०३ असार २०८३, बुधबार

कोरोनापछि लुम्बिनीमा पर्यटकको चहलपहल बढ्दै

चैत १०, २०७७
कोरोनापछि लुम्बिनीमा पर्यटकको चहलपहल बढ्दै

विश्व महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण प्रभावित भएको लुम्बिनी घुम्न आउने पर्यटकको संख्या केही हप्तायता दिनानुदिन वृद्धि हँुदै गएको छ । 

लुम्बिनी विकास कोषका सूचना अधिकृत राजन बस्नेतका अनुसार लुम्बिनी घुम्न आउने पर्यटकहरूको संख्या बढ्दै गएको छ ।

पछिल्लो तथ्यांकअनुसार लुम्बिनी घुम्नेमा आन्तरिक पर्यटकको संख्या नै अत्यधिक रहेको छ । कोषको तथ्यांकअनुसार बन्दाबन्दी खुलेपछि १ लाख ४१ हजार ५७९ नेपालीले लुम्बिनी भ्रमण गरेका छन् । 

५ हजार ७४८ भारतीय र १२० विदेशी नागरिकले बुद्ध जन्मस्थल लुम्बिनी भ्रमण गरेका छन् । 

कोषका सदस्य सचिव सानुराजा शाक्यले नेपालको विभिन्न ठाउँबाट भगवान बुद्धको जन्मस्थल लुम्बिनी घुम्न आउनेहरूको संख्या बढिरहेको बताए । कोरोनाका कारण मान्छेहरूमा सिर्जना भएको निराशा र चिन्ता हटाउन लुम्बिनीको भ्रमण फलदायी हुने पनि शाक्यले बताए ।

सामान्य अवस्थामा लुम्बिनी घुम्न आउने विदेशी पर्यटकको संख्या अत्यधिक रहने गरेकामा कोरोनाका कारण अधिकांश देशमा वैदेशिक हवाई उडान र सीमानाकामा सहज आवतजावत समेत नरहेको हँुदा यतिबेला विदेशी नागरिक लुम्बिनी आउन चाहेर पनि आउन नसकेको पर्यटन पुनरुत्थान समिति लुम्बिनी प्रदेशका संयोजक सागर अधिकारीले बताए ।

‘लुम्बिनीको पर्यटन पुनरुत्थानका लागि हामीले नेपाल पर्यटन बोर्ड, लुम्बिनी प्रदेश सरकार र पर्यटन सम्बद्ध विभिन्न निकायसँग मिलेर विभिन्न अभियान चलाइरहेका छौं । यसले लुम्बिनी घुम्न जान मान्छेहरूलाई उत्प्रेरित गर्नेछ,’ उनले भने ।

गत फागुन तेस्रो हप्ता लुम्बिनीको पर्यटन प्रवद्र्धनका लागि ब्रान्डिङ समेत गरिएको थियो । नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक डा. धनञ्जय रेग्मीको नेतृत्वमा पर्यटन क्षेत्रका विज्ञहरूको समूहले मायादेवी प्रसूति मार्गको स्थलगत अवलोकन समेत गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्