०३ असार २०८३, बुधबार

कालीकोटमा यतिसम्म भयो बजेट दुरुपयोग, सडक खनियो तर खच्चडपनि हिँड्न सक्ने बाटो भएन

चैत ७, २०७७
कालीकोटमा यतिसम्म भयो बजेट दुरुपयोग, सडक खनियो तर खच्चडपनि हिँड्न सक्ने बाटो भएन

कालीकोटको महाबु गाउँपालिकाले कर्णाली प्रदेशको समपूरक बजेटलाई सही ठाउँमा लगानी नगर्दा रकमको दुरुपयोग भएको भन्दै अहिले यसबारे निकै आलोचना भइरहेको छ ।
शेरावाडादेखि सल्लीको उकालोमा प्रदेश सरकारको समपूरक बजेट खर्च गरी खनेको सडकमा खच्चड पनि हिँंड्न नसक्ने भएपछि बजेटको दुरुपयोग भएको आवाज उठेको छ । महाबै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशमान सिंहले प्रदेश सरकार र गाउँपालिकाको संयुक्त साझेदारीमा एक करोड २० लाख रुपियाँमा उक्त ठेक्का भएको जानकारी दिए । 

निर्माण कम्पनीले करसहितको ३८ लाख रुपियाँमा सडक निर्माणको जिम्मा लिई हचुवाको भरमा उक्त सडक निर्माण गरेको उनले बताए । आफू गाउँपालिकामा आउनुअगाडि नै सबै प्रक्रिया भइसकेको प्रमुख प्रशासकीय अधिकृत सिंहको भनाइ छ । प्राविधिक प्रतिवेदन पूरा गरी ठेक्का भएर सम्झौता भएपछि आफू प्रमुख प्रशासकीय अधिकृतका रूपमा महाबु आएपछि मात्र जानकारी पाएको उनले बताए ।  अहिले सडक निमार्ण अलपत्र परेको पनि उनले स्वीकार गरे । बजेट पूरै भुक्तानी नदिएको भन्दै उनले एक करोड २० लाख रुपियाँको लागत ‘स्टेमेट’ रहेको सो सडक ३८ लाख रुपियाँमा सम्पन्न गर्छु भन्नु पत्याउने कुरा नभएको उनले उल्लेख गरे ।

  लेखापाल मलिम रावतले आर्थिक वर्ष २०७५÷७६ मा ‘ अनलाइन’ ठेक्का भएका कारण प्रेम निर्माण सेवाले ६८ प्रतिशत घटेर ठेक्का सम्झौता गरेको र हालसम्म २४ लाख रुपियाँभन्दा बढी भुक्तानी हुन बाँकी रहेको बताए । एक वर्षमा सक्ने सम्झौता भए पनि चट्टान भएका कारण निर्माण कम्पनीले काम पूरा गर्न नसकेको उनले जानकारी दिए ।  प्रदेश सरकारको ६० लाख रुपियाँ र गाउँपालिकाको ६० लाख रुपियाँ गरी जम्मा एक करोड २० लाख रुपियाँमा उक्त सडकको ठेक्का भएको थियो तर ६८ प्रतिशत घटेर ठेक्का हालेका कारण सडक पनि नबनेको र बजेट पनि दुरूपयोग भएको स्थानीय बासिन्दाको भनाइ छ । गोरखापत्रमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्