
नेपाल प्रहरीले बैंकिङ कसूर मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले उच्च अदालत पाटनको २०७७ फागुन १७ गतेको फैसलाबाट ६ दिन कैद र १९ लाख ९० हजार रुपैयाँ जरिवना ठहर भएपछि फरार रहेका काठमाडौंको जोरपाटीका ४० वर्षीय बुद्धिबहादुर तामाङलाई मंगलवार पक्राउ गरेको हो ।
ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक गंगा पन्तले उच्च अदालत पाटनले बैंकिङ कसूर मुद्दामा जरिवाना गरेपछि फरार रहेका तामाङलाई जोरपाटीबाट पक्राउ गरिएको जानकारी दिए ।
पक्राउ तामाङले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नहुँदा नहुँदै झुक्यानमा पारेर बैकिङ कसूरजन्य अपराध गरेका थिए । फैसला कार्यान्वयनका लागि पक्राउ तामाङलाई काठमाडौं जिल्ला अदालत पेश गरेको प्रहरीले जनाएको छ ।
उच्च अदालतले बैंकिङ कसूर तथा सजाय ऐन २०६४ को दफा ३ (ग) बमोजिम सजाय गरेको थियो ।