
एक महिनाअघि आफ्नै घरबाट वेपत्ता भएका महोत्तरीका वृद्ध दम्पतीको अपहरण गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
जिल्लाको पिपरा गाउँपालिका–५, सहोडबाका मुसाफिर झा र उनकी पत्नी गीता देवी झा फागुन १० गते राति वेपत्ता भएका थिए । उनीहरुको अवस्था अझै अज्ञात छ ।
तर उनीहरुलाई अपहरण गरेको आरोपमा प्रहरीले चैत ५ गते सहोडबाका ५२ बर्षीय रामबाबु यादव, उनका जेठो छोरा २६ बर्षीय सुरेन्द्र यादव, कान्छो छोरा २४ बर्षीय राजेन्द्र यादव र पिपरा गाउँपालिका–६ बनौली चोक बस्ने भारतीय नागरिक ५० बर्षीय हरेन्द्र ठाकुरलाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार चार जनाले वृद्ध दम्पतिको अपहरण गरेको केही प्रमाण भेटिएको छ । पक्राउ परेकामध्ये रामबाबु यादवको घरमा भेटिएको रगत परीक्षण गर्दा मानव रगत नै भएको प्रमाणित भएको छ । पक्राउ परेकाहरुको पोलिग्राफ टेष्टसमेत गरिएको छ र, उनीहरुले झुटो बोलेको पाइएको छ ।