३१ जेठ २०८३, आइतबार

प्रधानमन्त्री ओलीविरुद्ध लड्दा एमाले नेताहरू पद छाड्न पनि तयार

प्रधानमन्त्री ओलीविरुद्ध लड्दा एमाले नेताहरू पद छाड्न पनि तयार

नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षको कार्यकर्ता भेलामा समूहगत छलफलको निष्कर्ष सुनाइएको छ ।

बुधवार माधवकुमार नेपालले पेश गरेको राजनीतिक प्रस्तावमाथि भएको समूहगत छलफलको निष्कर्ष बिहीवार सुनाइएको हो ।

नेता नेपालको प्रस्तावमाथि छलफल गर्न ७ प्रदेश, पेशागत संघ लगायत १० वटा समूह बनाइएको थियो । समूहगत निष्कर्ष राख्ने क्रममा नेपाल पक्षीय नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको कामका कारण जनतामा पार्टीको साख गिरेको बताएका हुन् । 

बागमती प्रदेशको तर्फबाट सुझाव राखेका लक्ष्मण लम्सालले प्रतिनिधिसभा विघटन गर्ने ओलीको कदमले जनतामा पार्टीको साख गिरेको दाबी गरे । उनले ओलीले गरेका जनविरोधी कदमबारे श्वेतपत्र जारी गर्नुपर्ने धारणा राखेका थिए ।

सुदूरपश्चिम प्रदेशको तर्फबाट सुझाव राख्दै भानुभक्त जैशीले ओलीको गलत काम र अवसरवादको भण्डाफोर गर्दै अगाडि बढ्नुपर्ने बताए । उनले फागुन २८ गतेको निर्णयको अवज्ञा गर्नुपर्ने धारणा राखे ।

‘केपी ओलीको पार्टी, देश जनता विरोधी कदमविरुद्ध हामी आफ्नो पद छाड्न पनि तयार रहनुपर्छ,’ जैशीले भने । जैशीले आफूहरूको पक्षमा ६० प्रतिशत नेता रहेको दाबी गरे ।

भेलामा सहभागी केन्द्रीय सदस्य चूडामणि जंगलीले दिएको जानकारी अनुसार कर्णाली प्रदेशको तर्फबाट धारणा राखेका निरज आचार्यले कर्णालीका १० मध्ये ६ जिल्लामा आफ्नो पक्षका अध्यक्ष रहेको बताएका थिए । उनले प्रधानमन्त्रीले पार्टी विधान मिचेर गरेका कामलाई तल्लो तहसम्म छलफलमा लैजानुपर्ने बताए ।

आचार्यले अब पुनर्गठनसहित वामपन्थी एकतामा जोड दिनुपर्ने बताएका थिए । कार्यकर्ता भेला बिहीवारै समापन भएको छ । 

salt training

कमेन्ट गर्नुहोस्