीम आचार्यले पार्टी संस्थापन पक्षले गरेको गुटबन्दी र विभाजनकारी गतिविधिको विरोधमा पार्टीलाई मजबुत बनाउने उद्देश्यका साथ राष्ट्रिय भेला गरिएको बताए
भेलाले कम्युनिस्ट आन्दोलन कमजोर हुन नदिन अध्यक्ष ओलीलगायत आमनेता, कार्यकर्तालाई आह्वान गर्ने उनको भनाइ छ ।
वामपन्थी आन्दोलनलाई एकीकृत गर्ने कुरामा आफूहरूको जोड रहेको पनि उनले बताए ।
अर्का नेता झपट रावलले पार्टी नेतृत्वले स्वेच्छाचारी गतिविधि सच्याउनुपर्ने बताए ।
नेतृत्वले अझै अरू गल्ती गर्ने सम्भावना भएकाले दबाबका लागि भेला राखिएको उनको भनाइ छ ।
नेता ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीले चैत्र ७ गते आयोजना गरेको केन्द्रीय कमिटी बैठक स्थगित गरेर आफूहरू सहितको अर्को बैठक बोलाउनुपर्नेमा जोड दिए ।
नेतृ समिना हुसेनले अध्यक्ष तथा संसदीय दलका नेता ओलीले गलत नियतका साथ बिहीबारको संसदीय दलको बैठक राखेको बताइन् ।
एमालेलाई एकताबद्ध बनाउन ओलीको भूमिका हुनुपर्ने उनको भनाइ छ ।
नेता मोहनचन्द्र अधिकारीले केपी शर्मा ओलीले वर्गीय दृष्टिकोण छाडेको आरोप लगाए ।
ओली गुटपरस्त मान्छे भएको र एकलौटी निर्णय गर्ने गरेको उनको भनाइ छ ।
नेता अधिकारीले गुटबन्दी त्यागेर एकताको पहल गरे आफुहरू पनि गल्ती सच्याउन तयार रहेको बताए ।