
नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले कम्युनिस्टहरूले धरापमा पारेको गणतन्त्र र संविधान रक्षाको जिम्मा कांग्रेसको काँधमा आएको बताएकी छन् ।
मुलुकले भोगिरहेको राजनीतिक जटिलताको निकास नेपाली कांग्रेसले नै खोज्नुपर्ने उनले बताइन् ।
कांग्रेसका पूर्व सभापति तथा पूर्व प्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाको ११ औं स्मृति दिवसमा बिहीवार बुटवलमा आयोजित विचार गोष्ठीमा बोल्दै कोइरालाले कांग्रेस कमजोर हुँदा देश कमजोर भएको र राजनीतिक संकट निम्तिएको भन्दै उनले सहमति सहकार्य र एकताबाटै मुलुकलाइ सही दिशा दिन कांग्रेसले नेतृत्वदायी भुमिका खेल्नुपर्ने बताइन् ।
कम्युनिस्ट पार्टीहरूमा सहमति, सहकार्य र एकताबाट मुलुकलाई अगाडि बढाउने एजेण्डा र नेता नै नभएको भन्दै उनले कम्युनिस्टहरूको सर्वसत्तावाद र अधिनायकवादविरुद्ध कांग्रेसभित्र पनि सहमति र एकता आवश्यक रहेको उनले बताइन् ।
मुलुकलाई सही दिशा दिन अन्तर्राष्ट्रिय शक्तिहरूको पछि नलागी उनीहरूलाई आफ्नो बाटोमा हिँडाउन राजनीतिक दलहरू सक्षम हुनुपर्ने नेता कोइरालाले बताइन् ।
‘स्व. गिरिजाप्रसाद कोइरालालाई पनि विदेशी शक्तिहरूले सुझाव दिन खोज्थे तर उहाँले हामीले लिएका नीति यो अर्थमा मुलुकको हितमा छन् भनेर विदेशीलाई पनि कन्भिन्स गर्नुहुन्थ्यो जसका कारण बाह्य शक्तिले हस्तक्षेपकारी भूमिका खेल्न सक्दैनथे,’ पूर्व परराष्ट्रमन्त्री समेत रहेकी नेता कोइरालाले भनिन् ।
स्व. गिरिजाप्रसाद कोइरालाले आजीवन प्रजातन्त्र, शान्ति र विकासका लागि लडेको स्मरण गर्दै उनले मुलुकको हितका लागि गिरिजाबाबु जस्तै निडर र दूरदृष्टि राखेर अगाडि बढ्न नेतृत्वलाई आग्रह गरिन् ।
व्यक्तिवादी चरित्र हाबी हुँदा नेपाली कांग्रेस कमजोर बनेको भन्दै उनले व्यक्तिवादी चरित्र छोडेर पार्टीलाई जीतको दिशामा लैजान स्थानीय नेता कार्यकर्तालाई आग्रह गरिन् ।