
प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टी (जसपा) नेपालका नेताहरू बीचको भेटवार्ता निष्कर्षविहीन भएको छ ।
जसपाले सरकारसँग राख्दै आएका मागबारे छलफल गर्न मंगलवार प्रधानमन्त्री ओली र जसपा नेताहरूबीच छलफल भएको हो ।
छलफलमा जसपाका अध्यक्ष महन्थ ठाकुर, नेता राजेन्द्र महतो, कार्यदलका सदस्य लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ल बालुवाटार पुगेका थिए ।
‘हाम्रो माग पूरा गर्नुस्, देखिने गरी गर्नुस् भनेर हामीले प्रधानमन्त्रीज्यूलाई भन्यौं,’ छलफलपछि नेता कर्णले लोकान्तरसँग भने, ‘जवाफमा उहाँले पनि देखिने गरी नै काम भइरहेको आश्वासन दिएका छन् ।’
अब अर्काे वार्ता कहिले हुन्छ त ? कर्णले भने, ‘जुन दिन प्रधानमन्त्रीज्यूको इच्छा हुन्छ, त्यही दिन बस्ने छौं ।’
मंगलवारको वार्तामा जसपाका मागबारे छिनोफानो हुने चर्चा थियो । तर कुनै सहमति जुट्न नसकेको नेताहरूले जनाएका छन् ।
जसपाले सांसद रेशम चौधरीको रिहाइ, लाल आयोगको प्रतिवेदन सार्वजनिक र संविधान संशोधन लगायत माग राख्दै आएको छ ।