१३ असार २०८३, शनिबार

प्रधानमन्त्रीका लागि दौरासुरुवालमा आइरन गरिहाल्ने बेला भएको छैन : विश्वप्रकाश शर्मा

प्रधानमन्त्रीका लागि दौरासुरुवालमा आइरन गरिहाल्ने बेला भएको छैन : विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपाली कांग्रेसले सरकारको नेतृत्व लिन राजनीतिक वातावरण नबनेको प्रतिक्रिया दिएका छन् ।

वर्तमान राजनीतिक परिस्थितिमा प्रधानमन्त्रीको पदको लालसा पनि पाल्ने र सरकारको नेतृत्वका लागि अग्रसर पनि नहुने भन्ने आरोप लागिरहेका बेला कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले तात्कालीन अवस्थामा सरकारको नेतृत्व लिन अग्रसर हुने किसिमको राजनीतिक वातावरण मिलिनसकेको प्रतिक्रिया दिए ।

उनले सभापति देउवालाई प्रधानमन्त्री पद एकदमै चाहिएको भन्ने कुरामा सत्यता नभएको स्पष्ट पारे । यद्यपि परिस्थिति बनेको अवस्थामा प्रधानमन्त्रीको पदीय जिम्मेवारी लिनबाट पनि नभाग्ने मनस्थितिमा सभापति रहेको उनले बताए ।

वर्तमान राजनीतिक अवस्थामा सरकारको नेतृत्वका सम्बन्धमा कांग्रेस किन स्पष्ट हुन नसकेको भन्ने न्युज एजेन्सी नेपालको प्रश्नमा उनले आफैंसँग भएको सांसद संख्या र अन्य दलहरूभित्र भएको अन्तर कलह र त्यसको परिणामको स्पष्ट तस्वीर बाहिर आइनसकेकाले पार्टीले पनि धारणा तय नगरेको स्पष्ट पारे ।

बिहीवार सानेपास्थित पार्टी कार्यालयमा एजेन्सीका प्रतिनिधिसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले सरकार गठनका लागि आवश्यक गणितको विश्लेषणपछि पार्टी निर्णयमा पुग्ने बताए ।

‘जसलाई सत्ता चलाउन म्यान्डेट दिएको हो त्यो म्यान्डेट खण्डित भइसकेको अवस्था छ । सत्ता चलाउन नेपाली जनताले एमाले र माओवादीको गठबन्धनलाई दिएको हो । अहिले त्यो गठबन्धन पनि भत्कियो र जनताले दिएको त्यो म्यान्डेट पनि खण्डित भइसक्यो । अहिले उहाँहरूले हामीलाई नै दिएको भनेर भनिरहनुपर्ने, अडिरहनुपर्ने अवस्था विल्कुलै छैन । त्यसैले नेपाली कांग्रेस पार्टीलाई पहिले प्रतिपक्षी बसेको थियो, उनले भने, ‘अब सत्तामा जानै हुन्न भनेर भनिरहेको अवस्था हो भनेर हामी पनि मान्दैनौं । तर अब गणितीय रूपमा नेपाली कांग्रेस पार्टीले जबसम्म परिस्थिति सिंगोसिंगै दलहरू रहेर सुनिश्चित ढंगले नेपाली कांग्रेस पार्टीलाई नै प्रस्तावित गरेको अवस्था नबनिकन नेपाली कांग्रेस पार्टी प्रधानमन्त्री पदका लागि दौरासुरुवालमा चाहिँ आइरन गरिहाल्ने बेला भएको छ भन्ने हामी मान्दैनौं । ”

उनले कांग्रेसले दबाबको आधारमा हतारमा निर्णय नगर्ने पनि स्पष्ट पारे । उनले नेकपा एमाले, नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र, जनता समाजवादीभित्र पनि अन्तर्संघर्ष चलिरहेको र उनीहरूले पनि आ–आफ्नो राजनीतिक अडान सार्वजनिक नगर्दै कांग्रेस निर्णयमा पुग्नु गलत हुने टिप्पणी गरे ।

salt training

कमेन्ट गर्नुहोस्