२६ जेठ २०८३, मंगलबार

डेढ लाखसम्ममा पाठा बिक्ने बाख्रा पाल्दा फाइदैफाइदा

चैत ११, २०७७
डेढ लाखसम्ममा पाठा बिक्ने बाख्रा पाल्दा फाइदैफाइदा
प्रतिकात्मक तस्वीर

पछिल्लो समय युवाहरू वैदेशिक रोजगारी त्यागेर स्वदेशमै उद्यमशीलतामा रमाउन थालेका छन् ।

झापाको मेचीनगर नगरपालिका–१० का ४१ वर्षीय विजय नेपाल त्यस्तै युवामध्येका एक हुन्, जसले खाडी मुलुक यूएईको दुबईमा ७ वर्ष बसेर फर्केपछि बाख्रापालन व्यवसाय गरिरहेका छन् ।

उनको ‘नेपाल कृषि फार्म’मा यतिबेला सय हाराहारीमा बोयर जातका बाख्रा हुर्किरहेका छन् । बाख्रापालनमा उनले १ करोड रुपैयाँ लगानी गरेमध्ये आधाचाहिँ वैदेशिक रोजगारीमा हुँदाको आर्जन नै हो । १० बिघा जमिन लिजमा लिएर २ वर्षदेखि सञ्चालित फार्ममा छिटो हुर्किने बोयर प्रजातिका बाख्राको पाठापाठी उत्पादन गरी बेचिँदै आएको छ ।

उनको फार्ममा हाल १९ माउ बोयर जातका बाख्रा, २० माउ सानन जातका, १६ वटा बोयर खसी र ४० बढी पाठापाठी छन् । एउटा बीउ बोका पनि पालिएको छ । अस्ट्रेलियाबाट किनेर ल्याइएको बोयर बोकाको दाम ५ लाख रुपैयाँ परेको छ ।

आफ्नै देशमा केही गर्छु भन्ने अठोटका साथ दुबईबाट घर फर्किएपछि उनले घरेलु कार्यालयमा फार्म दर्ता गरेर शुरूमा बंगुर र ब्रोइलर कुखुरा पालेका थिए ।

मेचीनगर–१० स्थित आफ्नै जग्गामा उनको बंगुर फार्म थियो । आम्दानी पनि राम्रै हुन थालेको थियो तर बस्ती बालिँक्दै गएपछि गाउँभित्र बंगुर फार्म सञ्चालन गर्न अप्ठ्यारो भयो । त्यसपछि बंगुर र कुखुरा फार्म बेचेको पूँजीसहित उनले मेचीनगर नगरपालिका–१४ मा १० वर्षका लागि जग्गा लिजमा लिएर बाख्रा फार्म सञ्चालन गर्न थाले । फार्ममा बाख्रालाई बस्न र घाँस खानका लागि आधुनिक खोर बनाइएको छ भने खोर बाहिर लहरे तरकारी खेती र बाख्राका लागि आवश्यक घाँसखेती गरिएको छ ।

यहाँ उत्पादित बोयरका पाठापाठी प्रतिकेजी २ हजार ५०० दरले जिउँदै बिक्री हुने गरेको छ । उनका अनुसार बोयर जातका बाख्रा अस्ट्रेलियन प्रजातिका भएको हुनाले यसका पाठापाठी किन्न किसान टाढादेखि आउने गरेका छन् । बोयर बाख्राको घाँटीमा खैरा रङको घेरो हुन्छ ।

बोयर बाख्रा २ वर्षमा ३ पटक ब्याउने र सानन वर्षमा २ पटक ब्याउने गरेको उनले जानकारी दिए । ३ महिनामा पाठा झण्डै ४० केजीको हुने र बेच्न योग्य हुने उनको भनाइ छ । दैनिक ती बाख्रालाई १८० लिटर पानी र ३० केजीको हाराहारीमा पौष्टिक आहार खुवाउने गरिएको छ । – चन्द्रकला भण्डारी/रासस

salt training

कमेन्ट गर्नुहोस्