
नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले नेपाली जनताको हकहित र देश विकास तथा राम्रो काम गर्नको लागि कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्ने आवश्यक रहेको बताएका छन्।
सप्तरीको राजविराजमा आज नेपाल शिक्षक सङ्घद्वारा आयोजित कार्यक्रममा उनले कुनै सम्झौता गरेर पार्टी सरकारमा नजाने बताउँदै वर्तमान सरकारको विकल्प खोज्नुपर्ने बताए ।
आफ्नो हात खुट्टा बाँधेर, चल्नै नसक्ने बनेर सरकारको नेतृत्व लिन नसकिने बताउँदै यस्तो सरकार अप्ठ्यारोमा पर्न सक्ने सहमहामन्त्री महतको भनाइ थियो । सहज रुपमा कांग्रेसको नेतृत्वमा सरकार बन्नु आवश्यक रहेको भन्दै वैकल्पिक सरकार निर्माण गरौँ भनेर माओवादी र मधेश केन्द्रित दल आउँछन् भने नेतृत्व लिन कांग्रेस तयार रहेको उनले उल्लेख गरे ।