
विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) ले वैदेशिक रोजगार बेहाल अवस्थामा पुगेको छ ।
गन्तव्य मुलुकमा कोरोनाको कहर समाप्त नहुँदा अधिकांश मुलुक मुलुकमा कामदार जान पाएका छैनन् ।
वैदेशिक रोजगार विभागका अनुसार दैनिक ५ सयदेखि ६ सयसम्म कामदार वैदेशिक रोजगारीमा गइरहेका छन् । कोभिडअघि दैनिक १ हजार ५ सयभन्दा बढी कामदार दैनिक वैदेशिक रोजगारीमा जाने गरेका थिए ।
वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजितकुमार श्रेष्ठले कोरोनाले वैदेशिक रोजगार प्रभावित भएको बताए । ‘गन्तव्य मुलुकमा कोरोनाको कारण कायमै रहेकाले सहज हुन अझै समय लाग्ने देखिन्छ,’ उनले भने ।
कतिपय देशमा राजदूतावासले प्रमाणीकरणमा ढिलासुस्ती गरेका कारण कामदार रोजगारीमा जान पाएका छैनन् ।
कोभिडले कतार, साउदी अरब, दुबई, ओमन मलेसिया तथा युरेपियन मुलुक प्रभावित भएका छन् । जापान, इजरायल र दक्षिण कोरिया पनि प्रभावित भएका छन् ।
इजरायल पठाउने कार्यविधि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रायका लागि कानुन र अर्थ मन्त्रालयमा पठाएको छ ।
जापान पठाउने कार्यविधि पनि पूरा हुन नसक्दा रोजगार प्रभावित भएको छ । दक्षिण कोरियाले कामदार लिन नमान्दा प्रतीक्षामा बसेका कामदार हैरानी भएका छन् । महासंघका महासचिव श्रेष्ठका अनुसार साउदीमा दूतावासले मागपत्र प्रमाणीकरण गर्न ढिलाइ गरेका कारण कामदार प्रभावित भएका छन् ।
कतारमा अनिवार्य क्वारेन्टीन बस्नुपर्ने र त्यसको खर्च कामदार आफैंले तिर्नुपर्ने भएपछि कतार रोजगार प्रभावित भएको छ । क्वारेन्टीनका लागि मात्रै कतारमा कामदारले २१ सय रियाल तिर्नुपर्छ ।
शुरूदेखि नै मलेसिया बन्द छ । महासंघका अनुसार दुबई, कुवेत र बहराइन पूर्णरूपमा ठप्प छ । कुवेतमा अझै लकडाउन कायम छ ।
गन्तव्य मुलुकमा कोरोनाको जोखिम कायमै रहेकाले वैदेशिक रोजगार तंग्रिन सकेको छैन । त्यसो त गन्तव्य मुलुकबाट अझै डिमान्ड आउन नसक्दा रोजगार प्रभावित बनेको हो । नेपालमा कोरोनाको जोखिम कम भइसकेको छ । मौरीसस पनि कामदार जान पाएका छैनन् ।
विभागका अनुसार फागुन महिनामा १९ हजार ८०८, माघमा १७ हजार ८८७ जना, पुसमा १४ हजार ७५३, मंसिरमा १२ हजार ४३१, कात्तिकमा ७ हजार ७९७, असोजमा ८ हजार ९७, भदौमा १ हजार ५२५, साउनमा ३ हजार १५२ जना कामदार विदेश पुगेका छन् । अन्य देशको तुलनामा साउदीमा बढी कामदार पुगेका छन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीले वैदेशिक रोजगार सहज बनाउन सम्बन्धित देशसँग वार्ता र छलफल अघि बढाइएको बताए । ‘हाम्रो तर्फबाट गर्नुपर्ने तयारी गरिरहेका छौं,’ उनले भने । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।