
चीन र रुससँग तनाव बढ्दै गएपछि अमेरिकाले प्रशान्त महासागर र दक्षिण चीन सागरमा आक्रमणकारी तथा प्रतिरक्षात्मक दुवैथरी क्षेप्यास्त्र तैनाथ गर्ने निर्णय लिएको छ ।
अमेरिकी जलसेनाको हिन्द–प्रशान्त कमान्डका प्रमुख एडमिरल फिलिप एस डेभिडसनले चीन र रुसबाट खतरा भएको भन्दै चेतावनी दिएपछि अमेरिकी संसद्ले यसलाई स्वीकृति दिन लागेको हो ।
रक्षा मन्त्रालय पेन्टागनले इन्डो–प्यासिफिक डिटरेन्स याक्ट अन्तर्गत एकीकृत वाय् तथा क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली स्थापनाका लागि लगभग ९ करोड ८० लाख डलर बजेटलाई स्वीकृति दिन अनुरोध गरेको छ । यस डिफेन्स सिस्टममार्फत अमेरिकाले चीन र रुसको गतिविधिमा नजर राख्न सक्छ ।
अमेरिकालाई प्रशान्त महासागरमा रहेको गुआमस्थित जलुेना अड्डाको चिन्ताले सताउने गर्छ । पोहोर साल मात्र चीनले गुआममाथि आक्रमण गरेको एक नक्कली भिडियो सार्वजनिक गरेको थियो ।
उता चीनले अमेरिकालाई पछि पार्दै संसारको सबभन्दा विशाल जलसेना बनाएको छ ।
गुआममा एकीकृत प्रतिरक्षा प्रणाली स्थापित गर्ने अमेरिकाको प्रस्ताव हो । यस सिस्टमले शत्रुहरूको क्षेप्यास्त्रलाई बाटैमा ट्य्राक गर्नेछ अनि एन्टी मिसाइल सिस्टमले हावामा नै त्यसलाई मार हानेर खसाइदिनेछ ।
यसको रेन्ज लगभग ५०० किलोमिटर हुने बताइएको छ ।
अमेरिकाका लागि वैध र सुरक्षित रक्षा क्षमताको अभावमा प्रशान्त क्षेत्रमा अमेरिकी हितमा हानि पुग्न सक्छ । हिन्द प्रशान्त क्षेत्रको सैन्य सन्तुलन प्रतिकूल भएमा अमेरिकाले अतिरिक्त जोखिम उठाउनुपर्ने हुन सक्छ । यस्तो अवस्थामा अमेरिकाका शत्रुहरू एकतर्फी रूपमा यथास्थितिलाई परिवर्तन गर्ने प्रयास गर्न सक्छन् ।