०२ असार २०८३, मंगलबार

अब प्रभावमा आधारित मौसम पूर्वानुमान

चैत ११, २०७७
अब प्रभावमा आधारित मौसम पूर्वानुमान
प्रतिकात्मक तस्वीर

जल तथा मौसम विज्ञान विभागले आगामी ३ दिनको मौसम पूर्वानुमानको बुलेटिन जारी गर्ने गरेको छ ।

त्यसमा ‘नेपालमा फलानो/फलानो प्रदेशको उच्च पहाडी क्षेत्रमा मौसम यस्तो हुनेछ र हिमाली क्षेत्रमा यस्तो हुनेछ’ भन्ने उल्लेख हुन्छ ।

विभागको बुधवारको बुलेटिन हेर्ने हो भने ‘आगामी २४ घण्टामा देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भू–भागका १/२ स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ’ भनी सूचना जारी भएको छ ।

विभागका अनुसार हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत प्रभाव रहेको छ ।

माथि विभागले दिएको ३ दिनको मौसम पूर्वानुमान घटना हुनसक्नेछ भन्ने मात्र जानकारी प्राप्त छ । यस्तो सूचनाले मौसमको अवस्थाबारे त थाहा पाइयो तर कुन क्षेत्रमा के असर गर्दैछ भन्ने जानकारी पाउन सकिएको छैन ।

यो परम्परागत मौसम पूर्वानुमान प्रणाली विगतमा भन्दा केही प्रभावकारी भए पनि त्यसले असर न्यूनीकरणमा खासै काम गर्न सकेको देखिएको छैन । गत वर्षको विपद्लाई हेर्ने हो भने पनि त्यसले पुष्टि गर्छ ।

जल तथा मौसम विज्ञान विभागका उपमहानिर्देशक अर्चना श्रेष्ठ परम्परागतरूपमा मौसम पूर्वानुमान गर्दा जति क्षति कम गर्नुपर्ने हो त्यो हुन नसकेको स्वीकार्छन् ।

त्यसैले अब मुलुकमा घटना हुँदैछ मात्रै होइन, त्यसले कुन–कुन क्षेत्रमा कस्तो प्रभाव पार्न सक्छ ? कुन बस्तीलाई कस्तो असर पार्न सक्छ, त्यो बेलामा मानिसले के गर्न हुन्छ, के गर्न हुँदैन, कस/कसले सावधानी अपनाउने र त्यसका लागि कुन निकाय कसरी परिचालन गर्ने भन्नेसम्मको पूर्वानुमान दिने गरी ‘प्रभावमा आधारित मौसम पूर्वानुमान’को प्रयोग गर्न लागिएको छ । यही वर्षबाट नमूनाका रूपमा उक्त परियोजना सञ्चालन हुँदैछ ।

उपमहानिर्देशक श्रेष्ठ भन्छन्, ‘मौसमजन्य र जलजन्य प्रकोपबाट क्षति कम गर्न, मानिसको ज्यान जोगाउन, समाजलाई मौसमप्रति सजग गराउन र राम्रो जलवायुबाट कसरी फाइदा लिने भन्ने सोचअनुसार नै सँगै मिलेर जाने गरी उक्त कार्यक्रम ल्याइएको हो ।’

नेपालमा आगलागी, चट्याङ, सर्पदंश, जनावर आक्रमण, बाढी, पहिरो, भारी वर्षा, हावाहुरीलगायत विपद्जन्य घटनाले बर्सेनि जनधनको ठूलो क्षति हुने गरेकोे छ । यो वर्ष भेल पहिरोले मुलुकलाई नराम्ररी प्रभावित बनायो । पहिरोका ४९८ घटनामा ३०१ जनाले ज्यान गुमाए । बाढीले ४२ जनाको ज्यान लग्यो । बाढीबाट ३७ र पहिरोबाट ६४ जना अझै बेपत्ता छन् ।

मुलुकमा यो वर्ष अहिलेसम्म ३ हजार ६५९ विपद्जन्य घटनाबाट ५६८ जनाको मृत्यु भएको छ । कूल १०१ जना बेपत्ता छन् भने झण्डै २ अर्बको क्षति भएको छ । ती घटना हेर्दा विपद्का दृष्टिले नेपाल उच्च जोखिममा रहेको देखाउँछ ।

मुलुकमा अहिले पूर्व मनसुन भित्रिसकेको छ । मनसुन आउनुअघि नै आवश्यक तयारी गर्नका लागि यसपालिदेखि भने नमूना परियोजनाका रूपमा विभिन्न ९ जिल्लामा प्रभावमा आधारित मौसम पूर्वानुमान परियोजना सञ्चालन गर्न लागिएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल सबै निकाय मिलेर काम गर्न सकियो भने प्रभावमा आधारित मौसम पूर्वानुमानले धनजनको क्षति जोगाउन सकिने बताउँछन् । विगतका अनुभवबाट सिकेर कमजोरी हटाउँदै प्रभावकारी योजना अघि बढाउन कार्यक्रम सफल हुने विश्वास उनको छ । यसका लागि अन्तर्राष्ट्रिय विज्ञको समेत सहयोग लिन थालिएको छ । – नारायण ढुङ्गाना/रासस

salt training

कमेन्ट गर्नुहोस्